नेपिड, चैत ३० गते । म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकको मध्य सागिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा मङ्गलबार गरेको हवाई हमलामा महिला र बालबालिकासहित एक सय ३३ जनाको मृत्यु भएको छ ।
आक्रमणमा २० जना बालबालिकाले ज्यान गुमाएका तथा ५० जनाभन्दा बढी घाइते भएका अपदस्थ राष्ट्रिय एकता सरकारका मानवअधिकारमन्त्री आङ म्यो मिनलाई उद्धृत गर्दै अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ ।
दुई वर्षअघि सैन्य शक्तिबाट देशको शासन सत्ता कब्जा गरेको सेनाले पहिलो पटक यति घातक एवम् भीषण आक्रमण गरेको हो । अहिले आक्रमणस्थलको आकाश वरपर सैनिक विमान उडिरहेका भए पनि हमला भने गरिएको छैन तर चिकित्साकर्मीलाई उक्त स्थलमा जान दिइएको छैन ।
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले कैयौँ स्कुले बालबालिकाले ज्यान गुमाएको घातक हवाई हमलाबाट आफू आहत भएको बताउँदै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन आह्वान गर्नुभएको छ ।
सैनिक सरकारको विरोधमा उत्रिएकाहरूसँग हातहतियारसमेत भएकाले उनीहरूका साथै नागरिकलाई पनि लक्ष्य गरेर सेनाले हवाई आक्रमणको रणनीतिलाई व्यापक बनाएको थियो । आन्दोलन दबाउन सेनाले अन्धाधुन्ध आक्रमण गर्दै आएको छ ।
सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएको तत्कालीन बर्माको सैनिकले सोही समयदेखि क्षेत्रीय नियन्त्रणका लागि सशस्त्र जातीय समूहविरुद्ध कारबाही जारी राखेको छ । निर्मम आक्रमणका लागि परिचित म्यान्माली सैनिकको छवि इतिहासदेखि नै धुमिल छ । रासस/एएनआई