• १ पुस २०८२, मङ्गलबार

महायज्ञबाट मानवसेवा आश्रमलाई आठ करोडभन्दा बढी बचत

blog

बागलुङको निरयघाटमा निर्माणाधिन मानवसेवा आश्रमको भवन । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, पस १ गते ।
दस करोडको कोष बनाउने उद्देश्यले सञ्चालित महायज्ञबाट मानवसेवा आश्रमलाई आठ करोडभन्दा बढी बचत भएको छ ।

गत कात्तिक २१ देखि २८ गतेसम्म सञ्चालित महायज्ञमा नौ करोड ७७ लाख ७२ हजार ६१ रुपियाँ सङ्कलन भए पनि महायज्ञ अवधिभर ८१ लाख ३७ हजार रुपियाँ खर्च भई ८ करोड ९१ लाख ४८ हजार रुपियाँ बचत भएको आश्रमको वित्त विभागले जनाएको छ ।  

महायज्ञमा राखिएका दानपेटिकाबाट नौ लाख ९४ हजार तीन सय ६५ रुपियाँ सङ्कलन भएको थियो । सङ्कलित रकममध्ये अक्षयकोष शीर्षकमा ३० लाख ४७ हजार, आश्रमको भवन निर्माण शीर्षकमा पाँच करोड ६ लाख र महायज्ञ व्यवस्थापन शीर्षकमा दुई करोड ३४ लाख रुपियाँ जम्मा भएको महायज्ञ व्यवस्थापन समितिका सह–संयोजक तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार, महायज्ञमा नगद, चेक र क्युआरमार्फत सात करोड ६९ लाख १७ हजार एक सय ७५ रुपियाँ प्राप्त भएको हो । विभिन्न व्यक्ति र संस्थाले प्रतिवद्दता गरेको एक करोड ९० लाख ८४ हजार ६ सय ६० रुपियाँ रहेको छ । विशेषगरी सरकारी निकाय, स्थानीय तहबाट एक करोड २९ लाख ४१ हजार रुपियाँ प्रतिवद्धता आएको हो । त्यस बाहेक व्यक्तिहरुले २५ लाख १० हजार रुपियाँ बराबरको प्रतिवद्धता आएको खड्काले बताउनुभयो ।

बागलुङ कालीका भगवती मन्दिरको व्यवस्थापन समितिले मङ्सिर १ गतेदेखि आगामी असार मसान्तसम्म पार्किङ शुल्क उठाउने जिम्मा पनि मानवसेवा आश्रमलाई दिएको छ । उक्त रकम पनि भवन निर्माणमा प्रयोग गरिने सहमति भएको छ ।

महायज्ञमार्फत १० करोडको अक्षयकोष बनाउने लक्ष्य राखिएको छ । भवन बनेर अक्षयकोष पनि सञ्चालनमा आएमा बागलुङ नगरपालिका वडा नं. ४ को निरयघाटमा निर्माणाधिन आश्रममा दुई सय जना आश्रितलाई राख्ने व्यवथापन मिलाइने छ । १३ वर्षअघि हेटौडाबाट स्थापित भएको मानवसेवा आश्रम अहिले देशका २७ जिल्लामा फैलिएको छ । हाल मानवसेवा आश्रम बागलुङमा ६६ जना आश्रित हुनुहुन्छ ।