• ८ मंसिर २०८१, शनिबार

नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजार

blog

नेपाली सिने क्षेत्रमा विदेशी चलचित्रको प्रभुत्व कति छ भनेर अनुमान लगाउन नेपाली बक्स अफिसमा दुई चलचित्रको कमाइ हेरे पुग्छ । हलिउडको ‘अवतार : द वे अफ वाटर’ र बलिउडको ‘पठान’ले २०७९ सालमा १० करोड रुपियाँ हाराहारी कमाइ गरेका छन् तर नेपाली चलचित्रले विदेशमा यस्तो कमाइ कहिले गर्ने ? अन्तर्राष्ट्रिय बजारमा मात्र होइन, नेपाली डायस्पोरामा पनि नेपाली चलचित्रको उपस्थिति गर्व गर्न लायक छैन । यद्यपि त्यहाँ नेपाली चलचित्रको उपस्थिति बिस्तारै बढ्दै छ । निर्माताहरू त्यतातिर लालायित पनि देखिन्छन् । 

२०७२ सालको भूकम्प र त्यसपछि कोभिड–१९ का कारण थिलथिलो भएको सिने उद्योग चलायमान हुन थालेपछि बजारबारे बहस भइरहेको छ । नेपालमा विदेशी चलचित्रले चामत्कारिक कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफ्नो हिस्सा खोजिरहेका छन् ।  गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै छायाङ्कन गरेर स्वदेश र विदेशकै हलमा प्रदर्शन गर्ने हिम्मत गरिरहेका छन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्रकर्मी छन् । हुन त नेपाली डायस्पोरा र विदेशी बजारको परिभाषा फरक रहे पनि चलचित्र ‘प्रेम गीत–३’ले हिन्दी संस्करणमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रवेश पाएसँगै नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा योग्य छन् भन्ने प्रमाणित गरेको छ । 

‘प्रेम गीत–३’का निर्देशक तथा निर्माता सन्तोष सेन विभिन्न भाषाको संस्करणमार्फत विश्व बजारमा पहिलो पटक नेपाली सिनेमा पु¥याएको दाबी गर्दै भन्नुहुन्छ– ‘प्रेम गीत–३’ले विभिन्न चुनौती झेलेर विश्व बजारमा नेपाली चलचित्रको उपस्थिति जनाइसकेको छ । एकै पटक विश्वका ३५ भन्दा बढी देशमा प्रदर्शन गर्ने अवसर पाएको छ । 

हिन्दी भाषामार्फत नेपाली चलचित्रले विश्व चलचित्र उद्योगमा प्रवेश गर्नु चानचुने कुरा होइन । सरोकारवाला चलचित्रको स्तरोन्नति, कानुनी सहजता र उद्योगलाई प्रोत्साहन गर्न गम्भीर नभएकोमा भने उहाँलाई दुःख लागेको छ । चलचित्र उद्योग पनि उद्योग हो, यो उद्योगमा पनि धेरै नेपाली आश्रित छन् भन्ने कुरा बुझ्नुपर्छ भन्दै उहाँले अभिनेता प्रदीप खड्काले यही चलचित्रमार्पmत डेब्यु अभिनेताको अवार्ड जितेकोमा खुसी व्यक्त गर्नुभयो ।

नेपाली समुदायको उल्लेख्य बसोबास भएका देशमा नेपाली चलचित्रले राम्रो व्यापार गरेका छन् । सम्बन्धित देशको सेन्सर बोर्डको अनुमति लिँदाको झन्झट बिर्सेर भए पनि निर्माताहरूले विदेशमा आफ्नो चलचित्र प्रदर्शन गरिरहेका छन् । 

हुन त समीक्षकहरू नेपाली चलचित्रको कथावस्तु, छायाङ्कन, प्राविधिक पक्ष कमजोर हुँदा विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न समस्या भएको दाबी गर्छन् । विशेषगरी प्रविधि र बजेट अभावका कारण नेपाली चलचित्र गुणस्तरीय हुन सकेको छैन । मौलिक कथा र कलात्मक प्रस्तुति नहुँदा पनि विश्व बजारमा प्रतिस्पर्धा गर्न नेपाली चलचित्रलाई हम्मे हम्मे परिरहेको छ । पछिल्ला वर्ष भने नेपाली चलचित्रका लागि सुखद देखिँदै गएको छ । ‘फिचर फिल्म’ मात्र होइन, ‘सर्ट फिल्म’ले पनि विदेशमा राम्रो तारिफ पाइरहेका छन् । नेपाली मौलिकता, संस्कार, संस्कृति समेटिएका चलचित्र विदेशमा रोजाइमा पर्ने गरेको निर्देशक प्रदीप भट्टराईको बुझाइ छ । विदेशको बजारले गर्दा नेपाली चलचित्र निर्मातालाई चलचित्र बनाउन आँट आउने गरेको पनि उहाँको भनाइ छ । पछिल्लो समय चलचित्र ‘महापुरुष’ले अमेरिकामा तीन सयभन्दा बढी ‘सो’ गरिसकेको, अस्ट्रेलिया, युरोप, जापान, खाडी मुलुकमा समेत राम्रो व्यापार गरेकाले आफूलाई हौस्याएको निर्देशक भट्टराईले भन्नुभयो । 

विदेशमा प्रदर्शन गरिएका नेपाली चलचित्रको ठूलो समस्या भनेको पाइरेसीको हो । पाइरेसीको समस्या निर्माताहरूले वर्षांैदेखि भोग्दै आएका छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप उपसंयोजक सञ्जयभक्त कँडेल निर्माता र अन्तर्राष्ट्रिय प्रदर्शकबीच समन्वय हुन नसक्दा धेरै नेपाली चलचित्र पाइरेसीको समस्यामा पर्ने गरेको बताउनुहुन्छ ।  अस्ट्रेलिया, अमेरिका, बेलायत, जापान, कोरिया, दुबई, मलेसिया, कतारमा नेपाली चलचित्रको राम्रो बजार छ । २०७९ सालमा मात्र ‘प्रेम गीत–३’ पछि ‘महापुरुष’ अमेरिकाका विभिन्न सहरमा आठ हप्ता निरन्तर प्रदर्शन भएको निर्माण पक्षको दाबी छ । कम्युनिटी ‘सो’भन्दा पनि हलमै प्रदर्शन हुने नेपाली चलचित्रको सङ्ख्या बढ्दो छ । संयुक्त अरब इमिरेट्सको स्थानीय वितरकसँग सहकार्य गरेर ‘छक्का पन्जा–३’ पनि खाडीका विभिन्न सहरका सिनेमा हलमा प्रदर्शन भयो ।

विदेशमा छायाङ्कन

कुनै पनि चलचित्रलाई दर्शकले रुचाउनुको पछाडि छायाङ्कन स्थलको भूमिका पनि महìवपूर्ण हुन्छ । कुनै समय मुस्ताङ, मनाङ, डोल्पा, इलामसम्म पुग्न नसक्ने चलचित्र निर्माताहरू अहिले विदेशका चर्चित स्थलहरू छायाङ्कनका लागि छनोट गर्न सक्ने भएका छन् । 

प्रस्तुति, पटकथा, कलाकार, अभिनय मात्र होइन, छायाङ्कन स्थलले पनि चलचित्रलाई राम्रो वा नराम्रो बनाउँछ । त्यसैले नेपाली चलचित्रमा हिजोआज समुद्री तटदेखि सुविधासम्पन्न विदेशी पार्क र रोमाञ्चक लाग्ने प्राकृतिक दृश्य देख्न पाइन्छ । 

हुन त ‘सत्य हरिशचन्द्र’को छायाङ्कन भारतमा गरिएको र कलकत्तामा प्रदर्शन गरिएको इतिहास छ । त्यसको धेरै वर्षपछि ‘मितज्यू’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘परालको आगो’, ‘सम्झना’जस्ता चलचित्र भारतमा छायाङ्कन भए । यसपछि ‘कस्तुरी’ चलचित्र बेलायतमा र ‘इष्टमित्र’ चलचित्र अमेरिकामा छायाङ्कन भएका थिए । हिन्दी र अङ्ग्रेजी संस्करणमा समेत रहेको ‘गोर्खा वारियर’ चलचित्रमा मलेसियाको दृश्य देख्न पाइन्छ । ‘इन्टुमिन्टु’, ‘ह्याप्पिडेज’मा लन्डनको दृश्य छ । ‘परदेशी’, ‘ह्याप्पी न्यू इयर’लगायतमा अस्ट्रेलियाको सुन्दरता समेटिएको छ । विदेशमा छायाङ्कन गर्ने क्रम हिजोआज झनै बढेर गएको छ । ‘मेड इन नेपाल’, ‘बुद्ध बर्न इन नेपाल’, ‘राघव’जस्ता चलचित्रमा अमेरिकाको सुन्दरता देखाइएको छ । टर्कीमा छायाङ्कन गरिएको ‘लिलिबिली’, थाइल्यान्डमा छायाङ्कन गरिएको ‘प्रेम गीत–२’, नर्वेमा छायाङ्कन गरिएको ‘समर लभ’को दृश्य पनि मनमोहक छ ।

‘कैदीको पत्र’ स्कटल्यान्डमा छायाङ्कन गरिएको छ । ल्हासा, हङकङ, सिङ्गापुर, दुबई नेपाली चलचित्रको छायाङ्कनका लागि गन्तव्य बनेका छन् । 

अन्तर्राष्ट्रिय अवार्ड 

नेपाली ‘फिचर फिल्म’ होस् या ‘सर्ट फिल्म,’ अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट ठहरिने गरेका प्रशस्त उदाहरण छन् । विभिन्न विधामा बनेका वृत्तचित्रले पनि उत्कृष्ट सम्मान पाइरहेका छन् । समलिङ्गी प्रेम कथामा निर्माण भएको ‘मारुनी’ले अमेरिकाको कोलोराडोमा आयोजित 

‘पाँचौँ एभरेस्ट नेपाली फिल्म अवार्ड’मा उत्कृष्ट ठहरिएको एक वर्ष मात्र हुँदै छ ।  सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘वेलकम टु हेम्जाकोट’ले उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको धेरै समय भएकै छैन । गत वर्ष मात्रै अविनाशविक्रम शाह निर्देशित लघु चलचित्र ‘तत्तिनी’ले रुसको कजानमा आयोजित चलचित्र महोत्सवमा ‘उत्कृष्ट लघु चलचित्र’ पुरस्कार हात पारेको थियो । अमेरिकी फिल्म फेस्टिभल वल्र्डफेस्ट ह्युस्टनमा ‘हल्कारा ः द पोस्टम्यान’ उत्कृष्ट विदेशीभाषी चलचित्र घोषित भएको हालै मात्र हो ।

रसियामा आयोजित १९औँ अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिभलमा नेपालको बहुपति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड)ले प्रथम पुरस्कार नै जितेको थियो । नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि नेपाली चलचित्रले पटक पटक अवार्ड हात पार्दै आएका छन् ।  २०५६ सालमा निर्माण भएको ‘क्याराभान’ ७२औँ संस्करणको ओस्कार छनोटमा उत्कृष्ट विदेशी चलचित्रको विधामा पहिलो पटक परेपछि नेपाली चलचित्र निर्माताहरू उत्साहित भएका थिए । यसपछि क्रमशः ओस्कारमा नेपाली चलचित्रको उपस्थिति देखिन थालेको हो । 

२०६० सालमै प्रदर्शनमा आएको ‘मुना–मदन’ पनि ओस्कार छनोटमा परेको थियो । २०५७ सालमा निर्माण भएको ‘मुकुन्डो’, २०६२ सालमा प्रदर्शनमा आएको ‘बसाइँ’, समलैङ्गिक प्रेम कथामा बनेको ‘सुनगाभा–डान्स अफ दी अर्किड’, ‘कालो पोथी’, ‘सेतो सूर्य’,‘बुलबुल’, ‘पञ्चायत’, ‘टलकजङ्ग भर्सेस टुल्के’जस्ता नेपाली चलचित्र ओस्कारको नजरमा परे । सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ले दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएर इतिहास राखिसकेको छ । बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, रोट्रेड्याम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, क्यानडा टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभललगायत ठूला अन्तर्राष्ट्रिय अवार्डहरूमा नेपाली चलचित्रले राम्रो प्लेटफर्म बनाउँदै आइरहेका छन् ।

नवीन राईको ‘नुमाफुङ’ले विभिन्न प्रतियोगितामा छनोट हुँदै बङ्गलादेश इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट रनरअप र फ्रान्सको भिजुअल फिल्म फेस्टिभलमा पब्लिक च्वाइस अवार्ड नै पाएर नेपाली फिल्मको भविष्य उजिल्याउने प्रयास गरेको थियो । 

राजेश खत्रीको ‘जुलुङ्गो’ले बर्लिन फिल्म फेस्टिभलमा उत्कृष्ट सर्ट फिल्म अवार्ड पाएको धेरै भएको छैन । विश्वकै प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’को ६६औँ संस्करणमा नेपाली चलचित्र ‘जुनुको जुत्ता’ छनोट हुनुलाई चलचित्रकर्मीले सौभाग्य मान्ने गरेका छन् । 

यता नेपाली लघु चलचित्रको विश्वयात्रा पनि घतलाग्दो र लोभलाग्दो छ । ७५औँ संस्करणको कान्स फिल्म फेस्टिभलमा नेपाली ‘लोरी’ले अवार्ड चुमेपछि लघु चलचित्रले विश्वमा उपस्थिति जनाउन थालेको छ । नेपाली परिवेश र कथा साथै प्रविधि बुझेका युवा चलचित्र क्षेत्रमा प्रवेश गरेपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लघु चलचित्रको सहभागिता बढ्दै गएको हो ।

महोत्सवको सहारा

विशेषगरी नेपाली चलचित्रलाई प्रवद्र्धन गर्ने गरी विदेशमा चलचित्र महोत्सव हुने गरेका छन् । चलचित्र विकास बोर्डले दुबईमा चारदिने ‘नेपाल सिनेमा फेस्ट–२०२३’ सम्पन्न गरेको हालै मात्र हो । 

थर्ड आईले बेलायतको राजधानी लन्डनमा पाँच दिनसम्म ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना गरेको एक वर्ष बितेको छ । यस्ता महोत्सव अन्य निजी कम्पनीहरूले युरोप, अमेरिका, बेलायतलगायत देशमा आयोजना गरिरहेका छन् ।

हुन त विदेशमा कार्यक्रम आयोजना गर्दैमा नेपाली चलचित्रले अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने छैन तर प्रोत्साहनका लागि महोत्सव आयोजना हुने गरेका छन् । नेपाली कलाकार सङ्घ बेलायतकी अध्यक्ष रोमियन लिम्बु विदेशमा आयोजना हुने महोत्सवले नेपाली कलाकारलाई विदेशी प्लेटफर्म उपलब्ध गराउने मात्र होइन, नेपाली चलचित्र प्रवद्र्धनमा पनि सहयोग पुग्ने दाबी गर्नुहुन्छ । 

  

Author

युवराज गौतम