• १३ साउन २०८१, आइतबार

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३०औँ स्मृति दिवस सम्पन्न

blog

काठमाडौं, वैशाख १० गते । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३०औँ स्मृति दिवस मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा आज ३०औँ पासाङ ल्हामु स्मृति दिवस मनाइएको हो । 

काठमाडौंको चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको प्रतिमामा माल्यार्पण र पुष्प गुच्छा अर्पण गरी ३०औँ स्मृति दिवस मनाइएको छ । स्मृति दिवसको अवसरमा पासाङ ल्हामु प्रतिष्ठानकी अध्यक्ष समेत रहनुभएकी राष्ट्रिय विभूति शेर्पाकी छोरी दावा फुटी शेर्पाले प्रतिमामा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै संसारभरका महिलाका लागि पासाङ ल्हामु प्रेरणाको श्रोत भएको बताउनुभयो । 

फाउन्डेसनको तर्फबाट पनि हिमाल आरोहणको चाहना राख्ने महिलालाई आवश्यक सहयोग गरिरहेको र राज्यले पनि यस्ता सहयोगका कार्यमा थप अग्रसरता देखाउन आवश्यक रहेको शेर्पा बताउनुभयो । उहाँले सरकारले देशमा नै हिमाल आरोहीलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँले संसारभरका महिलालाई साहसरूपी प्रेरणा दिनुभएको थियो । हामीले हिमाल आरोहणमा चाहना गर्ने महिलालाई फाउन्डेसनको तर्फबाट सहयोग गरिरहेका छौँ । राज्यले पनि त्यसमा अझै सहयोग गरिदिनुपर्छ, जो महिलाहरू चाहना राख्नुहुन्छ तर विविध कारणवश हिमाल आरोहण लगायतका गतिविधि गर्न सकिरहनुभएको छैन, उहाँहरूलाई राज्यले हेर्नुपर्छ । आरोहीहरूलाई बाहिर देशमा सम्मान होइन, आफ्नै देशमा सम्मान गर्न सक्नुपर्छ ।’

त्यस्तै पासाङ ल्हामु प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष लाक्पा फुटी शेर्पाले पासाङ ल्हामु शेर्पाका सपनाहरू आज आएर साकार भइरहेको देख्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले पासाङ ल्हामु शेर्पाले देशका लागि केही गर्छु भन्ने भोक रहेको र उहाँको आत्मविश्वासलाई देखेर नै आजका महिलाहरूमा थप काम गर्ने इच्छा, चाहना र प्रेरणा प्राप्त भइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँको देशका लागि, समुदायका लागि केही गर्छु भन्ने सपना थियो, त्यो अहिले पनि जीवित रहेको छ जस्तो लाग्छ । उहाँको सपना देशका लागि केही गर्छु भन्ने थियो, त्यो सपना आज साकार भइरहेको छ । उहाँको आत्मविश्वास देखेर अहिलेसम्म ७० बढी महिलाहरूले हिमाल आरोहण गरिसक्नु भएको छ ।’

त्यस्तै पूर्व मन्त्री कृपाशुर शेर्पाले पासाङ ल्हामु शेर्पाको स्मृति दिवस इज्जत, प्रतिष्ठा र गौरवको रूपमा मनाइएको बताउनु भयो । उहाँले उहाँको जीवनीले नयाँ पुस्तालाई उत्साह, जोस जाँगर प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘साहसी पर्यटन प्रवर्द्धनको क्षेत्रमा नेपाली नारीले विश्व रेकर्ड जुन कायम गर्नुभएको छ, यसमा इज्जत, प्रतिष्ठा र गौरवको दिनमा आजको दिन मनाउने गरिएको छ । यसले नयाँ पुस्तालाई उत्साह, जोस जाँगर प्रदान गर्छ ।’


त्यस्तै खुम्बु पासाङ ल्हामू गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले पासाङ ल्हामू शेर्पाको कदरका लागि गाउँपालिकामा सङ्ग्रहालय बनाउन लागेको बताउनु भयो । उहाँको नाममा विभिन्न कोषहरूको स्थापना गरी आवश्यक परेकाहरूलाई सहयोग गर्ने तिर पनि गाउँपालिकाले योजना बनाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँको गरिमा,महत्त्व र साहसलाई हामी सबैले मिलेर उजागर गर्न जरुरी छ । उहाँको सम्झनामा हामीले गाउँपालिकामा पासाङ ल्हामू सङ्ग्रहालय बनाउने योजनामा छौँ । उहाँको गरिमालाई उच्च बनाउने काम गर्ने कुरा भइरहेको छ ।’

पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला हुनुहुन्छ । उहाँले २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । त्यो भन्दा पहिला तीन पटकसम्म सगरमाथा चढ्ने प्रयास असफल भयाको थियो । न्यूज एजेन्सी नेपालबाट