सिराज खान
नेपालगन्ज, पुस ५ गते । जिल्ला प्रहरी कार्यालय बाँकेमा एक महिनाको अवधीमा १७१ वटा मुद्दा दर्ता भएको छ । प्रहरीले मङ्सिर महिनामा चालु मुद्दामा १३९ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार, गत मङ्सिर महिनामा जघन्य अपराधका १० र गम्भीर अपराधका ५६ वटा घटना भएको छ भने सामान्य अपराधका ४६ वटा मुद्दा प्रहरीमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सो अवधीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित साथ वटा घटनामा आठ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीका अनुसार, गत मङ्सिर महिनामा बाँकेमा आर्थिक अपराधका ४१ वटा घटना दर्ता भएका छन् । सोही प्रकारले मङ्सिर महिनामा हराएका ४७ जनाको खोजतलासका लागि निवेदन परेको थियो । जसमध्ये ४० महिला र सात जना पुरुष रहेका थिए । उनिहरु मध्ये २७ जना मात्र फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा मङ्सिर महिनामा मात्रै ४१२ वटा उजुरी परेका छन् । बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक पातलीका अनुसार, परेका उजुरीमध्ये २२३ मङ्सिर महिनाभित्रै फर्छ्यौट गरिएको छ भने तीन वटा उजुरी निकायमा पठाइएको छ । महिनाको अन्त्यसम्म परेका उजुरी मध्ये १८६ वटा फर्छ्यौट हुन बाँकी रहेका थिए ।
बाँकेमा मङ्सिर महिनामा मात्रै सय बढी सवारीसाधन दुर्घटनामा परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत महिना १०१ वटा सवारी दुर्घटना भएको थिए । ती दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने १४२ जना घाइते भएका थिए ।
प्रहरीले तीव्र गतिले ६६, चालकको लापरबाहीले २८, यान्त्रिक कारणले एक र यात्रुको मापसेका कारणले पाँच वटा दुर्घटना भएको जानकारी दिएको छ ।