• १३ असोज २०८१, आइतबार

एसीसी प्रिमियर कप : नेपाललाई मलेसियाद्वारा दुई सय ३६ रनको लक्ष्य

blog

विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : विकास द्वारे

काठमाडौं, वैशाख ५ गते । एसीसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपाललाई मलेसियाले जितका लागि दुई सय ३६ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३५ रन बनायो । 

मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाउनुभयो । उहाँले ९५ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

भिरनदिप सिंहले ४६, कहिजर हायातले २२, सायजरुल इदरुसले २१, मुहमद अमिरले १७, मुहमद सहादतले १५, सयद अजिजले १३ र विजय उनईले १२ रन जोड्नुभयो । 

बलिङमा नेपालका सोमपाल कामी र सदीप लामिछानेले तीन तीन विकेट लिनुभयो । ललित राजवंशीले दुई तथा गुलशन झाले एक विकेट लिनुभयो । प्रिमियर कपको समूह ‘ए’ मा नेपाल मलेसियाविरुद्ध सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

नेपालका लागि मलेसिया तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी मानिन्छ । यसअघि भएका पाँच भिडन्तमा सबै नतिजा नेपालको पक्षमा रहेको थियो । मलेसियामाथि सदाबहार जितको छवि कायम राख्न नेपाललाई अब ब्याटिङमा राम्रो गर्नुपर्नेछ ।

नेपाल र मलेसियाबीच यसअघि पछिल्लो पटक सन् २०१८ को एसिया कप छनोटमा भिडन्त भएको थियो । मलेसियामै भएको खेलमा नेपाल १९ रनले विजयी भएको थियो । 

एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।

यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । 

एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । एसीसीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ । तालिका अनुसार नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि मैदानमा खेल्दै सुरुवात गर्नेछ । 

नेपालले दोस्रो खेल वैशाख ८ ओमानसँग खेल्नेछ । उक्त खेललाई एकदिवसीय मान्यतासमेत रहने छ । नेपालले समूहको तेस्रो खेल वैशाख ११ गते साउदी अरब र चौथो खेल वैशाख १४ गते कतारसँग खेल्नेछ । सेमिफाइनल  वैशाख १६  र फाइनल खेल १८ गते कीर्तिपुरमा हुनेछ । 

मलेसियाविरुद्ध नेपाल-११ 

रोहित पौडेन (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।