• ८ मंसिर २०८१, शनिबार

पवित्र धाम रुरुक्षेत्र

blog

नेपालको मध्य भूभागमा अवस्थित रुरुक्षेत्र लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा र गण्डकी प्रदेशको स्याङ्जा गरी तीन जिल्लाको सङ्गमस्थलका रूपमा रहेको छ । नेपालका चारधाम मुक्तिक्षेत्र, रुरुक्षेत्र, पशुपतिक्षेत्र र वराहक्षेत्रमध्ये एक प्रसिद्ध धामका रूपमा रुरुक्षेत्र रिडीलाई लिइन्छ ।

यो क्षेत्रमा भगवान् हृषिकेश, प्राचीन मठमन्दिर र धार्मिक, ऐतिहासिक, पौराणिक दृष्टिले समेत महत्त्वपूर्ण मानिएका स्थानहरू भएकाले विशेष महत्त्वको मानिन्छ । यहाँ तीनमुखे पुलको निर्माण भएपछि विशेष दर्शनीय र पर्यटकीय दृष्टिले झन् महत्त्व बढेको छ ।

भगवान् हृषिकेशको आश्रयमा रही देवदत्त ऋषिले कठोर तपस्या गरेका थिए । रमणीय वातावरणमा तपस्या गरिरहेका देवदत्त ऋषिको कठोर तपस्याबाट स्वर्गका राजा इन्द्र आफ्नो आसन गुम्ने खतरा देखेर डराएका थिए । त्यसैले तपस्या भङ्ग गर्न अप्सरा प्रम्लोचालाई पठाए । प्रम्लोचालाई देखेपछि देवदत्तको तपस्या भङ्ग भयो । यसबारे वराहपुराणमा भनिएको छ :

अहो भगवती माया यथाऽहं भृशमोहितः

जानङ्खपि तपोभ्रंशं प्राप्तो देवबलात्कृत ।

अर्थात् भगवती महामायाको महिमा अपरम्पार भएकाले म सम्मोहमा परेँ । मायामोहमा पर्नु हुँदैन भन्ने बुझ्दा पनि दैवको अगाडि मेरो केही लागेन । म इन्द्रियको दास बनेका कारण मेरो तपस्या भङ्ग भयो ।

यसरी ऋषि पुनः तपस्याका लागि भृगुतुङ्गमा गए । त्यहाँ तपस्या गरेर समय बिताए । पछि भगवान् शङ्करबाट वर प्राप्त गरे । भृगुतुङ्गमा अनेक शिवलिङ्ग प्रकट भए । देवदत्त ऋषिले मोक्ष प्राप्त गरे । प्रम्लोचाका गर्भबाट कन्याको जन्म भयो । तिनको पालनपोषण रुरु नामका मृगले गरेका कारण रुरुकन्या नाम रह्यो । यसबारे वराहपुराणमा भनिएको छ :

साऽपि कन्या मृगैस्तत्र रुरुभिवर्धिता सती

रुरुरित्येव विख्याता पितुरेवाश्रमे स्थिता

युवभिः प्राथ्र्यमानामि चित्ते कञ्चन नाध्यगात् ।

रुरुकन्याले चित्त एकाग्र पारेर देवदत्त ऋषिकै आश्रममा भगवान्को प्रार्थना गर्दै समय बिताइन् । उनको तपस्याबाट भगवान् हृषिकेश प्रसन्न हुनुभयो र दर्शन दिनुभयो । भगवान्ले तिम्रो तपस्याबाट म प्रसन्न भएको छु, वर माग भन्नुभयो । रुरुकन्याले भनिन्–

ददासि चेद् वरं मह्यं देवदेव जगत्पते

अनेनैव स्वरूपेण भगवान् स्थातुमर्हसि ।

अर्थात् “हे देवदेव ! मलाई अहिले जुन स्वरूपको दर्शन दिनुभएको छ, त्यही स्वरूपमा हजुर यसै पुण्यधाममा विराजमान हुनुहोस् ।”

यसरी रुरुकन्याको तपस्याबाट प्रसन्न हुनुभएका भगवान् हृषिकेशले आपूm यसै स्वरूपमा यहाँ बस्ने वचन दिनुभयो । रुरुकन्याकै इच्छाअनुसार उनकै नाममा त्यस क्षेत्रको नाम रहने र संसारभर प्रख्यात हुने वर पनि भगवान्ले दिनुभयो । यो कुरा वराहपुराणमा यसरी भनिएको छ ः

तीर्थानां परमं तीर्थ तव देहो भवत्वयम्

तव नाम्ना च विख्यातं क्षेत्रमेतद् भविष्यति ।

अर्थात् हे देवी ! तिम्रो शरीर तीर्थसमान पवित्र हुनेछ र यो रुरुक्षेत्र तिम्रै शरीर मानिनेछ । तिम्रै नामबाट संसारभर प्रसिद्ध हुनेछ ।

देवदत्त ऋषि, रुरुकन्या र रुरुक्षेत्रबारे नवराज पाण्डेय ‘चातक’ले कालीगण्डकी (२०७४) महाकाव्यमा वर्णन गर्नुभएको छ । केही श्लोक यस प्रकार छन् :

भृगुवंशज देवदत्तको

तपको लक्ष्य थियो विमुक्तिको

तर दिव्य सुराङ्गना परी

तपमा बिघ्न गरिन् यहाँ झरी । (सर्ग ८, श्लोक ६३)


हुर्कायो रुरुले दूध पिलाई स्नेह भाजन

रच्यो माया विधाताले यो ब्रह्माण्ड चलाउन । (सर्ग ९, श्लोक ९)

तथास्तु वर यो दिन्छु बस्छु यो रूपले यहीँ

रुरुक्षेत्र बनी तिम्रो नाम पैmलोस् जहाँ तहीँ । (सर्ग १०, श्लोक ४१)

यसरी देवदत्त ऋषिको तपस्या भङ्ग, प्रम्लोचाका गर्भबाट कन्याको जन्म, रुरु नामका मृगको लालनपालनबाट रुरुकन्या नाम र रुरुकन्याको तपस्याका प्रभावबाट भगवान् हृषिकेशको वरदानस्वरूप रुरुक्षेत्रको नाम रहेको प्रसिद्ध कथा पुराणहरूमा पाइन्छ ।

नेपालका चार धाममध्ये एक

रुरुक्षेत्र नेपालका चार धाममध्ये एक महत्वपूर्ण धाम हो । स्कन्दपुराण, वराहपुराणमा समेत यस धामको महिमा वर्णन गरिएको छ । सृष्टिको प्रारम्भमा भगवान् विष्णु तपस्या गरिरहेका बेला उहाँका गालाबाट निस्केर पावन कालीगण्डकीका रूपमा मुक्तिनाथबाट बहँदै रुरुक्षेत्र रिडीमा आएकी गङ्गाका जलमा प्रादुर्भाव भएका भगवान् हृषिकेशको मन्दिर र अन्य मठमन्दिरहरूले रुरुक्षेत्रलाई अत्यन्तै महिमामण्डित तुल्याएका छन् ।

कवि नवराज पाण्डेय ‘चातक’को ‘कालीगण्डकी’ महाकाव्यमा लेखिएको छ :

चल्यो नित्यपूजा व्यवस्थानुसार

बने धर्मशाला नजिकै हजार

बढ्यो मानवी चेतना धर्मतर्पm

रुरुक्षेत्रको चम्कियो झन् महत्व । (सर्ग १०, श्लोक १५)

‘थोर्गा महिमा’ (२०६९) कवितासङ्ग्रहमा कवि रमेशचन्द्र गौतमले लेखेका छन् :

गुल्मी रिडीको तटको जलैमा

बाजेबराज्यू उनको थलोमा

खोला रिडी त्यै बहने हुँदामा

काली नदी सङ्गम त्यो रिडीमा । (पृष्ठ ५१, श्लोक २)

रुरुक्षेत्रको महत्व र रुरुकन्यालाई वरदान दिने सन्दर्भमा भगवान् विष्णु हृषिकेश (इन्द्रियका मालिक÷ईश्वर)द्वारा यसो भनिएको छ ः

तामहं सुभगे देवी ! प्रावोचं पुनरेव हि

रुरुक्षेत्रमिति ख्यातं क्षेत्रमेतद् भविष्यति

तव क्षेत्र कृतस्नातस्त्रिरात्रोपोषितो नरः

विलोक्य मां भवेत् पूतो मम वाक्यान्न संशय ।

अर्थात् हे सुभगे देवी ! म तिमीलाई यो कुरा दोहो¥याएर भन्दछु, रुरुक्षेत्र एक प्रख्यात तीर्थस्थल हुनेछ । यहाँ गण्डकी स्नान गरी तीन रातसम्म उपवास बसी ह्रषिकेशको भक्तिभावले पूजा गरेमा सम्पूर्ण पापबाट मुक्त भई मोक्षलाभ गर्नेछ । रुरुक्षेत्र नेपालको मात्र नभई विश्वकै प्रख्यात धामका रूपमा रहने कुरा पनि विश्वास गर्न सकिन्छ ।

भारतको बनारससँग तुलना

रुरुक्षेत्र रिडीलाई भारतको पवित्रस्थल बनारससँग तुलना गरिएको छ । यो प्रसङ्ग विनयकुमार कसजूले श्री संस्कृत तथा साधारण माध्यमिक विद्यालय (संस्कृतप्रधान पाठशाला) शतवार्षिक महेत्सव स्मारिका (२०७६)को ‘संस्कृतप्रधान पाठशालाको सम्झना’ नामक आफ्नो लेखमा उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ– उन्नाइसौँ शताब्दीमा यहाँ आएका बेलायती यात्री पर्सिभल ल्यान्डनले रिडीको तुलना बनारससँग गर्नुभएको हो । ल्यान्डनले आफ्नो पुस्तक ‘नेपाल’को पृष्ठ १२, १४ र १५ मा रिडीको वर्णन गरेका छन् । 

क्सजूले लेख्नुभएको छ– रिडीको सबैभन्दा महत्वपूर्ण चरित्र र पक्ष यसको पवित्रता हो । अधिकांश नेपालीको पवित्र तीर्थस्थलको दृष्टिले रिडीलाई बनारसक बराबरी ठान्दछन् । बनारस धेरै टाढा छ र धनीहरू मात्रै त्यहाँ पुग्न सक्छन् । मानिसहरू वृद्ध भएपछि काशी (बनारस) गएर आफ्नो लास जलाउन र खरानी पवित्र गङ्गा नदीमा मिसाउन चाहन्छन् । रिडीमा कालीको किनारमा जलेपछि खरानी शालिकराम बन्छ भन्ने विश्वास छ । शालिकरामलाई विष्णु भगवान्को रूप मानिन्छ र कुनै सङ्कल्प गर्दा वा शपथ, किरिया खाँदा यसलाई हातमा लिने चलन छ । अन्तिम संस्कारका लागि रिडी पशुपति (आर्यघाट)जस्तै पवित्र मानिन्छ । कालीगण्डकी किनारामा लास जलाएपछि खरानी नदीमा बगाइन्छ । 

यसरी बनारससँग तुलना गरिएको रुरुक्षेत्र रिडीको महिमा जति व्यापक रूपमा प्रचारप्रसार हुनुपर्ने हो, त्यति नभएको पाइन्छ । प्राचीन धार्मिक पौराणिक ग्रन्थमा भारतका तीर्थस्थलबारे जति वर्णन छ, त्यति वर्णन नेपालका गण्डकी क्षेत्रका बारे नभएको भन्ने प्रमाण यसरी दिन सकिन्छ ः

वाराणस्यादि तीर्थानां महात्म्यं ग्रन्थविस्तरात्

कथितं मुनिभिब्र्रह्मन् ! गण्डक्या नैव तादृशम् 

लोकवेद पुराणेषु प्रसिद्धाः गण्डकी सदा

शालग्राम प्रभावेण प्राप्या सर्वत्र सर्वदा ।

यस सन्दर्भमा परशुराम नेपालको ‘रुरुधामको सम्झना’ कवितांश उल्लेखनीय छ :

मुक्तिनाथ भई स्रोत बगेकी कृष्णगण्डकी

यति रम्य धराधाम अन्यत्र के कतै छ कि ?

गर्भमा सुन बोकेका विष्णुको चक्र साथमा

शालिग्राम पुजे पूजा हुन्छ रे विष्णु गाथमा । 

रुरुक्षेत्र नेपालको मात्र नभएर विश्वकै पवित्र धाम हो । यो धार्मिक, सांस्कृतिक, पौराणिक र पर्यटकीय दृष्टिले अत्युच्च महŒव बोकेको क्षेत्र हो । यहाँ भगवती मन्दिर, भीमसेन मन्दिर, लक्ष्मीनारायण मन्दिर, मणि मुकुन्देश्वर मन्दिर, विष्णु मन्दिर, शिवालय र विविध मन्दिरहरू छन् । गलपूmल गुफा, देवदत्त पार्क यहाँका पर्यटकीय क्षेत्र हुन् । हृषिकेश र रुरुकन्याका मन्दिर त मुख्य नै भए । तीनमुखे झोलुङ्गे पुलको वर्णन शब्दमा गर्न सकिँदैन । एकपल्ट रुरुक्षेत्र पुगौँ । पुण्यलाभ र पर्यटकीय लाभ प्राप्त गरौँ ।