• १३ साउन २०८१, आइतबार

सात किलोमिटरको भाडा एक हजार

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख ७ गते । जिल्लाको दक्षिणी क्षेत्रमा सवारीसाधनका रूपमा मोटरसाइकलले यात्रुलाई सेवा दिँदै आएको छ। सर्केगाड र सलीसल्लामा यात्रु बोक्दैआएका मोटरसाइकल चालकले मनोमानी भाडा लिँदैआएका छन्। यात्रुले १० किलोमिटर कच्ची सडकको यात्रामा मोटरसाइकललाई एक हजार रुपियाँ भाडा तिर्नुपर्छ। सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डबाट सलीसल्लासम्म मोटरसाइकलबाट यात्रा गर्दा यात्रुले एक हजार रुपियाँ भाडा तिर्नुपर्छ। 

सलीसल्लाबाट चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङसम्म पनि एक हजार भाडा असुल्ने गरिएको छ। सो खण्डमा आठ किलोमिटर कच्ची सडक पर्छ। सर्केगार्डबाट स्याल्टडीसम्मको भाडा पनि एक हजार नै लिने गर्दै आएका छन्। सो खण्डको दूरी सात किलोमिटर छ।

यात्रु सुरेश परियारले सलीसल्लाबाट सर्केगार्डसम्म मोटरसाइकलबाट यात्रा गर्दा एक हजार भाडा तिरेको बताउनुभयो।

मोटरसाइकलमा एक जना मात्र यात्रु नराखेर तीन जनासम्म राख्ने गरेका कारण यात्रा पनि उत्तिकै जोखिमपूर्ण छ। पैदल यात्रा गर्दा दुई घण्टा लाग्ने सडकमा मोटरसाइकलले २५ मिनेट समय लगाउने गर्दछ। सडक सञ्चालनमा आएपछि यात्रु पनि मोटरसाइकलमै आउजाउ गर्न रुचाउँछन्। सर्केगार्डमा प्रहरी चौकी र ट्राफिक प्रहरी भए पनि मोटरसाइकलले लिने चर्को भाडाका सम्बन्धमा केही बोल्ने गरेका छैनन्।