• २० वैशाख २०८१, बिहिबार

बैङ्कमा खराब कर्जा बढेसँगै मुलुकको अर्थतन्त्रमा थप चुनौती थपियो : उपाध्यक्ष कोइराला

blog

काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्नुहुँदै नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, वैशाख ११ गते । नेपाल बैंकर्स सङ्घका उपाध्यक्ष तथा माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैङ्कमा खराब कर्जा बढेकाले मुलुकको अर्थतन्त्रमा समेत थप चुनौती थपिएको बताउनुभएको छ ।

गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष कोइरालाले अघिल्लो असार महिनामा १.२ प्रतिशत रहेको बैङ्कहरूको खराब कर्जा (एनपीए) अहिले बढेर ३.००८ प्रतिशतमा पुगेको बताउनुभयो ।

उहाँले मुलुकका पाँच वटा बैङ्कको मुनाफा घटेको तथा ३२ अर्ब बढीको कर्जा प्रवाह र २० अर्बको हाराहारीमा ब्याज उठ्न नसकेको देखिएकाले आगामी दिनमा देशको अर्थतन्त्र वा बैङ्किङ क्षेत्रले थप चुनौतीहरू भोग्नुपर्ने अवस्था देखिएको बताउनुभयो । उपाध्यक्ष कोइरालाले पछिल्लो समय बैङ्कहरूको निष्क्रिय कर्जाको ब्याजदर समेत बढ्दै गएको जानकारी दिनुभयो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत कोइरालाले भन्नुभयो,‘‘गएको असर महिनामा १.२ प्रतिशत बैङ्कहरूको खराब कर्जा (एनपीए) अहिले ३.००८ प्रतिशतमा पुगेको देखिन्छ । पाँच वटा बैङ्कको मुनाफा नै कम छ । ३२ अर्ब बढीको कर्जा प्रवाह गरेको देखिन्छ । २० अर्बको हाराहारीमा ब्याज उठेको देखिँदैन । यस्ता तथ्याङ्कहरूले आगामी दिनमा देशको अर्थतन्त्र वा बैङ्किङ क्षेत्रले थप चुनौतीहरू पार गर्नुपर्ने देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैङ्क तथा वित्तीय संस्थाहरूको करिब २५ देखि ३० प्रतिशत नाफा घट्ने देखिन्छ भने ८ देखि १० अर्बको हाराहारीमा कर कम हुने देखिन्छ ।’’

उहाँले बैङ्क तथा वित्तीय क्षेत्रविरुद्ध भइरहेको अराजक आन्दोलनले अझ चुनौती बढेको भन्दै सरकारले तत्काल बैकविरुद्धको अराजक आन्दोलन रोक्न माग गर्नुभयो । उहाँले चालु आर्थिक वर्षमा बैङ्क तथा वित्तीय संस्थाहरूको करिब २५ देखि ३० प्रतिशत नाफा घट्ने दाबी गर्नुभयो ।

उपाध्यक्ष कोइरालाले पछिल्लो समय बैङ्कहरूले धेरै नाफा कमाए भनेर चित्रण गरे जस्तो वास्तविकता नभएको स्पष्ट पार्नुभयो । उहाँले समग्र विश्व बैङ्किङ उद्योगको मुनाफा ८ प्रतिशत र ५० प्रतिशत बैङ्कहरूले लागत कस्टभन्दा पनि कम नाफा गरिरहेको अवस्था रहेको बताउनुभयो । उहाँले पछिल्लो आर्थिक वर्षमा नेपालका बैङ्कहरूले ११ प्रतिशत मुनाफा रहेको भन्दै अन्य उद्योगहरूको तुलनामा बैङ्किङ उद्योगको नाफा कम रहेको दाबी गर्नुभयो ।

‘‘पछिल्लो समय बैङ्कहरूले धेरै नाफा कमाए भनेर जसरी आम रूपमा चित्रण गरिएको छ । वास्तविकता त्यस्तो प्रकारको छैन । विश्व बैङ्किङ क्षेत्रलाई हेर्ने हो भने मुनाफा ८ प्रतिशतको हाराहारीमा हो । ५० प्रतिशत बैङ्कहरूले लागत कस्टभन्दा पनि कम नाफा गरिरहेका छन् । नेपालका बैङ्कहरूले पछिल्लो आर्थिक वर्षमा ११ प्रतिशत मुनाफा रहेको अवस्था थियो । अन्य उद्योगहरूको तुलनामा बैङ्किङ उद्योगको नाफा कम हो ।,’’ उपाध्यक्ष कोइरालाले भन्नुभयो, ‘‘पछिल्लो समय नेपालको कर्जा प्रवाह जिडिपीको भन्दा पनि बढी भएको कारण राष्ट्र बैङ्कले कर्जा नियन्त्रण गर्ने नीतिहरू लिएको देखिन्छ । अन्य सार्क देशको कर्जाको विस्तार हेर्दा नेपालमा पाँच वर्षमा कर्जा लगानीको विस्तार जिडिपी आकारभन्दा बढी भएको देखिन्छ ।’’

उपाध्यक्ष कोइरालाले पछिल्लो समय नेपालको कर्जा प्रवाह जीडिपी ग्रोथभन्दा बढी भएको कारण राष्ट्र बैङ्कले कर्जा नियन्त्रण गर्ने नीतिहरू लिएको बताउनुभयो । उहाँले भारतमा जिडिपी र कर्जा विस्तारको वृद्धि ५५ प्रतिशतको हाराहारीमा देखिँदा नेपालमा ९९ प्रतिशतको रेसियोमा रहेको जानकारी दिनुभयो ।

उपाध्यक्ष कोइरालाले अहिले बैङ्किङ उद्योगमा ५४.४७ खर्ब निक्षेप सङ्कलन र ४८.४४ खर्ब कर्जा प्रवाह भइरहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा २९८ अर्ब (५.४७ प्रतिशत) निक्षेप र १४७ अर्ब (३.३० प्रतिशत) ले कर्जा बढेको जानकारी दिनुभयो । उहाँले पछिल्लो चालु आर्थिक वर्षमा निक्षेप सङ्कलन ४१९ अर्ब (९ प्रतिशत) र कर्जामा ५३८ अर्ब (१४.५ प्रतिशत) रहेको बताउनुभयो ।

उपाध्यक्ष कोइरालाले भन्नुभयो, ‘‘भारतमा जिडिपी र कर्जा विस्तारको वृद्धि ५५ प्रतिशतको हाराहारीमा देखिँदा नेपालमा ९९ प्रतिशतको रेसियोमा देखिन्छ । त्यही कारण राष्ट्र बैङ्कले कर्जा नियन्त्रण गर्ने नीतिहरू लिएको हो । अहिले बैङ्किङ उद्योगमा ५४.४७ खर्ब निक्षेप सङ्कलन ४८.४४ खर्ब कर्जा प्रवाह भइरहेको छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा २९८ अर्ब (५.४७ प्रतिशत) निक्षेप बढेको छ भने १४७ अर्ब (३.३० प्रतिशत) बढेको देखिन्छ पछिल्लो चालु आर्थिक वर्षमा निक्षेप सङ्कलन ४१९ अर्ब (९ प्रतिशत) र कर्जामा ५३८ अर्ब (१४.५ प्रतिशत) रहेको थियो । बैङ्कको वित्तीय तथ्याङ्कमा धेरै बैङ्कहरूको निष्क्रिय कर्जाको ब्याजदर बढेको छ ।’’

उपाध्यक्ष कोइरालाले चालु आर्थिक वर्षमा बैङ्किङ क्षेत्रले तिर्ने ८ देखि १० अर्बको हाराहारीमा कर घट्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरूले आफ्नो व्यापार व्यवसाय गर्नभन्दा पनि बैङ्क विरुद्ध हुने क्रियाकलापले देशको अर्थतन्त्रको साथै वित्तीय क्षेत्रमा विभिन्न चुनौतीहरू थपिएको औँल्याउनुभयो । उहाँले बैङ्कबाट विभिन्न व्यापार व्यवसाय लिनका लागि लिएको ऋण समयमा नतिर्ने र बैङ्कले पटक–पटक जानकारी गराउँदा उल्टै बैङ्कका कर्मचारीको अपमान गरी बैङ्किङ क्षेत्रलाई नै बदनाम गराउने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

उपाध्यक्ष कोइरालाले भन्नुभयो, ‘‘उद्योगी व्यवसायीहरूले आफ्नो व्यापार व्यवसाय गर्न भन्दा पनि बैकविरुद्ध हुने क्रियाकलापले देशको अर्थतन्त्रको साथै वित्तीय क्षेत्रमा विभिन्न चुनौतीहरू थपिँदै गएका छन् । बैङ्कबाट विभिन्न व्यापार व्यवसाय लिनका लागि लिएको ऋण समयमा नतिर्ने र बैङ्कले पटक–पटक जानकारी गराउँदा उल्टै बैङ्कका कर्मचारीको अपमान गरिनुका साथै बुकिङ क्षेत्रलाई नै बदनाम गराउने प्रयास भइरहेको छ । यसमा सरकार समयमा नै सजक हुनुपर्ने र यस्ता अराजक आन्दोलन तत्काल बन्द हुनुपर्ने हाम्रो माग छ ।’’