जनार्जन खत्री
सर्लाही, पुस १ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानलाई बालविवाहमुक्त र सतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको छ ।
वडाभित्र चार वर्षदेखि ११ वर्षसम्मका ६२८ जना बालबालिकामध्ये सबै विद्यालय भर्ना भएका र कानुन अनुसार २० वर्ष उमेर पुगेर विवाह गर्नेहरु ९० प्रतिशतभन्दा माथि रहेकाले एकै समारोहबिच बालविवाहमुक्त तथा सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा गरिएको हो । वडा नं. १२ बालविवाहमुक्त हुने ईश्वरपुर नगरपालिकाको पहिलो र समग्रमा सर्लाही जिल्लाभरमा तेस्रो बन्न सफल भएको छ ।
यसअघि जिल्लाको सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१, बहादुरपुर र गोडैता नगरपालिका–१२, मधुवनीलाई मङ्सिर २५ गते बालविवाहमुक्त वडा घोषणा गरिएको थियो । ईश्वरपुर १२ लाई वडाध्यक्ष देविबहादुर खत्री (शिव) को अध्यक्षता तथा नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा सोमबर बालविवाहमुक्त र सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा गरिएको हो ।
बालविवाहमुक्त र सतप्रतिशत विद्यालय भर्ना वडा बनाउन ग्रामीण नारी उत्थान सङ्घ हरिपुरले सेभ द चिडे«नसँगको सहयोग तथा वडा र नगरपालिका कार्यालयसँग समन्वय गरी केहीवर्ष अघिदेखि निरन्तररुपमा काम गर्दै आइरहेको थियो । यस वडामा हालसालै विवाहको तथ्याङ्क लिँदा उमेर पुगेर गरिएको विवाहको प्रतिसत ९० प्रतिशतभन्दा माथि रहेको वडा सचिव पुष्पबहादुर खड्काले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१/८२ मा वडाभित्र १०९ जनाले विवाह गर्दा ८.२ प्रतिशत अर्थात् नौ जनाले मात्रै बालविवाह गरेको पाइएको छ । वडाभित्रका पुरोहित, धर्म गुरु, राजनीतिज्ञ, जनप्रतिनिधि, बाल क्लबका पदाधिकारी, महिला अगुवालगायत सम्पूर्ण सरोकारवालाले अब बालविवाह हुनै नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यस्तै वडाभित्र कूल एक हजार २८५ घरधुरीमा चार वर्षदेखि ११ वर्षसम्मका ६२८ जना बालबालिका रहेकामध्ये सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएकाले सतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको नगर शिक्षा शाखाका प्रमुख दिनेश लुइँटेलले जानकारी दिनुभयो । कालिन्जोरस्थित वडा कार्यालय परिसरमा आयोजित बालविवाहमुक्त र सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा कार्यक्रमका वक्ताहरुले यसको कार्यान्वयन पक्ष चूनौतिपूर्ण रहेको भन्दै सबैले हातेमालो गरेर निरन्तर अभियान चलाइरहनुपर्नेमा जोड दिनुभएको छ ।
बालविवाहमुक्त र सतप्रतिशत विद्यालय भर्ना वडा बनाउन आफूहरुले निरन्तर सरोकारवालालाई घच्घच्याउने, समुदायस्तरमा गएर सचेतना जगाउने, तथ्याङ्क सङ्कलन गर्ने, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउनेजस्ता गतिविधि गर्दै आइरहेको ग्रामीण नारी उत्थान सङ्घका बिन्दा लुङ्गेलीले बताउनुभयो । कार्यक्रममा अभियानलाई सफल बनाउन सहयोग गर्ने विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुलाई वडा कार्यालय कालिन्जोरले सम्मानसमेत गरेको छ ।
यस्तै, ईश्वरपुर नगरपालिका–४, सागरनाथलाई पनि एक हप्ताभित्रै बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ । ईश्वरपुर ४ र १३ श्रीनगर यसअघि नै सतप्रतिशत विद्यालय भर्ना वडा भने घोषणा भइसकेका छन् ।