• ५ जेठ २०८१, शनिबार

प्रादेशिक अस्पतालको सेवा प्रभावकारी

blog

गौर समाचारदाता

गौर, वैशाख १० गते । जिल्ला सदरमुकाम गौर नगरपालिकास्थित प्रादेशिक अस्पतालको व्यवस्थापन समिति सक्रियपछि स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ।

रेफर अस्पतालका रूपमा चिनिँदै आएको यस अस्पतालको व्यवस्थापन समिति, चिकित्सकलगायत सम्पूर्ण कर्मचारी सक्रिय भएपछि सेवा प्रभावकारी बनेको हो। बिरामीको स्वास्थ्य सेवालाई ध्यानमा राखेर उपचारका लागि भिडियो एक्स–रे, डिजिटल एक्स–रे मेसिन, ईसीजी सेवा, ओपीडी, इमरजेन्सी सेवा, वार्ड सेवा, शल्यक्रिया व्यवस्थापन, प्रसूति सेवा, जनरल सर्जरी, निःशुल्क औषधिलगायत खानेपानी र सरसफाइमा सुधारसँगै अस्पतालको सेवामा पनि सुधार देखिएको छ। 

स्वास्थ्य सेवा व्यवस्थित गरिएपछि अहिले दिनहुँ १५० सङ्ख्याको हाराहारीमा बिरामी स्वास्थ्य उपचारका लागि अस्पतालमा आउने गरेको अस्पतालका प्रमुख डा. मुरारी ठाकुरले बताउनुभयो। अस्पतालबाट बिरामीले पाउने सेवा सुविधा प्रभावकारी एवं फलदायी बनाउन चिकित्सकहरूको टोलीले प्रत्येक दिन बिहान चिकित्सक भेटघाट कार्यक्रम सञ्चालन गरेको बताउँदै उहाँले बितेका २४ घण्टामा भएका उपचारलगायतका बारेमा छलफल तथा समस्याको समाधान गर्ने गरिएको जानकारी दिनुभयो।

गौर प्रादेशिक अस्पतालले मधेश प्रदेशमा (एमएसएस) न्यूनतम सेवा मापदण्डमा ४५ अङ्कबाट यसपटक ७३ अङ्क ल्याएर दोस्रो स्थान उक्लिन सफल भएको उहाँले बताउनुभयो।