गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १ गते । कोभिडपछिको सुस्तता र पछिल्ला वर्षका बहुआयामिक दबाबबिच बिस्तारै गति लिँदै गएको मुलुकको अर्थतन्त्रमा स्थिरताको सङ्केत देखिन थालेको छ । मुद्रास्फीति नियन्त्रण, बाह्य क्षेत्रको सन्तुलन र बैङ्किङ प्रणाली तरलता सहज बन्दै जानुका कारण देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढ्दै गएको देखिएको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार बैङ्किङ प्रणालीमा तरलतामा सहजता, मुद्रास्फीति नियन्त्रणमा आउनुका साथै र बाह्य क्षेत्र सन्तुलित बन्दै गएको हो ।
वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.११ प्रतिशत रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रहेको छ ।
अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब ५२ करोड पुगेको छ । यस्तो सञ्चिति १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ ।
राष्ट्र बैङ्कका अनुसार चालु खाता दुई खर्ब ७९ अर्ब ६५ करोड र शोधनान्तर तीन १८ अर्ब ४० करोड बचतमा रहेको छ । नेपाल सरकारको खर्च चार खर्ब ६८ अर्ब ८८ करोड र राजस्व परिचालन तीन खर्ब २६ अर्ब ५५ करोड रहेको छ ।
तथ्याङ्क अनुसार विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ ।
बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.१ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.९ प्रतिशत रहेको छ ।
यस्तै बैङ्क तथा वित्तीय संस्थाबिचको भारित औसत अन्तरबैङ्क दर २.७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत रहेको छ । वाणिज्य बैङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर ३.७४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.३८ प्रतिशत रहेको छ ।
सात खर्बनजिक रेमिट्यान्स
चालु आर्थिक वर्षको चार महिनामा रेमिट्यान्स आप्रवाह सात खर्ब नजिक पुगेको छ । समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई छ खर्ब ८७ अर्ब १३ करोड रुपियाँ पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । २०८२ कात्तिकमा रेमिट्यान्स आप्रवाह एक खर्ब ३३ अर्ब ८२ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह एक खर्ब १४ अर्ब ३१ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई चार अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) सात खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय पाँच खर्ब ६९ अर्ब २९ करोड रहेको थियो ।
यस्तै सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ४७ हजार ४७८ र ९४ हजार १०५ रहेको थियो ।