• १३ असोज २०८१, आइतबार

जोगीको पुर्ख्यौली पेसा सङ्कटमा

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, चैत २८ गते । युवा पुस्तामा ‘फेरी’ लगाउने परम्परागत कामप्रति आकर्षण नभएपछि जोगीहरूको पुर्ख्यौली पेसा सङ्कटमा पर्दै गएको छ। कात्तिक र चैत महिनामा फेरी लगाएर वर्षभरि खान पुग्ने अन्नको जोहो गर्ने जोगीलाई अचेल चैत र कात्तिक आएको गएको थाहा हुन छोडेको छ। 

नयाँ पुस्ताले जोगीलाई माग्ने भिखारीका रूपमा हेर्न थालेपछि जोगी समुदायका युवासमेत वैकल्पिक पेसाको खोजी गर्न थालेका छन्। आफूलाई पृथ्वीनारायण शाहका गुरु गोरखनाथका सन्तान भएको दाबी गर्ने जोगीहरू द्वन्द्वको १० वर्ष र त्यसपछि नेपालमा भएको राजनीतिक परिवर्तनले आफ्नो परम्परागत पेसालाई असर गरेको बताउँछन्। मोरङको कानेपोखरी–७ का दुर्गालाल जोगीले भन्नुभयो, ‘फेरी’ राति लगाउने चलन छ। द्वन्द्व कालमा राति हिँड्न बन्द भयो। “१० वर्षको बीचमा हुर्किएको एउटा पुस्ता के हो ‘फेरी’ भन्ने अवस्थामा पुग्यो। त्यसपछि बहुधार्मिक व्यवस्था आयो। त्यसले गर्दा राति धेरैजसो घरले ‘फेरी’ नलगाउनू भन्न थाले।” 

सम्मान र प्रतिष्ठा गुम्ने मात्र होइन, पुख्र्यौली पेसाबाट घर खर्च टर्न छोडेको बताउनुहुन्छ तेह्रथुमको फेदाप–२, जौबारीका मोहनबहादुर जोगी। मोहनबहादुर हरेक वर्ष तराई झरेर ‘फेरी’ लगाउनुहुन्छ। एक महिनासम्म डेरा बसेर ‘फेरी’ लगाउने मोहनबहादुर भन्नुहुन्छ, “जसले जोगीको मन्त्र र फुकफाकमा विश्वास गर्छन्, उनीहरूले राम्रो सत्कार गर्छन्। समाजमा सबैखाले मानिस छन्,” सम्मान र अपमान दुवै खेप्नुपरेको उहाँले बताउनुभयो। मोहनले राति २ बजे पछाडि ‘फेरी’ लगाउन हिँड्ने र बिहान ७ बजेबाट सिधा उठाउन हिँड्ने गरेको सुनाउनुभयो।   

जोगी जातिका हरेक पुरुष सदस्यहरूले जीवनमा अनिवार्य रूपमा एक पटक ‘फेरी’ फुकेर 

हिँड्नुपर्ने परम्परागत मान्यता छ । त्यसैले जतिसुकै पढे पनि उनीहरू एक पटक ‘फेरी’ लगाउन हिँड्ने गरेका छन्। पछिल्लो समय नेपालमा भन्दा भारतका सिक्किम, दार्जिलिङ र कालिङ्पोङ जस्ता नेपाली भाषी सहरमा ‘फेरी’ लगाउन जानेको सङ्ख्या बढ्दै गएको छ। 

सङ्खुवासभाको सिद्धपोखरीबाट बसाइ सरेर मोरङको कानेपोखरी–७  आएका ५३ घर जोगी परिवारका अधिकांश पाका व्यक्ति ‘फेरी’ लगाउन भारततिर जाने गरेको दुर्योधन जोगीले बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो पुख्र्यौली पेसा नै ‘फेरी’ लगाउने हो। आफ्नो गाउँमा खासै राम्रो दृष्टिले हेरिदैँन। त्यसैले छिमेकी गाउँ र भारततिर जाने गरेको दुर्गालालले सुनाउनुभयो।

जोगीहरू खेती गर्नु अघि र खेतीपछि कात्तिक र चैत महिनामा भूमिको पूजा गर्ने गर्छन्। हरेक वर्षको चण्डीपूर्णिमाको भोलिपल्ट बिहान घर नजिकैको दोबाटोमा कुल पूजाको सामग्री बिसर्जन गर्ने बेला वर्र्षभरि रोगव्याधि हैजा नआओस् भनेर भूमिको पूजा गर्ने गर्छन्। मौलिक संस्कृति÷परम्पराका रूपमा हरेक वर्र्ष कात्तिक र चैत महिनामा टाढा–टाढासम्म ‘फेरी’ फुक्नका लागि हिँड्ने यो जाति नेपालमा चलेको द्वन्द्वको मारमा परेको थियो। राति मात्र फेरी (वराँठको सिंह) फुक्ने जोगीहरू हरेक घरमा पुगी चारवटा सुरमा र मूल ढोकामा उभिएर ‘फेरी’ फुक्ने गर्दछन् । फेरी फुक्दा कसैसँग बोल्नु हुँदैन। वर्र्षको दुई पटक ‘फेरी’ फुक्नाले घरमा भुतप्रेत नलाग्ने परिवारका सदस्यलाई रोगव्याध नलाग्ने र दशाहरू टरेर जाने अनि घरमा सहले बास हुने धार्मिक विश्वास छ। 

विगतमा अन्य समुदायले झारफुक गर्न समेत लगाउने गरेकोले जोगीलाई कात्तिक र चैतमा भ्याइनभ्याई  हुने गथ्र्यो। ६१ वर्षीय बुद्धिनाथ जोगी पहिले कात्तिक र चैतमा उठाएको भिक्षा (सिदा)ले वर्षभरि खान पुग्थ्यो। भिक्षामा चामल, तेल, नून, बेसार र दाल दिने चलन थियो। 

अहिले कतिपयले ५÷१० रुपियाँ घरको टाँडबाटै फलिदिन्छन् । उसबेला गाउँ पातलो भए पनि सामाजिक सम्मान पाइन्थ्यो, अहिले गाउँ बाक्लो छ तर समाजमा धेरै धर्मका मान्छेहरू भएकोले अपमानित हुने गरेको उहाँको भोगाइ छ। उहाँले सिकर्मी काम सिकेपछि ‘फेरी’ बजाएर हिँड्न छोडेको बताउनुभयो।