नेपालमा विभिन्न खालको रोग बढ्दै गइरहेको यथार्थ हामीसँग ज्वलन्त छ । अव्यवस्थित सहरीकरण, स्वास्थ्य सावधानीमा कमी तथा मौसम परिवर्तनका कारण डेङ्गु, औलो, कालाजार, हात्तीपाइलेलगायतका कीटजन्य रोग दिन प्रतिदिन बढ्दै र प्रकोपको रूप लिदैँछ । जनस्वास्थ्यका दृष्टिले रोगको उपचारभन्दा नियन्त्रण महìवपूर्ण रहन्छ, जसका लागि लामखुट्टेको बासस्थान, जीवनचक्र, सार्ने कीटाणुका प्रकार, स्वरूप आदिका बारेमा गहन अनुसन्धान हुनुपर्छ । यसैका लागि स्थापना भएको कीटजन्य रोग अनुसन्धान केन्द्र त्यति प्रभावकारी रूपमा अघि बढेको देखिँदैन । सीमित रूपमा औलो नियन्त्रण, हात्तीपाइले अभियानमा यसको संलग्नता देखिए पनि नेपालमा प्रकोप फैलिएपछि मात्र उपचार, निदान र कुरा उठ्ने नेपाली परम्परा छ । नियमित हुनुपर्ने अध्ययन अनुसन्धान, प्रकोपको पूर्वानुमान, अनुकूलन उपचार पद्धतिहरू निर्माण गर्न उपेक्षित र प्रशासनिक चपेटाका कारण कम जनशक्ति, दक्ष जनशक्तिको अभाव, न्यून अध्ययन अनुसन्धानका भरमा चलिरहेको देखिन्छ ।
खतरनाक सङ्क्रमण
लामखुट्टेको टोकाइबाट ब्याक्टेरिया, भाइरस र परजीवीद्वारा लाग्ने छ खतरनाक रोग पर्छन् । सङ्क्रमित एनोफिलिज लामखुट्टेको टोकाइले प्लाज्मोडियम परजीवीबाट लाग्ने औलो, एडिज एजिप्टाई र केही हदसम्म अल्बोपिक्टस लामखुट्टेको टोकाइबाट डेङ्गु ज्वरो, एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट जिका फिवर, एडिज एजिप्टाई र अल्बोपिक्टस लामखुट्टेको टोकाइबाट चिकनगुनिया, लामखुट्टेको टोकाइबाट वुचेरीया ब्यान्क्राफ्टी, ब्रुइयामलयी, बु्रइयाटिमोरी जस्ता परजीवीले लिम्फेटिक फिलिरियासिस र लामखुट्टेको टोकाइबाट जापनीज इन्सेफलाइटिस पर्छन् । संसारभर लामखुट्टेको टोकाइबाट हरेक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ, जसको अधिकांश हिस्सा औलोले लिने गरेको छ ।
डेङ्गु
बर्खा सुरु भएपछि मात्र प्रकोप बढ्ने डेङ्गु यसवर्ष माघदेखि नै प्रकोप तथा महामारीको रूपमा काठमाडौँलगायतका जिल्लामा फैलिई हजारौँ सङ्क्रमित भइसकेका छन् । विगतका वर्षमा उपचारका लागि रगतको अभाव र १९ जनाको मृत्यु भएको थियो तर यसवर्ष मृत्यु नै भएको तथ्याङ्क भने रेकर्डमा छैन । विगतमा जेठको दोस्रो सातादेखि फैलिई धरानमा नियन्त्रणबाहिरका रूपमा डेङ्गुले महामारीकै रूप लिएको हाम्रो मानसपटलमा ताजै छ । सफा पानीमा पाइने पोथी एडिस एजिप्टीले दिउँसो मात्र टोक्दा हुने डेङ्गु सङ्क्रमण टाइप एकबाट दुईमा जाने, मृत्यु कम हुने क्लासिकबाट बढी मृत्यु हुने हेमोरेजिक र शक डेङ्गुमा जान सक्ने, केही स्थानका अस्पताल र मेडिकल कलेजमा मात्र उपलब्ध भेन्टिलेटर, जनचेतनामा कमी, रक्तसञ्चार सेवा तथा रगतको अभाव तथा निष्क्रियता आदिले सङ्क्रमणले महामारी लिनसक्ने र धेरै धनजनको क्षति हुने आशङ्का छ । लामखुट्टेको टोकाइबाट सर्ने चिकनगुनियाका अधिकांश लक्षण डेङ्गुसंँग मिल्ने यसमा अत्यधिक मांशपेसी,जोर्नी दुखाई, उच्च ज्वरो आउँछ । वाक्वाकी, बिमिरा, आँखा रातो वा सुनिन्छ । जटिल नभए पनि दुखाई अत्यधिक हुन्छ ।
औलो
औलो उन्मूलन भइसकेको घोषणा गरिएको भनिए पनि नेपाल सरकार इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण केन्द्रका अनुसार नेपालका ६५ वटा जिल्ला (५२ वटा सामान्य समस्याग्रस्त र १३ अति नै प्रभावित) र ७५ प्रतिशतभन्दा बढी जनता अझै पनि औलोको जोखिममा छन् । लामखुट्टेको टोकाइबाट हुने औलो सङ्क्रमित एनोफिल्स जातिको पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा हुन्छ । यसमा कामज्वरो अर्थात् ज्वरो दिन बिराई वा नियमित आउँदा जाडो हुने, कम्प छुट्ने र पसिना आउने गर्छ । टाउको दुख्ने, वाक्वाकी लाग्ने, वान्ता हुने साथै फियो बढ्न सक्छ । त्यस्तै रक्तअल्पता, बेहोस र समयमा उपचार नपाए मृत्यु हुन सक्छ ।
जापनिज इन्सेफलाइटिस क्युलेक्स लामखुट्टेको टोकाइबाट सर्ने फलाभो भाइरस सङ्क्रमण हो । ज्वरो, टाउको दुख्ने, वान्ता हुने, कम्पन महसुस, बच्चामा छारेरोग जस्तो, कोमा, मस्तिष्क सुन्निने, सिजर, कडा ज्वरो, भ्रमजस्तो अनुभव तथा केहीमा मृत्यु गराउनसक्ने सङ्क्रमण इन्सेफ्लाइटिस हो । खोपको उपलब्धता र सचेतनाको वृद्धिले हाल सङ्क्रमण, जटिलता र मृत्यु नगन्य भएको छ ।
जिका भाइरस
दुईदेखि सात हप्तासम्म रहने लक्षणमा हल्का ज्वरो, टाउको दुख्ने, मांशपेसी र जोर्नीमा डाबर, आँखा रातो हुन्छ । उच्च जोखिममा गर्भवती महिला रहन्छन् । सङ्क्रमितबाट जन्मिने शिशुमा रगत आदानप्रदान, यौनसम्पर्क तथा अङ्ग प्रत्यारोपणबाट सर्छ । सङ्क्रमित गर्भवतीबाट जन्मिने सन्तानमा असामान्य रूपले टाउको सानो हुने– माइक्रोसेफाली, नसासम्बन्धी समस्या–गिलानबारे सिन्ड्रोम गराउन सक्छ । त्यस्तै विश्वमा कालाजारबाट बढी प्रभावित मुलुकमध्ये नेपाल एक हो । हाल नेपालमा प्रति १० हजार मानिसमा तीनदेखि चार जना मानिस कालाजारबाट प्रभावित भएको अनुमान छ । नेपालका खासगरी भारतसंँग सीमाना जोडिएका १२ वटा जिल्ला कालाजारबाट प्रभावित भएको पाइएको छ । हिमाली तथा उच्च पहाडी भूभागका जिल्लाबाहेक तराई र पहाडका ६० जिल्लाका दुई करोडभन्दा बढी हात्तीपाइलेकोे जोखिममा छन् ।
त्यसो त महामारी देखाउने औलो, डेङ्गु, इन्सेफलाइटिस, फिलिरिया र कालाजार लामखुट्टेको टोकाइबाट मात्र सर्छ । रोकथामका उपाय भन्ना साथ लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नुपर्छ । जीवनचक्र पूरा हुन नदिन लामखुट्टेको टोकाइबाट मानिस पनि जोगिने गर्नुपर्छ । कुनै पनि किसिमको पानी जम्ने ठाउँ, प्राकृतिक, अप्राकृतिक भाँडाहरूलाई बग्ने बनाउने, पुर्ने, सुकाउने, गाड्ने वा जलाउने गनुपर्छ । गर्मीयाममा विशेष गरी तराई र गर्मी ठाउँमा मच्छडको टोकाइबाट बच्न हम्मे हम्मे पर्छ । टोकाइले एलर्जी त बनाउँछ नै कैयौँ रोगसमेत लाग्छ । बच्नका लागि प्रयोग गरिने मच्छडधुप भने हानिकारक सिद्ध भइसकेको छ ।
रोकथाम
लामखुट्टेको टोकाइबाट बच्न घरको झ्यालढोकामा मसिनो जालीको प्रयोग गर्ने, सुत्दा कीटनाशक झुलको प्रयोग गर्ने, पङ्खा, एयर कुलर, एयर कन्डीसन प्रयोग गर्ने गर्नुपर्छ । जाली र झुलको व्यवस्था हुन नसक्ने ठाउँमा लामखुट्टे भगाउने धुप, झोलको प्रयोग गर्ने, घर बाहिर जाँदा शरीरको खुला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने वा तोरीको तेल, निमको तेल वा लामखुट्टे रिपेलेन्ट दलेर बस्ने र सुत्ने र प्रभावित क्षेत्रमा जाँदा वा बस्दा पूरै शरीर ढाकिने गरी पूरा लामो बाहुला भएको सेतो हलुका रङ्गको कमिज र पैन्ट लगाउनु पर्छ ।
लामखुट्टेको नाश गर्न आ–आफ्नो घर गोठमा कीटनाशक औषधि छर्कन लगाउने, औषधि छर्केको तीनदेखि छ महिनामासम्म लामखुट्टे मर्ने भएकोले कीटनाशक छर्केको भित्तामा कम्तीमा तीन महिनासम्म लिपपोत नगर्ने, कीटनाशकयुक्त झुलको प्रयोग गर्ने, पानी सोस्ने रुखहरू जामुन, सिमल, मसला रोप्ने तथा घर वरिपरि, सडक वरिपरिका खाल्डाखुल्डी पुर्ने, पोखरी, इनार र कुलोको वरिपरिको घाँसपात सफा गर्ने, मट्टितेल, डिजल, डिडिटी मालाथियन, क्लोडिन, डेल्ड्रिन छर्कने, जमेको पानी बगाइदिने गर्नुपर्छ ।
लामखुट्टेको बच्चा विनाश गर्न लामखुट्टेले विशेष गरी जमेको पानीमा फुल पार्ने र प्रजनन गर्ने भएकोले त्यस्ता खाल्डा तुरुन्त पुरिदिएमा वा सात दिनभित्र सुकाउने, जमेको पानीलाई बगाइदिने गर्दा फुल र लार्भाहरू मर्छन् । गाउँका पोखरी, दह, तलाउ, नाला र खाल्डामा लामखुट्टेको लार्भा खाने माछा पाल्ने, घर वरिपरि जमेको पानीमा मट्टितेल, डिजल, डिडिटी छर्कने, जामुन, सिमल, मसलाजस्ता पानी सोस्ने रुखहरू पानी जम्ने ठाउँमा रोप्ने गर्दा पनि बच्न सकिन्छ । कुनै पनि प्राकृतिक तथा अप्राकृतिक भाँडामा पानी जम्न दिनु हुँदैन ।
जनचेतनामा अभिवृद्धि
रोगलाई प्राविधिक, आर्थिक, सामाजिक र राजनीतिक रूपमा सम्बोधन गरिनुपर्छ । रोगका बारेमा आमजनसमुदाय तथा सरोकारवालालाई उक्त रोगको विविध पक्षबारे जानकारी दिनुपर्छ । सङ्क्रमित व्यक्तिको रगत अन्य व्यक्तिमा प्रत्यारोपण गर्नुहुँदैन । सञ्चारमाध्यम तथा स्थानीयस्तरका स्वास्थ्यकर्मीहरूद्वारा रोगसम्बन्धी जनचेतना फैलाउन जरुरी हुन्छ । रोगको शङ्का लागे जतिसक्दो चाडो चिकित्सकलाई देखाउनु पर्छ । लामखुट्टेजन्य रोगहरूबाट जोगिन, धनजनको क्षति न्यूनीकरण गर्न लामखुट्टेको टोकाइबाट बच्नै पर्छ र लामखुट्टेको बासस्थान निर्मूल गरी सङ्क्रमित लामखुट्टे निर्मूल गर्नुपर्छ । घर वरिपरि सफा र स्वच्छ राख्न तथा पानी जम्ने भाँडाकुडा, खाल्टाखुल्टी नराखी स्वास्थ्य सर्तकता र सजगतामा हरपल हरसमय कटिबद्ध रहन जरुरी छ ।
लेखक नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपसभापति हुनुहुन्छ ।