• १३ असोज २०८१, आइतबार

नयाँ वर्षको अवसरमा पदमार्ग सरसफाइ

blog

नर्सरी-सुकेटार पदमार्ग सरसफाइ गर्दै स्थानीय।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ३० गते। ताप्लेजुङ सदरमुकाम फुङ्लिङबजार नजिक रहेको नर्सरी–सुकेटार पदमार्गको सरसफाइ गरिएको छ। पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको उक्त पदमार्गको नयाँ वर्षको अवसर पारेर बिहीबार सरसफाइ गरिएको हो। 

जिल्लामा क्रियाशील सामाजिक अभियान्तासहित स्थानीय बासिन्दाले नर्सरी–सुकेटार पदमार्गको स्वतस्फूर्त रुपमा सरसफाइ गरेका हुन्। सरसफाइ कार्यमा स्थानीय युवा, विद्यार्थी, सञ्चारकर्मी समेतको सहभागिता रहेको थियो। फुङ्लिङ बजारको तोक्मेडाँडा नर्सरीदेखि सुकेटार क्षेत्रको सेतीचौतारा नजिक सम्मको पदमार्ग सरसफाइ गरिएको छ। 

हरियाली वनसँगै निक्कै सुन्दर तथा रमणीय ठाउँमा रहेको पदमार्गको सरसफाइपछि थप सुन्दरता बढेको अनुभूति गरिएको सामाजिक अभियान्ता खड्गविक्रम सुवेदीले बताउनुभयो। सामाजिक सञ्जालमार्फत गरिएको सूचनाका आधारमा जुटेर पदमार्गको सरसफाइ गरिएको स्थानीय सञ्चारकर्मी देवराज गुरुङले बताउनुभयो। गुरुङका अनुसार पदमार्ग सरसफाइ कार्यमा छिनभरमै ठूलै सङ्ख्यामा युवा, विद्यार्थी र स्थानीय जुटेका थिए। 

अधिकांश पदमार्ग जङ्गलभित्र पर्ने भएकाले पात पतिङ्गर र अन्य कागज तथा प्लास्टिकजन्य फोहरमैला बढ्दै गएको पाइएपछि सरसफाइको योजना बनाएर सामाजिक सञ्जालमा सूचना सार्वजनिक गरेको गुरुङको भनाइ छ। सरसफाइपछि नर्सरी–सुकेटार पदमार्ग थप चिटिक्क, सुन्दर र पदयात्रीलाई आकर्षण गर्ने खालेको भएको पनि उहाँले बताउनुभयो।

सदरमुकाम बजारसँग जोडिएको नजिकको पदमार्ग भएकाले दिनहुँजसो युवा तरुनी–तन्नेरीसहित आन्तरिक पर्यटक घुमघाम गरिरहने गरेको पाइएको छ। यस्तै जिल्ला बाहिरबाट ताप्लेजुङ भित्रने पाहुना तथा कुनैबेला विदेशी पर्यटकसमेत यस पदमार्गमा पदयात्रा गर्नुका साथै घुमघाम गर्ने गर्दछन्। हरेक दिन यहाँको सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारीदेखि बजारवासी अधिकांसले मर्निङ वाक (बिहानी हिडाइ) गर्दा यसै पदमार्गको प्रयोग गर्ने गरेका छन्।

यता यो ठाउँ प्राकृतिक रुपमा पनि हरियाली, सुन्दर र रमणीय भएसँगै पदमार्गमा पक्की सिँडी, छेउछेउमा फलामे रेलिङ लगाइएकाले पदयात्रा गर्न सहज पनि रहेको छ। विगत २०६३ सालमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका वातावरणविद्, संरक्षकर्मी, विशिष्ट व्यक्तित्वसहित २४ जनाको सालिक यसै ठाउँमा भएकाले स्थानीयबाहेक बाहिरबाट आउनेहरु यहाँ पुग्ने गरेका छन्। 

त्यस्तै पर्यटक आकर्षित गर्न लिम्बू समुदायको सांस्कृति चिनारी सिलाम साक्माको स्तम्भ निर्माण, याक्थुङ लिपिकार इतिहास पुरुष सिरिजङ्गासिंह थेबेको सालिकजस्ता संरचना निर्माणले पनि आन्तरिक पर्यटक आकर्षित हुँदै गएका छन्। पदमार्गको ठाउँठाउँमा विश्रामस्थल, सेल्फी तथा दृश्यावलोकन स्थल आदि संरचनाले पनि पर्यटक र घुमघाम गर्ने आकर्षित हुने गरेका छन्। उता स्वस्फूर्त पदमार्ग सरसफाइमा जुट्नेलाई फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले आफ्नो सामाजिक सञ्जालमार्फत धन्यवाद दिनुभएको छ।