हर प्रातःकालमा जुरुक्क उठ्छु
ऐना तिमीलाई हेर्छु
आफूलाई अत्यन्तै सक्कली र सुन्दर देख्छु
लाग्छ ऐना हेर्ने मेरै नजर भएर होला
कठै म आफैँमा मपाइँत्व बढ्छ अनि
दोस्रोलाई तपाईं भन्न बिर्सिन्छु ।
अर्कालाई देख्दै नदेख्ने,
गन्दै नगन्ने मेरो बानी परिसकेछ
त्यसैले त दिन अहंमै ढल्छ
मपाइँत्व जपेरै आफैँ आफैँ ।
ऐना ! तिमीले त हो नि
मलाई घमन्डी बनाएको
हरेक दिन बिहानै अनुहार देखाइदिएर
र त म आफूभन्दा अर्को देख्दै नदेख्ने
भएकी छु ।
अनि त मनको ऐनाले
कहिल्यै अर्कालाई हेर्दै नहेर्ने भएकी छु
पापी ऐना ! तिमी कस्तो ?
सधैँ भ्रममा अल्झाइरह्यौ मलाई
म तिमीसँगै अल्झिरहेँ ।
लाग्छ कहिलेकाहीँ
मभित्रको मपाईं पनि देखाउनु
तर तिमी पनि कपटी छ, म जस्तै
त्यसैले त मुहार मेरो मात्र देखाउँछौँ
अनि दोष, खोट अरूको मात्र औँल्याउँछौँ ।
ऐना ! तिमी किन जादु गर्दैनौँ ?
यसो कहिलेकाहीँ त
हृदयको पनि एम्आरआई गरेर
स्क्यानिङ निकालेर
पानीको पानी, दूधको दूध देखाइदिए हुने नि ।
मनका सबै विकार ऐनामा देख्दा
सायद म ऐना नै नहेर्ने पो बन्थेँ कि !
अनि म मेरो वास्तविक रूप देखेर
झाँक्न सक्थेँ कि आफूलाई !
सायद मभित्रको म देख्थे
अनि संसारलाई सुन्दर देख्थेँ
सुन्दर बनाउन हरतरहले यत्न गर्थें होला
है मेरो प्यारो ऐना ! यति गरिदेऊ न ल !