• ११ जेठ २०८१, शुक्रबार

‘एमाले नेतृत्वको सरकारले मात्र देशको विकास गर्छ’

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित सहभागीहरु । तस्बिर : शिवशंङ्कर मिश्र

शिवशङ्कर मिश्र

बारा, बैशाख ७ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई दशकमा नभएको काम आफू नेतृत्वको सरकारले तीन वर्षमा गरेको दावी गर्नुभएको छ । बारा निर्वाचन क्षेत्र २ मा आयोजित कार्यक्रममा आज उहाँले सो दावी गर्नुभएको हो । 

उपनिर्वाचनमा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलको पक्षमा माहोल बनाउन बाराको पचरौतामा बिहीबार आयोजित चुनावी सभामा उहाँले एमाले नेतृत्वको सरकारले मात्र देशको विकास सम्भव रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “समाजिक सुरक्षालगायतको भत्ता एमाले सकारले ल्याएको हो, बृद्धि गरेर चार हजार बनाएका छौं ।” गठबन्धनका नेताहरुले मुलुक विकास गर्नुभन्दा एमालेलाई गाली गरेर समय व्यतित गरिरहेको उहाँले टिप्पणी गर्नुभयो ।  वर्तमान सरकार जति लामो समय टिक्यो त्यति देशको आर्थिक अवस्था कमजोर हुने उहाँले दावी गर्नुभयो ।  

बाराको निर्वाचन क्षेत्र २ मा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका पुरुषोत्तम पौडेललाई विजयी गराउन र विकासको अभियानमा साथ दिन उहाँले आग्रह गर्नुभयो ।