• १० पुस २०८१, बुधबार

सालनालसहित फेला परेको मृत शिशुको सनाखत हुन सकेन

blog

राजु लामिछाने 

रुकुम पश्चिम, चैत २७ गते । रुकुम पश्चिममा सालनाल सहित मृत अवस्थामा फेला परेको एक शिशुको सनाखत हुन सकेको छैन । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ११ चौरस्थित ठुलोभेरी किनारमा चैत २२ गते मृत अवस्थामा फेला परेको शिशुको सनाखत हुन नसकेको हो ।

इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक बिक्रम सुवेदीका अनुसार पाँच दिन पहिले समयावधि नपुगेको अन्दाजी ७/८ महिनाको पुरुष जातको शिशुको शव वेवारिसे अवस्थामा फेला परेको थियो ।

प्रहरी निरीक्षक सुवेदीले मृतक शिशुको घटनास्थल शवजाँच प्रकृति मुचुल्का सहितको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरेर पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेको शवगृहमा राखिएको बताउनुभयो । 

उहाँले मृतक शिशुको आफन्त फेला नपरेकोले सनाखत हुन नसकेको बताउनुभयो । घटनाको अनुसन्धान भैरहेको बताईएको छ ।