सिराहा, पुस १ गते । लहान नगरपालिका–३ स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा ‘रजिस्ट्रेसन’का लागि लाग्ने लाभकर सरकारले मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले करिब रु एक करोड ३४ लाख ९५ हजारबराबरको लाभकर छुट दिने निर्णय गरेको हो ।
झण्डै पाँच दशकदेखि अस्पतालको हकभोगमा रहेको उक्त जग्गा रजिस्ट्रेसन हुन नसक्दा भौतिक संरचना विस्तारमा समस्या हुँदै आएको थियो । सरकारको निर्णयपछि सिराहा, सप्तरी र उदयपुरका बिरामीले सेवा लिने यस अस्पतालको स्तरोन्नति र सेवा विस्तार सहज हुने भएको छ ।
सरकारले गरिब तथा विपन्न समुदायको उपचार आवश्यकतालाई ध्यानमा राखेर सकारात्मक निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले बताउनुभयो । उहाँले भन्नुभयो, “विगत लामो समयदेखि विभिन्न कारणले रोकिएको प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनको समस्या अन्ततः समाधान भएको छ । स्थानीय जनताको मागबमोजिम सङ्घीय सरकारले लाभकर छुट दिने ऐतिहासिक निर्णय गरेको छ । यस निर्णयले सिङ्गो सिराहासहित आसपासका क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने आशा र भरोसा दिएको छ । अब अस्पतालको स्वामित्वमा जग्गा आएपछि भौतिक संरचना विस्तार, नयाँ भवन निर्माण र सेवा सुधारका काम तीव्र रूपमा अघि बढ्नेछन् । यस महत्त्वपूर्ण निर्णयका लागि पहल गर्ने सबै पक्षप्रति अस्पताल परिवारका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”
मन्त्रिपरिषद् निर्णयअनुसार लहान नगरपालिका–७ स्थित कित्ता नं २४८, २४९, ३२७ र ३३० मा रहेको एक बिघा १५ कट्ठा १० धुर जग्गा तथा भवन मधेस प्रदेश सरकारका नाममा हस्तान्तरण गर्दा आयकर ऐन र आर्थिक ऐनबमोजिम लाग्ने लाभकर छुट दिइनेछ । अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा बृजेन्द्र साहका अनुसार जग्गा अस्पतालको स्वामित्वमा आएपछि अब एक सय शय्याको भवन निर्माण, सिटीस्क्यान, एमआरआई तथा विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने बाटो खुलेको छ ।
विसं २०३७ मा लहानका दाता परिवार रामकुमार शारदा र उमाप्रसाद मुरारकाले अस्पतालका लागि उक्त जग्गा उपलब्ध गराउनुभएको थियो । लाभकर कसले तिर्ने भन्ने विषयमा अन्योल हुँदा रजिस्ट्रेसन रोकिएको थियो । पछिल्लो समय युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको सक्रियतामा स्थानीय अगुवा, अस्पताल परिवार र युवाहरूको पहलपछि सरकारले लाभकर छुट दिने निर्णय गरेको हो । रासस