गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १ गते । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले विभिन्न साहित्य सर्जक र सामाजिक संस्थालाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । कवि दैवज्ञराज न्यौपानेको ८४ औँ जन्मजयन्ती र १४ औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले तीन स्रष्टा र एक सामाजिक संस्थालाई दैवज्ञ विशिष्ट स्रष्टा सम्मान, दैवज्ञ साहित्य पुरस्कार, दैवज्ञ बालसाहित्य पुरस्कार र दैवज्ञ समाज सेवा पुरस्कार प्रदान गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष डा. केदार न्यापानेको अध्यक्षतामा आयोजित कार्यक्रममा दैवज्ञ विशिष्ट स्रष्टा सम्मान ५५,५५५ रुपियाँसहित साहित्यकार रमेश खकुरेललाई सम्मान गरियो । नारायणप्रसाद उपाध्यायलाई दैवज्ञ साहित्य पुरस्कार तथा कल्पना प्रधानलाई दैवज्ञ बालसाहित्य पुरस्कृत प्रदान गरिएको थियो । सम्मानित दुवैले जनही ३३,३३३ रुपियाँ प्राप्त गर्नुभयो । यसै गरी दैवज्ञ समाज सेवा पुरस्कारबाट धरान सुनसरीस्थित संस्कृत विद्यासंवर्धिनी समितिलाई ३३,३३३ रुपियाँसहित सम्मान गरिएको थियो ।
सो अवसरमा प्रतिष्ठानका सदस्य कोषराज न्यौपानेले सम्मानित र पुरस्कृत व्यक्तित्वबारे चर्चा गर्नुभयो । नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले साहित्यकार दैवज्ञराज न्यौपानेको स्मृतिमा प्रदान गरिने सम्मान पुरस्कारले उहाँको कृतित्वलाई सधैँ ताजा, स्मरणीय बनाई राख्न योगदान पुगेको बताउनुभयो । बालसाहित्यकार कल्पना प्रधानले करिब छ दशकसम्म साहित्यको सेवा गरी बालबालिकालाई मिठो साहित्यिक ज्ञान बाँड्दै गर्दा प्राप्त दैवज्ञ बालसाहित्य पुरस्कारबाट आफू निक्कै हर्षित भएको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो ।
प्रधानले आफूलाई पढाउने गुरु वासुदेव न्यौपानेको स्मरण गर्दै महिलालाई नपढाउने बेलामै निक्कै सङ्घर्ष गरी पढ्दै साहित्यको सेवा गर्दा बालबालिकाको खुराक प्रकाशित हुँदै आएको बताउनुभयो । उहाँले आफ्नो साहित्य यात्रा लेखक परशु प्रधानसँगको भेटले नेपाली बालसाहित्यमा रमाउने रहरलाई अवसरका रूपमा बदल्ने प्रेरणा मिलेको बताउनुभयो । प्रधानको पहिलो बालकविता चर्चित कविता ‘मेरो सानो खरायो, आज कता हरायो’ हो । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानका सल्लाहकार डा. शिवकुमार राईले प्रतिष्ठानलाई आफ्नी स्वर्गीय धर्मपत्नीको स्मृतिमा ५० हजार रुपियाँ प्रतिष्ठानका अध्यक्ष डा. केदार न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।