• ६ जेठ २०८१, आइतबार

नियात्राको चोटिलो दस्ताबेज

blog

नेपाली साहित्यको वर्तमान कालखण्ड नियात्राले हराभरा हुँदै गएको छ । नेपाली साहित्यमा कविता विधाका अतिरिक्त नियात्रा विधाले पनि थप ऊर्जा प्रदान गरेको देखिन्छ । नियात्रालाई लिपिबद्ध तुल्याउन संस्मरण लेखन सहज माध्यम स्वीकारिन्छ । संस्मरणमा लेखकलाई मुक्त गतिबाट आफ्ना भाव, भाषा, दर्शन, चिन्तन, अनुभूति प्रकट गर्न सहज हुन्छ । विविध समयका यायावरीय अनुभूति प्रकट गर्ने क्रममा गोपीचन्द्र कार्कीले ‘चार भन्ज्याङ काटेपछि’ को स्वादिलो व्यञ्जन पस्कनु भएको छ, बीसवटा नियात्रा सङ्ग्रह गरेर । 

नयाँ ठाउँ, अपरिचित पात्र, भिन्न समाज, भिन्न संस्कृति, भिन्न भूगोल आदिसित साक्षात्कार गर्दै डुलेर–घुमेर, देखे–भोगेका अनुभूतिका कोमल पुञ्जलाई सचित्र उतार्नु भएको छ, लेखकले प्रस्तुत कृतिमा । ‘नफर्कने दिनका सम्झनालाई ताजा राख्न’ संस्मरण लेख्नु परेको हो भन्ने स्वीकारोक्ति सँगसँगै अघि बढेको यो प्रतिबद्धतामा पाठक शुभचिन्तकको हौसलालाई पनि प्राथमिकता दिइएको देखिन्छ ।  यी बीसवटा शीर्षकमध्ये ‘यात्रा गोसाइँकुण्डको,’ ‘हिमालपारि मुक्तिनाथ,’ ‘सम्झना घलेगाउँको,’ ‘थकाइ बिर्साउने पाँचपोखरी,’ ‘चिसापानी हैन चिसोपानी,’ ‘यात्रा जयपुरसम्मको,’ ‘जुम्लाको डाँफेलेक,’ ‘झ्यारीमाथि रारासँग जम्काभेट,’ ‘सिञ्जाको बाटो छालाचौरको बास’ र ‘जुम्लाको सेरोफेरो’ जस्ता नियात्राहरूमा भूगोल, समाज, प्रकृति र यात्रानुभूतिका रोचक, ज्ञानबद्र्धक वर्णनहरू रहेका छन् । यिनले नियात्राको धर्म निर्वाह गरेको देखिन्छ । तर, ‘असारे घुमघाम,’ ‘छापामार युद्ध र माघीपर्व,’ ‘तिर्खाएको काठमाडौँ’ र मेलम्ची,’ ‘शहीदले बोलाएको गाउँपुग्दा,’ ‘चौतारामा चौतारी खोज्दा,’ ‘मन नहाँसेको दिन’ र ‘पैसा फलाउने हिमाल’ चाहिँ नियात्रात्मकता कम निबन्धात्मकता बढी रहेका छन् । नियात्राले पाठकलाई भौगोलिकता, सामाजिकता, सांस्कृतिकता र ऐतिहासिकता आदिको सूचना प्रवाहित गरिरहेको हुन्छ भने निबन्धात्मकताले अनुभूतिको रोमाञ्चकता, चिन्तनको गहनता र मुक्त भावधाराको संवेदनामा अन्तक्र्रियारत तुल्याइरहेको हुन्छ । यसो भनेर यी पछिल्ला आलेख नियात्राको कसीमा परेका छैनन् भन्ने होइन । ती भित्र पनि कमबेसी नियात्राको लेपन भेटिने आधार छन् । यहाँ एउटा कुरा के स्मरणीय छ भने गोपीचन्द्र कार्की समकालीन नियात्राकारभन्दा भिन्न रहेर रसानुभूतियुक्त भाषाका माध्यमद्वारा सरल, सुललित, प्रेमिल, निर्बन्धित र सटिक सम्प्रेष्यले पाठकलाई आकर्षित तुल्याउन सफलतम स्रष्टा साबित हुनुभएको छ । अनावश्यक शब्दका प्रयोगले झिंजो व्याख्या नगरी पाठक रसभोक्तालाई मन्त्रमुग्ध पार्न प्राञ्जल भाषाको प्रयोग र आलङ्कारिक शैली प्रस्तुतिमा सिद्धहस्तता पुष्टि हुनुभएको छ उहाँ । 

गोसाइँकुण्डको यात्रा होस् वा हिमालपारि मुक्तिनाथको यात्रा अथवा जिरी, रारा, जुम्ला, सिञ्जालगायत अन्य दुर्गम र विकट पहाडी यात्राका लागि पूर्ण सतर्कता अपनाउनु पर्ने कुरामा पनि लेखकले सचेत गराएको देखिन्छ । यात्राको पाटो ‘एडभेञ्चर’ हासिल गर्नु मात्र होइन, जोखिम बहन गर्न सक्ने क्षमता पनि हुनुपर्छ भन्ने मान्यतालाई अघि सार्नुभएको छ उहाँले । भ्रमणमा ‘चुनौती र रहस्य’ एकसाथ आइपर्छन्, तिनलाई व्यवस्थापन गर्दै मूर्त परिणतिमा पु¥याउनु चाहिँ नियात्राकारको सफलता हो । दार्जिलिङका समालोचक योगेश खातीले नियात्रालाई ‘भ्रमणको रसदार अनुभूति’ ठह¥याउनु भएको तथ्यलाई गोपिचन्द्र कार्कीले ‘अन्वेषण र अनुसन्धान’ को प्रवेशद्वारबाट अझ बढी परिणाममुखी तुल्याउन प्रयास गरेको अनुभव हुन्छ । 

नियात्रामा ‘पाइला र आँखा’ मात्र प्रयोग हुँदैन । अन्तर्दृष्टि, खोज, ज्ञानको भोक, सञ्चार, समानुभूति, आत्मसात् र अनुकरणात्मकतालाई पनि प्राथमिकता प्रदान गरिन्छ । फलस्वरूप ‘को–अर्डिनेसन’ र 

‘क्रस कल्चर का ‘डिस्कोर्स’हरूले भिन्न सांस्कृतिकताका मनुष्य समाजलाई जोड्न सम्भव हुन्छ । विश्ववन्धुत्वको अभीष्ट पनि यिनै नियात्रा दर्शनको सारमा अडेको हुन्छ । नियात्रा लेखनको यो सान्दर्भिकतालाई पुष्टि गर्न समकालीन नियात्राकारका समवर्ती परिदृश्यमा ‘चार भन्ज्याङ काटेपछि’ आइपुगेको छ ।  मनुष्य समाजको एउटा अंश प्रारम्भदेखि नै यायावरीय जीवन बाँच्तै–विकसित हुँदै आइरहेको यथार्थ कसैले नकार्न सक्तैन । विकास र समृद्धिको फट्को मार्ने एउटा प्रमुख आधार भ्रमण, परिदर्शन वा यात्रानुभूतिका सुखद संयोगलाई स्वीकार्न सकिन्छ । प्रस्तुत नियात्राका माध्यमबाट लेखकले देशको राजनीतिक विसङ्गति र प्रशासनिक विकृतिमाथि प्रहार गर्नुभएको छ भने नेपाली समाजलाई देश दर्शनको अभियानमा जुट्न पनि प्रेरित गर्नुभएको छ । लेखकको यहाँ व्यक्त मनसायबाट के पुष्टि हुन्छ भने आफ्नै देशको भूगोल, समाज, संस्कृति, जाति, भाषा, रहनसहन सँगसँगै वरपर नबुझी नेपाल बुझिँदैन । देशको सम्पूर्ण माटोसित साक्षात्कार गरेर मात्र कर्मक्षेत्रमा अगाडि बढ्न सकिन्छ भन्ने मान्यतामा रहनुभएका नियात्राकार गोपीचन्द्र कार्कीको प्रस्तुत कृतिको प्रमुख अभीष्ट हो । 

सामाजिक सहिष्णुता, सांस्कृतिक ऐक्यबद्धता, हार्दिकता र मानवतावादी चिन्तनहरूले युक्त यी निर्बन्ध नियात्राहरूले एउटा विशिष्ट सन्देश प्रकट गरेका छन्, नेपाली पाठक–अध्येतालाई । समग्रमा लेखकले शब्द, भाषा, शैली, प्रस्तुति र सम्प्रेषण व्यन्जनलाई आकर्षक ढङ्गबाट उतारेर ‘चार भन्ज्याङ काटेपछि’ लाई नियात्रा विधाको अनुपम दृष्टान्त बनाउनु भएको ठहर गर्न सकिन्छ । 

नियात्रा साहित्यमा देखिएको राजा गगनिराजको यात्रा कृतिदेखि जङ्गबहादुरको बेलायत यात्रा हुँदै, लैनसिंह वाङ्देलको युरोपको चिठ्ठी र तारानाथ शर्माको बेलायततिर बरालिँदा तथा वर्तमानकालका नियात्राका धरोहर दामोदर पुडासैनी ‘किशोर’ सँगसँगै गोपीचन्द्र कार्कीसम्म आइपुगेको यो नियात्रा सन्दर्भमाथि बहस प्रारम्भ गर्दै नियात्रा इतिहासको पुनर्लेखनतर्फ अग्रसर हुनुपर्ने बेला आइसकेको छ । 

विगतमा आफूले यात्रा गरेका स्थानहरू वनजङ्गल, बोट–वनस्पति, झरना, छाँगा–छहरा, नदीनाला, पहाड–पर्वत, उकाली–ओराली, देउराली, फाँट–बेँसी, चौतारीहरूका स्मृतिमा अक्षरहरूसित बात गरेर मन बुझाउने उपक्रममा भावनाको गाङ्गेयमा डुबुल्की लगाइरहने यी स्रष्टाको ‘नोस्टाल्जिक तुुजुक’ कम रोमाञ्चक अनुभव हुँदैन । कृतिको आमुखमै भावुक भएर व्यक्त गरिएका विचारले के पुष्टि गरेका छन् भने नियात्रा लेखनमाथि निर्बन्ध अनुभूतिहरूको योगले पूर्णतया थिचेको प्रतीत हुन्छ, उहाँलाई । शायद यो उहाँको मौलिक लेखकीय पहिचान हो ।