काठमाडौं, वैशाख ४ गते । नेपाली सेनाको सफा हिमाल अभियान टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको छ ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम तथा प्रधान सेनापतिको कमाण्ड नीति तथा मार्गनिर्देशनमा उल्लेख भए बमोजिम प्रकृति र पर्यावरण संरक्षण कार्यलाई प्रभावकारी कार्यान्वयनको निमित्त विश्वका अग्ला हिमालहरुको स्वच्छता कायम राख्न तथा जलवायु परिवर्तनका असरहरु न्यूनीकरणको लागि नेपाली सेनाको अगुवाईमा सफा हिमाल अभियान सुरु गरिएको हो ।
सेनाले सफा हिमाल अभियान–२०२३ अन्तर्गत वैशाख ४ गते सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालको सफाईको साथै सगरमाथा, ल्होत्से र अन्नपूर्ण हिमालको सफल आरोहण गरेको हो ।
आरोहण टोलीको नेतृत्व सह सेनानी भिमबहादुर भुजेलले गर्नुभएको थियो । टोलीमा वेश क्याम्प म्यानेजर सेनानी गजेन्द्र देउवा, सह सेनानी सुमन पाण्डे, प्युठ मानसिंह चौधरी, सिपाही नवराज राना, सिपाही ज्ञानेन्द्र डाँगी, शेर्पा सरदार छिरिङ्ग जाङ्गबो शेर्पा र पाँच जना शेर्पा सहयोगी हुनुहुन्थ्यो ।
सेनाले केही वर्षदेखि सफा हिमाल अभियान अन्तर्गत हिमाल सफाइ गर्दै आएको छ ।