• १३ साउन २०८१, आइतबार

लघुबिमा निर्देशन जारी

blog

काठमाडौँ, चैत २८ गते । नेपाल बिमा प्राधिकरणले लघुजीवन बिमा र निर्जीवन बिमा गर्न चाहनेलाई सीमा छुट्याएको छ । प्राधिकरणले सोमबार जारी गरेको ‘लघुबिमा निर्देशन–२०७९’अनुसार लघुनिर्जीवन बिमातर्फ ५० लाख रुपियाँसम्म र लघुजीवन बिमातर्फ पाँच लाख रुपियाँभन्दा कम बिमाङ्क रकमको मात्रै बिमालेख जारी गर्न पाउने व्यवस्था गरिएको हो ।

जारी निर्देशिकाअनुसार लघुजीवन र निर्जीवनले विभिन्न प्रकारका बिमा व्यवसाय गर्न पाउने भएका छन् । तीमध्ये लघुजीवन बिमा व्यवसायअन्तर्गत कम्पनीले चार प्रकारका अर्थात् आजीवन लघुजीवन बिमा, सावधिक लघुजीवन बिमा, म्यादी लघुजीवन बिमा र अन्य लघुजीवन बिमा व्यवसाय गर्न पाउनेछन् । लघु निर्जीवन बिमा गर्ने कम्पनीले पनि विभिन्न पाँच प्रकारका बिमा व्यवसाय गराउन पाउने व्यवस्था गरिएको छ । यसमा घर, सम्पत्ति तथा व्यवसाय लघुबिमा, मोटर लघुबिमा, इन्जिनियरिङ लघुबिमा, दायित्व तथा मौद्रिक क्षति लघुबिमा र अन्य लघु निर्जीवन बिमा रहेका छन् ।

बीमित र कम्पनीबीच द्विपक्षीय करार भएपछि मात्रै बिमा गरेको मानिने व्यवस्था गरिएको निर्देशिकाअनुसार जीवन र निर्जीवन लघुबिमालेखको अवधि छुट्टाछुट्टै छ । जीवन बिमालेखको हकमा एक वर्ष वा सोभन्दा बढी अवधि र निर्जीवन लघुबिमालेख एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्र जारी गर्न सकिनेछ । साथै उक्त बिमालेख जारी गर्दा जारी भएको समय, जोखिम सुरु भएको मिति र समयसमेत कम्पनीहरूले खुलाउनुपर्ने व्यवस्था निर्देशिकामा छ ।

कम्पनीले बीमितले दिएको दाबीको तत्काल छानबिन गरी तत्काल भुक्तानीको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था निर्देशिकामा रहेको छ । बीमितले आवश्यक कागजात बुझाएको २१ दिनभित्र कम्पनीले दायित्व यकिन गरी भुक्तानी गर्नुपर्ने व्यवस्था छ । दाबी भुक्तानी गर्न नपरेमा स्पष्ट आधार र कारण भने खुलाउनुपर्ने प्राधिकरणले जनाएको छ ।