• १३ साउन २०८१, आइतबार

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शनी हुँदै

blog

काठमाडौँ, वैशाख ५ गते । राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा शुक्रबारदेखि अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी आयोजना हुने भएको छ ।

हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले गर्न लागेको प्रदर्शनीको मुख्य उद्देश्य नेपाली उत्पादनलाई प्रदर्शनीमार्फत परिचित गराई विश्व बजारमा पहुँच गराउने नेपाली उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउनु भएको जनाइएको छ ।

आइतबारसम्म चल्ने प्रदर्शनीमा नेपालका हस्तकला भन्नाले पस्मिना, स्टोन, माला, क्युरियोका सामान, गलैँचा, गार्मेन्टका सामान, हेम्प, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, ह्यान्ड मेड पेपर, खुकुरी, पेपर प्याकेज, नेपाली ढाका, कार्पेट, घरेलु साना तथा ठूला उद्योगबाट उत्पादित वस्तु राखिनेछ । यस्तै जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा जस्तै, होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र संस्कृतिसम्बन्धी क्रियाकलाप भएमा उक्त उत्पादनका लागि अन्तर्राष्ट्रियस्तरमा परिचित एवं बिक्री वितरणका लागि पाँच सयभन्दा बढी विदेशी क्रेता (अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशबाट)को समेत सहभागिता हुने आयोजक पक्षले जनाएको छ ।

स्वदेशी तथा विदेशी गरी १७६ स्टल रहने प्रदर्शनीमा हस्तकलासम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी आयोजना गरिने बताइएको छ ।

विश्वका विभिन्न देशबाट क्रेता भित्र्याउने र बढीभन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीसँग सम्बन्ध विस्तार गराई निर्यात बढाई आर्थिक समृद्धि गर्ने प्रदर्शनीको प्राथमिकता रहेको छ । नेपालको प्राचीन स्मारक एवं सम्पदाको संरक्षणप्रति सम्बद्ध सबैमा आफ्नो उत्पादन अन्तर्राष्ट्रियस्तरमा परिचित गराई प्रदर्शनी स्थल लिएर उपयुक्त स्थानमा आफ्नो संस्था, फर्म, कम्पनीको नाम र लोगो राखी व्यापार गर्न/गराउन इच्छुक सबैमा स्टल बुकिङ गरिएको आयोजक कम्पनीले जनाएको छ ।