शिवा तामाङ
काठमाडौँ, चैत २७ गते । लोपोन्मुख नेपाली लोकबाजा सङ्कलन गरेर संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको ‘नेपाली लोकबाजा सङ्ग्रहालय’ सार्न बारम्बार दबाब पर्न थालेको छ। बर्षौं लगाएर देशका विभिन्न भागमा पुगेर सङ्कलन गरिएका ती लोकबाजाले सुरक्षित र संरक्षित हुने स्थान पाउन सकेका छैनन्।
वि.सं. २०६४ वैशाख १५ गतेदेखि त्रिपुरेश्वरस्थित महादेव मन्दिरको उत्तरतर्फको सत्तलमा राखिएको सङ्ग्रहालयलाई त्यहाँबाट हटाउन गुठी संस्थानले बारम्बार दबाब दिँदै आएको थियो। अहिले महानगरपालिकाका प्रहरी टोली पनि संस्थानको आदेश पालन गर्नुपर्ने भन्दै आउन थालेको सङ्ग्रहालयका अध्यक्ष एवं लोकबाजा सङ्कलक रामप्रसाद कँडेल बताउनुहुन्छ।
सङ्कलक कँडेलले करिब २७ वर्ष लगाएर देशभरका विभिन्न समुदाय, व्यक्तिमाझ पुगेर जातीय विविधताअनुसारका लोकबाजा सङ्कलन सङ्ग्रहालय स्थापना गर्नुभएको हो। उहाँ भन्नुहुन्छ, “अहिले सङ्ग्रहालयमा ६५५ प्रकारका लोकबाजा रहेका छन्। कतिपय लोकबाजा बजाउने अभ्यास नहुँदा लोपसमेत भइसकेका छन्। राज्यले नै त्यसमा उचित ध्यान दिनुपर्ने उहाँको माग छ।
अध्यक्ष कँडेलले आफ्नो सिङ्गो जीवन नै समर्पण गरी सङ्कलन गरेर संरक्षण गरेको लोकबाजा राख्ने ठाउँ नपाएपछि कहिलेकाहीँ सबै बाजा मन्दिर परिसरमा नै लगेर जलाइदिउँ कि भन्ने सोच पलाउने गरेको बताउँदै भन्नुहुन्छ, “यति धेरै मायाले सङ्कलन गरेका बाजा कसरी जलाउन सकिन्छ र।” अहिले सोही मन्दिर परिसरमा काठमाडौँ विश्वविद्यालयको सङ्गीत विभाग राख्ने उद्देश्यले सत्तलको पुनर्निर्माण भइरहेको छ।
दुवै संस्थाको उद्देश्य एउटै भएकाले त्यही विश्वविद्यालय परिसरमा सङ्ग्रहालयलाई पनि स्थान उपलब्ध भइदिए राम्रो हुने उहाँको भनाइ छ। सङ्ग्रहालयमा लोकबाजाका साथै लोकगायक/गायिकाको, जात्रापर्व, नृत्य तथा श्रव्यदृश्य बाजासम्बन्धी पुस्तकहरू पनि सङ्कलित छन्। मुहालीलगायत विविध लोकबाजाको अभिलेखीकरणका लागि काम भइरहेको सङ्ग्रहालयले जनाएको छ।