• १३ असोज २०८१, आइतबार

४० फरार अपराधी पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा ।

शेरबहादुर राई
ओखलढुङ्गा, चैत २५ गते । 
ओखलढुङ्गामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ४० जना फरार अपराधी पक्राउ परेका छन् । अदालतबाट कसुर ठहर भई सजाए पाएका ४० जना फरार अपराधी पक्राउ परेका हुन् । विभिन्न मुद्दामा कसुर ठहर भएका ३० पुरुष र १० जना महिला फरार अपराधीलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक बहादुर केसीले अदालतबाट कसुर ठहर भई सजाए पाएका फरार अपराधी पहिचान र पक्राउ अभियान सञ्चालन गरी फरार अपराधीलाई पक्राउ गरिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार अझै १४५ अपराधी फरार रहेको प्रमुख प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ । उनीहरूको खोजी कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

केसीका अनुसार अपराध गरेर फरार भएका अपराधीहरूको लामो समयसम्म पक्राउ नपर्नुमा वास्तविक र नागरिकताको नाम फरक/फरक, बसाइ सराइ गरी विकट र सहरी क्षेत्रमा बसोबास, रोजगारीको सिलसिलामा अन्यत्र जिल्ला तथा भारत साथै अन्य विदेश गएको, मृत्यु लगायतका कारण कठिनाइ पर्ने गरेको छ ।

प्रमुख प्रहरी नायब उपरीक्षक केसीले अधिकांश फरार अपराधीहरू भागेर भारत जानुका साथै देशका विभिन्न सहरहरूमा पहिचान बदलेर लुकीछिपी रहेका बताउनुभयो । प्रहरीको तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार २०९ जना फरार अपराधी पक्राउ परेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा ७९ पुरुष र २० महिला गरी ९९ जना फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा ४६ पुरुष र १५ महिला गरी ६१ जना साथै आर्थिक वर्ष २०७८/०७९ मा आठ पुरुष र एक महिला फरार अपराधीलाई पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । पक्राउ परेका फरार अपराधीहरू कर्तव्य ज्यान मुद्दा, चोरी डकैती, गाली बेइज्जती लगायतका मुद्दामा कसुर ठहर भएका छन् ।