गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ११ गते । नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताउनुभएको छ ।
सोमबार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता सभापति देउवाले औँल्याउनुभएको पार्टीका सांसद रामहरि खतिवडाले बताउनुभएको हो । उहाँले पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेको बताउनुभयो ।
उहाँले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताउनुभएको जानकारी दिनुभयो । बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गर्नुभएका बीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । सांसदहरूले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने ? पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका सांसद खतिवडाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस संसदीय दलले अब केही समयपछि आउने बजेटमा सांसदहरूको धारणा के छ ? भन्ने कुराको बारेमा छलफल गरेको छ । पार्टी सभापतिज्यूले अहिले देशको विषम परिस्थिति छ । यसलाई अब कसरी लैजाने ? उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो । अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता छ, त्यो सँगै कांग्रेसले बजेट ल्याउँदा खेरी जनतालाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ, साना साना जनतासँग जोडिने खालका कार्यक्रम आउनुपर्छ । बीपी कोइरालाले छोटो समय देशको नेतृत्व गर्दा जनतासँग जोडिने कार्यक्रम ल्याउनुभयो । अरू बेला काँग्रेसका अर्थमन्त्री धेरै भए, धेरै कार्यक्रम जनताको पक्षमा आएनन् की भन्ने चिन्ताको विषय धेरै सांसदहरूले उठाउनुभएको छ । तर जनताको विकास निर्माणका अपेक्षा धेरै छन् । यसलाई कसरी सम्बोधन गरेर जाने ? भनेर छलफल भएको छ । आज धेरै मान्य सदस्यहरूले बोल्नुभएको छ र सबैले बोल्ने क्रम नसकिएकाले भोलि १० बजे पनि हामी बैठक बसेर छलफल हुनेछ ।
आगामी बजेटमा जनताका माग र कुरा कसरी सम्बोधन गर्ने, आयोजना पुराना कसरी सक्ने र नयाँ योजना कसरी थप्ने भन्ने बारेमा नै छलफल भयो । प्रत्येक निर्वाचन क्षेत्रमा देखिने योजनाहरू, कार्यक्रम आओस्, स्थानीय तहको कार्यालयमा जाने बाटोहरू कालोपत्रेको व्यवस्था होस्, सहरीकरण, खानेपानी र स्वास्थ्यको व्यवस्था होस् ।’
सांसद खतिवडाले सांसदहरूले आगामी बजेटमा प्रत्येक स्थानीय तहको कार्यालयमा जाने बाटोहरू कालोपत्रे गर्ने र व्यवस्थित सहर, स्वास्थ्य र शिक्षा हरेक तहमा पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको बताउनुभयो ।