शशिधर पराजुली
विराटनगर, पुस १ गते । कोशी प्रदेश सरकारले निकै तामझामका साथ ‘कोशी पर्यटन वर्ष २०८२’ लाई लक्षित गर्दै सुरु गरेको भारतीय गाडीमा ‘सुरक्षा जाँच स्टिकर’ टाँस्ने अभियान रोकिएको छ ।
ठाउँ ठाउँमा हुने चेकजाँचको झन्झट हटाएर निर्बाध आवागमन गर्न सक्ने उद्देश्यले सुरु गरेको स्टिकर अभियान तीन महिना पूरा नहुँदै रोकिएको हो । यो अभियानले निरन्तरता नपाउँदा ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर छापेका स्टिकर उपयोगविहीन छन् भने पर्यटकले पाउने सास्ती उस्तै छ ।
भारतीय पर्यटकको सहजताका लागि भन्दै गत वैशाख १ देखि सुरु गरिएको अभियान सुरुमा बजेट अभावको कारण स्टिकर छपाइ नहुँदा बन्द भएको भनिएको थियो तर गत वर्ष छापिएको स्टिकर थोरै मात्र खपत भएको र हजारौँ थान स्टिकर अझै उपयोगहीन अवस्थामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको स्टोरमा थुप्रिरहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘ड्रिम प्रोजेक्ट’ र ठुलो उपलब्धिका रूपमा अथ्र्याउँदै निकै तामझामका साथ अभियानको सुरुवात गर्नुभएको थियो तर आर्थिक वर्ष फेरिएसँगै परियोजना अलपत्र परेको हो ।
गत आवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बजेट व्यवस्थापन गरी स्टिकर छापेर नेपाल प्रहरीलाई उपलब्ध गराएको थियो । नाकाबाट प्रवेश गर्ने भारतीय गाडीमा प्रहरीले सो स्टिकर टाँसेपछि ती सवारीसाधनले प्रदेशभरि बिनाअवरोध घुम्न पाउने बताइएको थियो । अहिले भने कोशी प्रदेशमा भारतबाट भान्टाबारी, विराटनगर, काँकडभिट्टा र पशुपतिनगर नाका भएर दैनिक करिब पाँच सय भारतीय गाडी स्टिकरबिना नै नेपाल प्रवेश गरिरहेका छन् ।
विराटनगरबाट भेडेटार वा नजिकका गन्तव्यसम्म पुग्दा अहिले पनि कैयौँ स्थानमा प्रहरीले गाडी रोकेर चेकजाँच गर्ने र अनावश्यक झन्झट नघटेको पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठले बताउनुभयो ।
सवारीधनीको असहयोगले असफल
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पर्यटक लिएर आउने सवारीसाधनका चालकको असहयोगका कारण अभियान असफल भएको बताउने गरेको छ ।
मन्त्रालयका प्रवक्ता तथा उपसचिव अर्जुन निरौलाले भन्नुभयो, “सवारीसाधनका चालक वा धनीले गाडीमा स्टिकर टाँस्न दिँदैनन् । महँगो गाडीको सिसा वा बडीमा स्टिकर टाँस्दा ग्लुको दाग बस्ने भन्दै स्टिकर टाँस्न नमान्दा अभियान नै रोकिएको हो ।” उहाँले अहिले पनि मन्त्रालयमा पर्याप्त परिमाणमा स्टिकर मौज्दात रहेको बताउनुभयो ।