एउटा काम आयो । बोरा खुल्नासाथ भित्रबाट आएको ढुसीगन्धलाई डब्बल मास्कले पनि धान्न सकेन । साङ्लाका ताँती यताउता भाग्न थाले । प्रायःजसो ओसिएर ढुसीबाट च्याउखेतीको तयारीमा गइसकेछ । तैपनि सामानको फेहरिस्त यस्तो छ, खिया लागेको चम्चा, पेनहोल्डर, कैँची र डेरीका दुई खाली बोतल । डेरीका दुई खाली बोतल देख्दा उहिले लैनचौर डेरीमा काँचो दूध घटघट पिएको याद आयो । हेर्दै जाँदा कपडाका थैला, पुराना भित्री कपडा र साथै गल्ने अवस्थाका पत्रपत्रिकाहरू आदि यी सबै सङ्ग्रहणीय हालतमा अब नभएको थाहा भयो ।
पत्रिकाको गुटीमुटीबाट पहेँलो डायरी फ्यात्त खस्यो । उठाएर कपडाले पुछ्पाछ पार्दै अतीतलाई भेट्ने कोसिस गरेँ, एकताका मलाई पनि अरूको सिकोमा डायरी लेख्ने भूत चढेको थियो । प्रथम पाना पल्टाएँ । कागज र अक्षरहरूको दूर्दशा, ठाउँठाउँमा गलेर, उडेर अनि प्वालप्वाल परेर मुस्किलले पढ्न सकिन्थ्यो ।
अन्तिम अन्तिमतिर कनिकुथी बुझिने खैरा धुले रङ्गरोगनका थोरै पाना भेट्न सफल भइयो । पुराना घरका भित्ता रसाएर तलतिर लेघ्राहरू तानिएझैँ पानामा मटमैला रेशाहरूको भरमार रहेछ । रुँदारुँदा बग्दै सुकेका गालामाझ धुले डामहरूको झल्को ती मटमैला रेशामा मैले मेरो बचपन देखेँ । सडक नीरवतामा जाँदै गर्दा मान्छेहरू फाट्टफुट्ट विभिन्न दिशामा छरिँदै र हराउँदै गए । बाँकी बचेका यी पानाहरूमा हिँड्दै, घुम्दै जाँदा त्यो अतीतको प्रस्ट दृश्यहरू आँखा वरिपरि घुम्न आतुर भइसकेको अनुभूत भयो ।
डायरी २०३८ साल माघमा लेखिएका रहेछ, जसअनुसार एकदिन लेखिएको रहेछ– भौगर्भिक फिल्ड ट्रिपको दुई हप्ता समय सकेर डेराभित्र पस्दा म लखतरान परिसकेको छु । निद्रा झमक्क परेछ । ह्वाँह्वाँ तिखो रुवाइले झसङ्ग ब्युँझेँ । यताउता फर्कें निद्रै परेन । माथिल्लो तलामा पुगेँ । घरपतिको छोरो चमन भुइँमा लडीबुडी गर्दै रोएको देख्दा एक मन त लागेको थियो चड्काइदिउँ । आफूलाई थामेर उसलाई फकाएँ, “यसरी रुनु हुँदैन, बाबु, ज्ञानी छ भनेँ ।” ऊ त झन् चिच्याउन पो थाल्यो । म एकोहोरो हेरिरहेँ । रुवाइ बढ्दै गयो । अलि कडा स्वरमा बोलेँ, “यत्रोबेरसम्म कति रोएको, चुप लाग !” अब भने बच्चोले रुवाइ कम गर्दै चुप लाग्यो तर टाउको निहुराएर सुँक्कसुँक्क गरिरह्यो । मैले नरम भएर भनेँ, “ल, अब नरोऊ है ।” उसलाई रुन सम्झाइदिए जस्तो पो भयो फेरि रुन थाल्यो । म अक्क न बक्क परेँ । एकपल्ट फेरि प्रयास गर्छु भन्ने लाग्यो, “भन त के भो ? किन राएको ?” बल्ल उसले रुँदै भन्यो, “मलाई कसैले नरोऊ भनेन, म रुन्छु, रुन्छु ।” हाँसोलाई दबाउँदै उसलाई फकाएँ, “म भन्छु, ल नरोऊ चमन नरोऊ ।” ऊ सुँक्कसँुक्क गर्दै कोठिाभित्र पस्यो । म आफ्नो कोठाभित्र पस्दै अचानक सम्झेँ– धत्तेरिका ! मैले त बिर्सेको आज त माघे सङ्क्रान्ति ।
यस्तै अर्को दिनको डायरीमा लेखिएको रहेछ– घरपतिसँग भ¥याङमै जम्काभेट भयो । बुबाले पठाएको रजिष्ट्री चिठी दिँदै घरपतिले भने, “आइसक्नुभएछ, यी तपाईंको चिठी । मलाई हतार छ, पछि गफगाफ गरौँला ।” पत्रसँगै पाँच सय रुपियाँको ड्राफ्ट पाउँदा मन प्रफुल्ल भयो । छुट्टी भएर न्युरोड घुम्दै पीपलबोट पुग्दा मान्छेको घुइँचो रहेछ । भिडले एक जना व्यक्तिलाई वरिपरि घेरेर बसेको र उनी जुत्ता पालिस गर्दै गरेको देखेँ । लस्करै त्यहाँ अरू जुत्ता पालिस गर्नेको हातमा भने काम थिएन । भिडले घेरिएको जुत्ता पालिस गर्नेको अघिल्तिर सानो बोर्डमा राता अक्षरहरू पढेँ, “आदरणीय महानुभावहरू मैले संस्कृत शिक्षामा विद्यावारिधि गरेको अवगत गराउन चाहन्छु । रोजगारीको कुनै अवसर नपाएकोले यहाँहरूको सेवामा मलाई जुत्ता पालिस गर्ने कार्य दिनुभएमा म कृतार्थ हुने थिएँ । धन्यवाद !” –डा. ऋषिराम शर्मा ।
खाना होटेलमै खाएर डेरामा फर्कें । फिल्ड रिपोर्ट लेख्दै गर्दा झ्वाट्ट मनमा आयो– देशको हालत यस्तो छ, पीएचडी गरेकोले पनि काम नपाउने ! आफू बल्ल बी.एस्सी गर्दै छु, के जागिर पाइएला र ! लेख्नै मन लागेन । अब सुत्छु ।
अर्को दिनको डायरी– क्लास सकेर ज्याकेट किन्न इन्द्रचोकको गल्ली गल्ली चहार्दै गर्दा अचानक ‘निरङ्कुश पञ्चायती व्यवस्था मुर्दावाद, बढ्दो महँगी नियन्त्रण गर ।’ नारा लाउँदै गरेको जुलुसलाई इटुम्बहालबाट पुलिसले लखेट्दै थियो । जुलुस इन्द्रचोकमा आई तितरबितर भयो । म वाल्ल परेर हेरिरहेँ । एकाएक पुलिसले ढाडमा कटबाँसले बजाइदिएपछि एक श्वासमा पीपलबोट पुगेँ । आज त्यहाँ सुनसान थियो । यताउता हेरेर जुत्ता पालिस गर्ने डाक्टरसाबलाई नदेखेकाले छेउकै अर्को जुत्ता पालिस गर्नेसँग बुझ्दा उसले हाँस्दै भन्यो, “अघि पुलिस आएर झ्यानाकुटी पार्दै भ्यानमा हुलेर कहाँ पो लगे ?” एकछिन अडेर जिस्किँदै फेरि उसले बोल्यो, “पीएचडी गरेको किन खोज्नु हुन्छ दाइ, जुत्ता फुकाल्नुस् हामी पालिस लाइदिन्छौँ नि ।” म बोल्दै नबोलीकन फर्कें । खाना पकाइवरी खाएर पढ्न बसेको ढाड बेसरी दुख्न लाग्यो ।
अर्को दिनको डायरी – खाने कुरा केही छैन । टोकरीमा दुई÷चार वटा गोलभेँडा बाँकी रहेछन् । अहिलेसम्म त्यसैको भर हो । उहिले हजुरआमाले भनेको सम्झेँ, “भातको एकसिता पनि खेर नफाल है, कुनै दिन भोकै बस्नुपर्ला ।” घर छोड्दा आमाले भनेको कुरा पनि सम्झेँ, “बाबु राम्रोसँग खानपिन गर्नू । धेरै बेरसम्म खाली पेट नबस्नू ।” बुबाले हौसला दिएको मनमा लाग्यो, “विद्यार्थीले भोक, तिर्खा, निद्रा, जाडो, गर्मी, घामपानी हैरानीहरूको सामना गर्नुपर्छ ।” ऐना हेरेँ भोक र थकाइको छाया अनुहारमा प्रस्टिँदै गयो । बाहिर चिहाएँ बारीमा सलक्क उठेका राता मूलाहरू लोभिला देखिए । मन रङ्गियो– एउटा उखेलेर खाउँ कि । बाको बोली कानमा गुन्ज्यो, “कुखुरा चोर पनि चोर, मूला चोर पनि चोर नै हो ।” अनि म सर्लक्क हच्केँ ।
अर्कोदिन लेखिएको रहेछ– भोको अवस्थामा पनि डायरी लेख्ने भूतले मलाई अलग पारेको छैन । अस्तिदेखि कलेज गएको छैन । साथीको डेरामा पुगेँ, ताल्चा झ्ुन्डिएको । सामुन्ने कोठामा बस्नेलाई सोध्दा बम्कियो, ‘बाहिरबाट केटाहरू ल्याएर जाँड खाएर हल्ला गरी रातभरि सुत्न पाएको छैन । तिम्रो साथीलाई झाडाबान्ता भएर बिहानै टेकु अस्पताल दौडाएँ । खानु खाए पो हुन्छ । उता हेर्नुस् त ।’
रछ्यानमा हेरेको बान्तासँगै भातको डल्ला र मासुका चोक्टा असरल्ल । भोको पेटमा हेर्नै सकिनँ । बाटोमा चिनेको पसलमा पसेँ । ग्राहकसँग साहुजी वचन लगाइरहेका, ‘हेर्नुस् दुई पैसा माल म सस्तो दिन्छु तर उधारो दिन सक्दिनँ । मैले धेरैबाट धोका खाइसकेको हुँदा । आज नगद भोलि उधारो ।’
बिचरो ग्राहक आफ्ना दुवै हात टक्टक्याउँदै हिँड्यो । अनि साहुजीले मलाई सोध्यो, “ओहो ! भाइ के चाहिन्छ
होला ?” म अकमकिएर बोलेँ, “हैन पछि आउँछु ।” साहुजी उपहासपूर्ण अन्दाजमा सुस्तरी बोल्यो, “कस्ता कस्ता मान्छे आउँछन् पसलमा ।” सोच्दै गएँ– भोकको रहस्य बल्ल थाहा भो । अब त कसैको निधारमा अक्षता देखे पनि भातको गाँस सम्झन्छु । अगाडिको पसलबाट चर्को स्वरमा रेडियो बज्यो– भातै पाक्यो गुजुगुजु तिहुनमा नुन छैन । राति ओछ्यानमा गुन्गुनाएँ– खरचल पठलत बचल नपठल त भक भक मरल ।
अर्को दिनको लेखिएको रहेछ– बिहान झ्वाट्ट सम्झेर उठेँ । ओछ्यानको पत्र पूरै उल्ट्याउँदा एक मोहर पाएँ । एक कप चियाको मूल्य जुट्यो बा । कुनामा बसेर चिया पिउन लागेँ । दुई जना केक टोक्दै बात मारिरहेका सुनेँ, “खानपिनमा कन्ट्रोल गर्नुप¥यो मार्साब (आजकाल बैङ्क कर्मचारीहरू किन हो एक अर्कालाई सम्बोधन गर्दा मार्साब भन्छन्), बिहान थोरै भात, दिउँसो हल्का नास्ता र राति दुईवटा रोटी मात्र लिनोस्, महिना दिनमै पेटजीउ ठेगान लागिहाल्छ ।” अर्कोले भन्यो, “खै मार्साब ।”
जहाँ पनि खानैको कुरा । भुन्भुनाउँदै उठेर ५० पैसा तिरेँ । गल्लीको छोटो बाटो लाग्दा रातो स्याउ ढल पानीमा उत्रेर फनफन घुमिरहेको टाढैबाट देखेँ । छेउछाउ हेरेँ केही भेटिनँ । खल्तीमा भएको चिठीले स्याउ टिपेर हिँडिहालेँ । धोइ पखाली खाएको स्याउले जीउ चङ्गा भयो ।
अर्को दिन– अर्को भोको बिहानीले नमस्कार ग¥यो । तुर्किस भाषामा एउटा भनाइ छ, ‘गोस्मिस ओल्सन (यो समय चाँडै गइदिए) !’ बोराभरि चामल लादेर पर सडकमा एक जना साइकल हिँडाउँदै गरेको देखेँ । झ्वाट्ट सम्झेँझँै भयो । खाटमुनि निहुरिएर हेरेँ । पोखिएर छरिएका चामलका दानाहरू टिप्दा एक मुठी भयो । पल्टेर चिउराझैँ चपाएर पानीसँग निलेँ । दिउँसो वासु शशीद्वारा अनुदित फ्रान्सेली लेखक रोजेर मार्ते दुगार्दको उपन्यास ‘जा बार्बा’ पढेर पूरा गर्दा राति ८ बजिसकेछ । शिथिल शरीर बोकेर बिस्तारै हिँडेँ । तर सकिँदैन, फर्किन्छु । विपरीत दिशाबाट आएको गाडीको हेडलाइटको प्रकाश कु्नाको सानो मन्दिरको गजुरमा परेर टल्किँदा मुटु ढक्क फुल्यो । मन्दिरभित्र पसेँ । भुइँमा अक्षता छरिएको रहेछ । जेबी रुमालमा टन्न अक्षता कुटिरो पारेँ । मनमा अर्को त्रास पस्यो– मूर्ति चोर्न आएको भनेर समाते भने । पेटीमा गुज्मुजिएर बसेका कुकुरले भुक्दै लखेटिहाल्यो । एक सासमा कोठा पुगेँ । अक्षता मिचीमिची पखालेर पनि पूरै रातो कहाँ जान्थ्यो । राता पानीका फोकाहरू उचाल्दै गुजुगुजु भात भर्सिने तर्खरमा हुँदा ध्याप्प ध्याप्प गरेर स्टोभमा मट्टीतेल खत्तम । भोको पेटले अधकल्चो भात भन्ने कुरै भएन । खाली पेटमा भात पर्दा निद्राको गहिराइमा फुपूको घर पुगेको सपना देखेँ । सपनामा फुपाज्यूले फुपूलाई हकार्दै रहेछन्, “मेरो माइती राजालाई कम्लर र कम्लरीलाई पकाएको सिम्टारोको रातो भात किन दिएको ? दारिमचौरबाट पठाएको प्राणप्युलीको भात नदिएर ।” फुपूले हाँस्दै भन्नुभयो, “काँ हजुरको भदाले त्यही रातो भात खान्छु भनेर ढिपी गर्छ, के गरुँ ।” हाँसको मासुसँग सिम्टारोको रातो भात गमागम म खाँदै गरेँ ।
अर्को दिन– ढकढक ढकढक चर्को आवाजले ज¥याकजुरुक उठेँ । घडी हेर्दा साढे नौ । “मोहन दाइ नमस्कार कताबाट ?” छक्क पर्दै मैले सोधेँ । उनले ढोका बाहिरै उभिएर भने “अँ ड्राफ्ट हराएछ हैन ? कस्सो म तुरुन्त काठमाडौँ आउने काम प¥यो । यी पाँच सय पाँच !” म बोल्न खोज्दा खोज्दै उनले टुङ्ग्याए “किताबखानामा आज मेरो लट्पट छ, पछि भेट्छु ।” मैले हातको ५०० को नोटलाई हेरिरहेँ । धेरै दिनपछि कलेज पुगेँ । कलेज सकेर बाटोमा पर्ने त्यही मन्दिर हेर्दै आएँ । सम्झेँ फिल्ड ट्रिपको रिपोर्ट पूरा गर्न त बाँकी नै छ । फिल्ड बुक पल्टाउँदै जाँदा म चकित हुँदै कराएँ, “आम्मै नि ! ड्राफ्ट त यहाँ बीचमा ।” एकछिनसम्म म स्थिर भएर ड्राफ्टलाई हेरिरहेँ । मुटु ढुकढुक भयो । ड्राफ्टलाई डायरीको बीचमा राख्दै भनेँ, “अब छुटिटम् होला ।”
त्यसपछिको डायरीका पानाहरू पढ्नै नसकिने रहेछन् । “अघिदेखि कराउँदैछु, खाना चिसो भइसक्यो ।” अप्रत्यासित रूपमा श्रीमतीलाई देख्दा म झसङ्ग भएँ । ‘ल ल !’ मैले भनेँ । आज भात थपी थपी खाएँ । उनले सचेत गराइन, “सुगरको बिरामीले यसरी दाबेर खान नहुने ।” “आ नखाएर मर्नुभन्दा खाएरै मर्नु बेस ।” झटपट कुरो सपारेँ, “आज एक दिन मात्र । भोलिदेखि कन्ट्रोल गर्छु ।” एकछिन चुपचाप अडेर मैले अन्तिम गाँसलाई हेर्दै सोधेँ, “आजकाल मन्दिरमा त्यति धेरै अक्षता चढाउन छाडे कि क्या हो ।” उनले ट्वाल्ल हेर्दै भनिन्, “जुठो मुखमा काँ अक्षता र मन्दिरको कुरा गरेको होला, हरे ।”