• ९ मंसिर २०८१, आइतबार

उपनिर्वाचनको सरगर्मी

blog

‘मैले तपाईंलाई गएको निर्वाचनमा चैँ मतदान गरेको हुँ ।’

–माओ 

बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचनको उपक्रम चलिरहेको छ । यस उपनिर्वाचनले राष्ट्रिय तहको चर्चा पाएको छ । राष्ट्रपति, उपराष्ट्रपति, उपप्रधानमन्त्री तथा गृहमन्त्रीको भूगोलमा हुन लागेको निर्वाचन भएकाले यसको चर्चाको आयतन तन्केर भारतको उत्तर प्रदेश, बिहारसम्म पुगेको आमजनता पार्टीका अध्यक्ष प्रभु साहले शुक्रबार धनुषाको एउटा कार्यक्रममा भन्नुभयो । उहाँको भनाइ बारा–२ को उपनिर्वाचनसँग तालुक राख्छ । नेपाली मूलका जनता निर्वाचनप्रति खास चासो राखिरहेका छैनन्, भारतीय सहरका जनता उत्सुकतापूर्वक हेरिरहेकाले सचेत रहन साहले गर्नुभएको सङ्केत कतै सीमामा मतको दुरुपयोग पो हुन्छ कि भन्ने नै होला । उहाँले गर्नुभएको सङ्केतले अघिल्लो निर्वाचनमा चौथो स्थान हासिल गरेको उहाँको पार्टीका लागि कस्तो होला, नतिजा कुरौँ तर उपनिर्वाचनको रौनक चितवन र तनहुँमा भन्दा बारामा बढी नै छ । 

चीनजस्तो कट्टर कम्युनिस्ट र बुद्धमार्गीको देशमा समेत स्वयं माओले मतदान अघिल्लो निर्वाचनमा सीमित हुने तर्क गरेका बेला हामीकहाँ भने पुरानै उम्मेदवार दोहो¥याएर फेरि वाणीको वायु छाडिरहेका छन् । वाणीको वेगले मात्रै जनताको मस्तिष्क चेत फेरेर यो पटकको निर्वाचनमा आफ्ना पक्षमा मत आउँछ कि भनेर भगीरथ प्रयासमा देखिन्छन् दलहरू । उनीहरूले पार्टीको एजेन्डा, मधेशका मुद्दा, जनताको चिन्ता, राष्ट्रिय समस्या, गठबन्धनको औचित्यतालाई जनतामा लैजान सकेका छैनन् । गठबन्धनविरुद्ध बोल्नु, वाणी बर्साउनु अनि सामाजिक सञ्जालमा एकले अर्कालाई मोसो दल्नुमा कार्यकर्ता फौजीझैँ अनुशासित र लामबद्ध देखिन्छन् । नेताहरू 

‘उक्साहट’को रसायन थपेर कार्यकर्तालाई अरू तेजवान बनाइरहका छन् । जबकि वैशाख १० गतेपछि पनि सबै त्यहीँ बस्ने हो, देश छाडेर हिँड्ने होइन, राजनीति त्याग्ने पनि होइन । 

बारामा गठबन्धनविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले प्रहारमा लाग्ने नै भयो । अध्यक्ष केपी शर्मा ओली स्वयं बारा, पर्सा पुगेर उपेन्द्र यादवका विपक्षमा बोलिसक्नु भयो । उहाँले मधेशको विकास एमालेले गरेको, अप्ठेरोमा यादवलाई बोकेर साथ दिइएको र अहिले यादवले धोका दिएको सुनाउनु भयो । यसको सीधा अर्थ थियो, ‘उहाँको आउजाउलगत्तै मधेश सरकारमा एमालेको हिस्सा समापन ।’ ओलीले नै विगतमा मधेशविरुद्ध प्रहार गर्नुभएका कैयौँ बोलीले मधेशमा एमालेको ह्रासक्रमलाई न्यूनीकरणमा थोरै भए पनि मलजल हुने गरी बनाइएको ‘मिलेमतो प्रदेश सरकार’ उपेन्द्रको पुरानै गठबन्धन यात्राले गर्लम्म ढलेपछि प्रमुख प्रतिपक्षीले सत्तापक्षविरुद्ध गर्ने प्रहारमै एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले पनि कटाक्ष गर्नुभयो, “यो बारा हो, यो भूगोललाई सप्तरीमा मिलाउन दिनुहुँदैन, बरु एउटा सानो छातालाई बाराको हावा लगाइदिउँ, उडाएर सप्तरीतिरै पुगोस् ।” यो राजनीतिक कटाक्षपूर्ण वातावरणमै बाराको उपनिर्वाचनका उहापोहहरू छताछुल्ल छन् । जनता ताली र गालीको भाइरल बजारमा रणभुल्ल छन् । 

मधेशको मुद्दा, गणतन्त्र संस्थागत, सङ्घीयता, परिवर्तनका विषयसँग अहिलेको राजनीतिमा उपेन्द्र यादव मूल पात्र हुन् । महन्थ ठाकुरजस्ता अग्रज नेताहरू पनि नभएका होइनन् । राजेन्द्र महतो, अमरेशकुमार सिंह, विमलेन्द्र निधिजस्ता समकालीन नेताहरूलाई उछिनेर उपेन्द्र यादवले आफूलाई वैशाखको तातो घाममा पनि ढकमक्क फुल्ने सतिसाल बनाएका छन् । अरू नेता मधेशको वैकल्पिक शक्तिको दौडमा छन् । उनीहरू चैतको घाम थेग्न नसक्ने निष्कर्षमा पुगेर फागुनमै पात झरेर चैतमा पालुवा पलाएका पीपलझैँ हुन् भन्दा नयाँ शक्तिहरूले नाक खुम्च्याउलान् तर उपेन्द्र यादवलाई गाली र अपमान गरेको भरमा मधेशमा नयाँ शक्ति बन्ने सपना यही सतिसाल र पीपलको बोटसँग मिल्न जान्छ । 

मङ्सिर ४ गते भएको निर्वाचनमा बारा–२ मा जम्मा ३५४ मतले पराजित नेकपा माओवादीका उम्मेदवार शिवचन्द्र कुशवाह मधेशको नयाँ र आकर्षण मानिएको जनमत पार्टी प्रवेश गरेर उम्मेदवार बन्नुभएको छ । तीनवटा निर्वाचन क्षेत्रमा नेकपा माओवादीले कतै एक सिट माग्न नसक्नु नेतृत्वको कमजोरी भन्दै नेता कार्यकर्ता असन्तुष्ट हुनु अन्यथा होइन । ३२ सिटको माओवादीले पाएको सरकार र मन्त्रालयका भरमा भएको भूगोल सबै अरूलाई छाड्दै जानुपर्ने गठबन्धनको राजनीति आफैँमा नेता कार्यकर्ता व्यवस्थापनमा ऐँजेरु बन्दै जाने विषयमा माओवादी नेतृत्वमा छलफल नहुनु उसको आन्तरिक मामला हो । माओवादीका कुशवाह यही उत्पीडनको छटपटाहट शान्त पार्न जनमतको मल्हम दलिरहनु भएको छ । त्यो मल्हम अरू कति नेता कार्यकर्ताले पनि लगाएर मन बहलाउलान्, पेचिलो चुनावको कथा बन्दैछ बारा–२ को उपनिर्वाचन । 

नेकपा (एकीकृत समाजवादी) अर्को असन्तुष्ट घटक हो । तनहुँबाट निर्वाचित कृष्णकुमार श्रेष्ठ ‘किसान’ले नेकपा एमालेमा गरेको विद्रोह झन्डै ‘तातो पिँडालु’ भयो । गठबन्धनमा माधवकुमार नेपालका पार्टीमा रहेको सबै सांसदलाई पुरानै भूगोल सुरक्षित गरिने भनेर सहमति भए पनि किसानका हकमा लागू भएन । उहाँ बारा–४ आएर निर्वाचन लड्नु प¥यो । तनहुँ–१ मा पुरानै कांग्रेसका उम्मेदवारलाई फिर्ता गर्नु प¥यो । बाराका जनताले गठबन्धनका नाममा नयाँ अनुहारलाई सर्लक्क जिताएर पठाए, उता तनहुँका जनताले पनि पुराना नेतालाई फेरि मौका दिए । त्यो मौका किसान श्रेष्ठका लागि उत्तम रह्यो । रामचन्द्र पौडेलका लागि ७८ वर्षमा सर्वोत्तम रह्यो । राष्ट्रपति पद सुरक्षित भयो । यत्रो त्याग र समर्पणले समाजवादीले कांग्रेस बोकिरहँदा तीन सिटमध्ये एक सिटमा पनि समाजवादीलाई दिउँ भन्ने देखिएन । अर्कातिर समाजवादीको सुरक्षित सिटमा कांग्रेस अटाएर राष्ट्रपति पाउँदा समाजवादीलाई तीनवटा मन्त्रालय दिउँ भन्न पनि कांग्रेसले चाहेन । यो विभेदमा हामी कति दिन काँधको छाला जाने गरी कांग्रेस बोकिरहने भनेर समाजवादी नेतृत्वमा चरम निरासा र आक्रोश देखियो । केही शीर्ष नेता समाजवादीमा नरहने निष्कर्षमा पुगे । 

चिन्ताको विषय त यो पनि बन्यो कि, त्यही गठबन्धनका सिके राउत, प्रभु साह बारा उपनिर्वाचनमा गठबन्धन उम्मेदवार हराउन आफ्ना उम्मेदवार तयार पार्न सफल भए । माओवादीमा उम्मेदवार तहका नेताले पार्टी छाडे । समाजवादी र माओवादीले उम्मेदवारी दिएर कांग्रेसलाई चिढाउन आवश्यक ठानेन । जब कि राष्ट्रिय योजना आयोगको यात्रा गराइसकेका डा. स्वर्णिम वाग्ले नेपाली कांग्रेसलाई भकारीका भकारी आलोचना भरेर कांग्रेसबाट अलग हुनुभयो । पार्टी बदलेर उम्मेदवार हुनुभयो । उम्मेदवार हुनै नपाएको माओवादी र समाजवादी अनि राष्ट्रपति पाउँदा पनि विद्रोही शक्ति जन्माउने कांग्रेसका लागि गठबन्धन केन्द्रमा रुचिको विषय भए पनि उमेर र योग्यताअनुसारका नेता कार्यकर्ताको मनमा कतै न कतै काँडा बनेर बिझिरहेको छ । कहिले रामचन्द्र पौडेल त कहिले उपेन्द्र यादव बोक्नु प-यो भनेर मन कुँडिएकै छ । त्यसमाथि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी ‘रातो कार्पेट’ बोकेर कहाँ पुगेर ओच्छ्याइदिउँ भनेर तम्तयार भएपछि नेता कार्यकर्ताको वितृष्णाको सुसेली सुनिने नै भयो, देखिने नै भयो । यो राजनीतिक छिनाझप्टीले धेरैलाई ‘ओहोरदोहोर’को टाँगा त उपलब्ध होला, जनता यस्तो रुचाउँदैनन् फेरि । पद पाउँदा त्यहीँ बस्ने, नत्र नयाँ खरानी घस्ने पात्रहरू पहिलो र दोस्रो, दुवै पार्टीका लागि हानिकारक हुन् । 

यिनै असन्तुष्टिमा बारा–२ को निर्वाचनमा गठबन्धनलाई आक्रमणमा सबैभन्दा बढी जनमत पार्टीका अध्यक्ष सिके राउत आफैँ उत्रनु भएको छ । उहाँले उपेन्द्र यादवविरुद्ध प्रयोग गर्नुभएका कैयौँ शब्दावली समाचारमा लेख्नसमेत योग्य छैनन् । मधेशलाई यहाँसम्म सचेत र जागरुक बनाउने काममा यादव, प्रभु साह, राउत सबै लाग्नु भएको हो । उहाँहरूको योगदानलाई मधेशी जनताले सम्झिरहने छन् । तर निर्वाचनका बेला ‘लँगौटी खुस्कने गरी’ चालिएको कटाक्ष वेगले राजनीति सही दिशामा दौडिँदैन । एउटा शक्ति पराजित गर्न अर्को शक्ति निर्वाचनमा कठोर भएरै प्रस्तुत हुनुपर्छ । तर राजनीतिक मान्यता, मूल्य, सिद्धान्त, जनताका मुद्दा भन्दा बढी एउटा व्यक्तिको चरित्रलाई उचालपछारमा जनमतले सरकार छाडेर देखाएको हर्कत हेर्दा कतै मधेशको राजनीति लयमा लैजाने प्रयास भइरहेको छैन कि भन्ने सङ्केत गरेको छ । पार्टी अध्यक्ष स्वयं यसरी किन उत्रनु भयो भनेर मधेश समीक्षा गरिरहेको छ । भौतिक आक्रमणबाहेकका सबै अस्त्र प्रहार देखिन्छ । 

लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ ।