• ८ मंसिर २०८१, शनिबार

बेलायतमा नेपाली

blog

कुनै समय फाट्टफुट्ट रूपमा मात्र विदेश जाने नेपालीको सङ्ख्या यतिबेला निकै माथि उक्लिएको छ । सयौँ, हजारौँ होइन, लाखौँमा पुगेको छ । कोही कामको क्रममा, कोही अध्ययनका लागि त कोही आफ्ना सपना पूरा गर्न पुगेकाहरू पछि त्यहीँका ‘रैथाने’ पनि बनेका छन् । अहिले नेपालीको आकर्षक गन्तव्य युरोप, अमेरिका र अस्ट्रेलिया  बन्दै गएको छ । उज्ज्वल भविष्यको सपना देख्दै घरखेत बन्दकी राखेर आकर्षक कमाइ हुने देशमा जान नेपाली लालयित छन् । तथ्याङ्कले पनि यस कुरालाई पुष्टि गर्छ । त्यसैले होला विदेशमा नेपाली समुदायको उपस्थितिले उनीहरूको आवाज पनि त्यहाँ बलियो बन्दै गएको छ । कुनै एक पेसामा मात्र नभई विविध पेसामा संलग्न भएर नेपालीले आफूलाई स्थापित गर्दै छन् । स्थापित हुनलाई सङ्घर्ष पनि कम्ती गर्नु पर्दैन । यसरी सङ्घर्ष गर्दै संयुक्त अधिराज्य (बेलायत) मा पनि आफ्नो पहिचान स्थापित गरेका धेरै नेपाली छन् । बेलायतमा विश्वको पुरानो राजसंस्था मात्र छैनन्, विश्वविख्यात अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालय पनि छन् । विश्वसाहित्यका अग्रणी शेक्सपियरको घर मात्र होइन, कार्लमाक्र्सको समाधिस्थलले पनि धेरैलाई लोभ्याउँछ । संसारको समय निर्धारण गर्ने ग्रिनबिच मात्र होइन, गुरुत्वाकर्षण शक्तिका खोजकर्ता न्युटनको घर पनि यहीँ छ । कुनै समय अमेरिका, भारतजस्ता देशमा राज्य गरेको बेलायत भाषा, साहित्य, खेल तथा आधुनिकताको खोजका लागि चर्चित छ । 

बेलायतमा नेपालीहरूको बसोबास कहिलेदेखि सुरु भयो भन्ने बारेमा आधिकारिक तिथिमिति अझै पाइएको छैन । जङ्गबहादुर राणा सन् १८५० मा बेलायत भ्रमणमा आउँदा लन्डनमा भेटिएका मोतिलाल सिंहलाई नै अहिलेसम्म बेलायत आएको पहिलो नेपाली मानिएको छ । जङ्गबहादुरसित भेट्दा उहाँ करिब १५/२० वर्ष बेलायत बसिसकेको अनुमान अध्येता डा. कृष्ण अधिकारीको छ । अङ्ग्रेजसितको युद्धमा नेपालले हार बेहोरेपछि युद्धबन्दी बनाइएका मोतिलाल सिंह मात्र त्यतिबेला बेलायत पुगेका थिए कि अरू पनि थिए रहस्यकै गर्भमा छ ।

त्यसपछि सन् १९५० को दशकमा नेपालीको प्रवेश विद्यार्थीका रूपमा भएको पाइन्छ । सन् १९५९ मा बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले ‘यतिज नेपाली स्टुडेन्टस् इन ब्रिटेन’ नामक संस्था स्थापना गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद पशुपतिशमशेर राणा यसको संस्थापक अध्यक्ष बन्नुभएको थियो । अहिले यो संस्था ‘यती नेपाली एसोसिएन इन युके’ नामले क्रियाशील छ । त्यसपछि सन् १९७० को दशकबाट क्याटरिङ क्षेत्रमा ‘वर्क पर्मिट’मा आएका नेपाली र अध्ययनका लागि आएका चिकित्सकले बेलायतमा नेपालीको स्थायी बसोबासको सुरुवात गरे । सन् १९८० को दशकबाट बसोबास गरिरहनु भएका बसन्त राय क्षेत्री भन्नुहुन्छ, “सन् १९९९ बाट बेलायतमा नेपालीहरू धेरै थपिएको हो ।” उहाँको विश्लेषणमा त्यतिबेला तीन मार्गबाट बेलायतमा नेपालीहरू भित्रिएका थिए । पहिलो, युरोपका विभिन्न देश जस्तै– बेल्जियम, जर्मनीमा बसिरहेका । दोस्रो, नेपाली विद्यार्थीहरू र तेस्रो, गोरखा सैनिकहरू र उनीहरूका परिवार । 

नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भने सन् २००४ देखि यताको करिब एक दशकको अवधिमा भएको हो, जसमा सन् २००४ र सन् २००९ को बेलायत सरकारको गोरखा भूतपूर्व सैनिक र उनका परिवारहरूलाई बेलायतमा बसोबास गर्न दिने नीति महìवपूर्ण छ । यससँगै नेपालबाट उच्च दक्ष जनशक्तिलाई बेलायतमा सहजै आवासीय भिसा दिइनु, हङकङमा बसोबासरत बेलायती नेसनल ओभरसिज (बीएनओ) राहदानी बाहकलाई बेलायतको आवासीय अधिकार दिइनु र विद्यार्थीलाई बेलायतको सहजै भिसा दिइनुले पनि उल्लेख्य भूमिका खेलेको छ । सन् २०२१ मा सम्पन्न जनगणनाले बेलायतका चारवटा राज्यमध्ये इङ्ल्यान्ड र वेल्समा बस्ने नेपालीको सङ्ख्या एक लाख तीन हजार ८७५ देखाएको छ । सेन्टर फर नेपाल स्टडिजका पूर्वकार्यकारी निर्देशक डा. कृष्ण अधिकारी जनगणनामा जातीय अल्पसङ्ख्यकलाई छुट्न नदिने विभिन्न उपाय अपनाइएको भए पनि १० देखि १५ प्रतिशत छुट्ने गरेको दृष्टान्त दिँदै बेलायतमा अहिले नेपालीको सङ्ख्या एक लाख २५ हजारदेखि एक लाख ५० हजारसम्म हुन सक्ने जिकिर गर्नुहुन्छ ।


नेपालबाट बेलायतमा वर्क पर्मिट पाउने पहिलो नेपाली स्वर्गीय कृष्णबहादुर थापा रहेको अनुमान छ । उहाँ सन् १९६७ मा बेलायत आउनु भएको थियो । उहाँ अघि बेलायत आएका विद्यार्थी र चिकित्सक आफ्नो अध्ययन सकेपछि नेपाल फर्कने गरेकाले नेपालीको बसोबास स्थिर नरहेको उनीहरूले नै स्थापना गरेको यती संस्था पनि बीचमा चकमन्न हुनुले पुष्टि गर्छ । यसरी सन् १९७० को दशकलाई बेलायतमा नेपाली स्थायी रूपमा बसोबास गर्न सुरु गर्न थालेको समय मान्दा अहिले करिब साढे पाँच दशक पुगेको अनुमान गर्न सकिन्छ । यसबीचमा सङ्ख्या मात्र थपिएन, विविध क्षेत्रमा उल्लेख्य प्रगति गर्न पनि नेपाली सफल भए । 

बेलायतमा प्रवेश गरेको छोटो समयमै नेपालीहरूले व्यावसायिक क्षेत्रमा प्रवेश गर्ने सुनौलो मौका पाए । बेलायत आएका नेपाली खासगरी क्याटरिङ क्षेत्रमा प्रवेश गरे । आफैँ कार्यरत क्षेत्रमा लगानी गर्न उनीहरूलाई आत्मविश्वास पनि थियो भने भारतीय स्वाद पस्कने रेष्टुरेन्ट चलाइरहेका भारतीय, पाकिस्तानी र बङ्गलादेशी समुदायमा एक पुस्ताबाट अर्को पुस्तामा व्यवसाय हस्तान्तरणमा समस्या भइरहेको थियो । अघिल्लो पुस्ताले रेष्टुरेन्ट चलाए पनि बेलायतमै जन्मेको, विश्वविद्यालय पढेको नयाँ पुस्ता बाबुबाजेले गर्दै आएको व्यवसायलाई निरन्तरता दिन तम्तयार थिएन । यस्तो अवस्थामा ती रेष्टुरेन्ट नेपालीहरू मिलेर किने । अहिले पनि रेष्टुरेन्ट व्यवसायमा धेरै नेपाली छन् तर उनीहरूको लगानी विभिन्न क्षेत्रमा फैलिएको छ । नेपालीको सङ्ख्या बढ्दै गएपछि उनीहरूलाई आवश्यक पर्ने नेपाली मौलिक परिकारका सामानदेखि संस्कार, संस्कृतिका लागि चाहिने सरजाम तथा भेषभूषा र गरगहनासम्म यहीँ पाइन्छन् । घरजग्गा किनबेचदेखि निर्माणसम्म र मर्मतसंहार नेपालीहरूबाट नै सञ्चालित व्यवसायबाट पूरा गर्न सकिन्छ । नेपालीलाई मात्र होइन, गैरनेपालीलाई समेत लक्षित गरी अहिले होटल, केयर होम, दन्त क्लिनिक, ट्याक्सी, यातायात, ढुवानी सेवा, औषधि पसल, पारिवारिक क्लिनिक (जीपी) लगायत विभिन्न क्षेत्रमा नेपालीको लगानी छ । करिब चार दशकदेखि व्यवसाय गर्दै आउनु भएका नेपाल क्याटरिङ एसोसिएसन युकेका अध्यक्ष विजय थापाको अनुभवमा सन् २००० को दशकमा बेलायतमा नेपाली बढेपछि नेपाली व्यवसायीको लगानीमा विविधता आएको हो । त्यसअघि प्रायःजसो नेपाली रेष्टुरेन्ट व्यवसायमा थिए । नेपालीको सङ्ख्या थपिएपछि क्यास एन्ड क्यारी (ग्रोसरी) आदिमा नेपालीहरूले लगानी गरे । थापाको बुझाइमा अहिले पनि धेरै नेपालीको लगानी भने क्याटरिङमा नै छ । 

भनिन्छ– आफ्नो थातथलो छोडेर नयाँ मुलुकमा बसाइँ सरेको पहिलो पुस्ताले नयाँ ठाउँमा विभिन्न हन्डर ठक्कर बेहोर्नुपर्छ । उनीहरूले आफ्नो योग्यताअनुसारको काम पाउने अवसर विरलै मिल्छ । यो कुरा धेरै हदसम्म बेलायतका नेपालीमा पनि मिल्छ । पहिलो पुस्ताका नेपालीमध्ये केही औँलामा गन्न सकिनेले मात्र आफ्नो पढाइ, अनुभव र योग्यतासँग मिल्दो पेसा–व्यवसाय अपनाउने सौभाग्य पाए, जसमा धेरैजसो चिकित्सा क्षेत्रमा अध्ययन र अनुभव भएका पर्छन् । यसबाहेक अन्य क्षेत्रमा भने सीमित, असाधारण क्षमता र भाग्यले साथ दिएकाहरूले मात्र यस्तो मौका पाए । प्राज्ञिक क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनका प्रोफेसर डा. सूर्य सुवेदी, अर्थशास्त्रका प्रोफेसर कुलबहादुर लुइँटेल, जनस्वास्थ्यका प्रोफेसर पदम सिम्खडालगायतले यस्तो मौका पाउनु भएको छ । उहाँहरूले खोलिदिएको मार्ग पछ्याउँदै अहिले भने बेलायतका विभिन्न विश्वविद्यालयमा अध्यापन गर्ने नेपाली मूलका प्राध्यापक/लेक्चररहरूको सङ्ख्या करिब दुई दर्जनभन्दा माथि पुगिसकेको छ ।

बेलायतको संसदीय पुस्तकालयबाट प्राप्त तथ्याङ्कअनुसार यहाँको राष्ट्रिय स्वास्थ्य सेवामा काम गर्ने नेपालीको सङ्ख्या करिब तीन हजार पुगेको छ, जुन दक्षिण एसियाको बङ्गलादेश र श्रीलङ्का मूलका मानिसभन्दा धेरै हो । अहिले धेरै अस्पताल, स्थानीय क्लिनिक (जीपी) हरूमा नेपाली चिकित्सक, नर्स भेटिन्छन् । त्यति मात्र होइन, स्वास्थ्य सेवाको उच्च व्यवस्थापकीय तहमा पनि नेपाली पुग्न थालेका छन् । करिब सात हजार कर्मचारी रहेको नर्थ इष्ट एङ्गिला एनएचएस ट्रष्टको उपप्रमुख कार्यकारी निर्देशक प्रदीप कारञ्जित यसको उदाहरण हुनुहुन्छ । एक दशक अघिसम्म एक÷दुई जना नेपाली वकिल कार्यरत रहेकामा अहिले बेलायतमै पढेर र इजाजत लिएका वकिल पेसा गर्नेहरूको सङ्ख्या २४ जनाभन्दा माथि पुगिसकेको छ । बेलायतको स्थानीय राजनीतिमा पनि नेपालीको सहभागिता बढ्दो छ । यहाँका प्रमुख दुई राजनीतिक पार्टी कञ्जरभेटिभ र लेबर दुवै पार्टीमा नेपालीको आकर्षण रहेको देखिन्छ । केही नेपाली कुनै समय निकै चर्चामा रहेको लिबरल डेमोक्र्याटिक पार्टीमा पनि आबद्ध छन् । बेलायतले युरोपेली युनियन छोड्ने कि नछोड्ने विषयमा भएको जनमत सङ्ग्रहमा पनि नेपाली दुवै पक्षमा विभाजित थिए । नेपालीहरूको बढ्दो उपस्थितिसँगै अहिले कतिपय स्थानीय निकायमा नेपालीलाई राजनीतिक पार्टीमा समेट्नका लागि राजनीतिक पार्टीका स्थानीय समितिबीच होड नै चलेको छ । कुनै समय नेपालीको अधिक बसोबासका कारण स्थानीय स्रोत साधनमा असर प-यो भनेर अभिव्यक्ति दिने पूर्वसांसद जेराल्ड होवार्थको निर्वाचन क्षेत्र रसमोरमा नै अहिले तीन÷तीन जना नेपाली स्थानीय काउन्सिलरको रूपमा निर्वाचित छन् भने अन्य दुई नेपाली यही मे महिनामा हुने निर्वाचनमा उम्मेदवार छन् ।

सन् २००७ मा पूर्वगोरखा सैनिक धन गुरुङ फोल्कस्टोन काउन्सिलमा चेरिटन वडाबाट निर्वाचित भएपछि बेलायतमा नेपालीको राजनीतिक सहभागिताको ढोका खुलेको थियो । त्यसयता धेरै नेपाली काउन्सिलर मात्र भएनन्, उपमेयर, मेयर र संसदीय निर्वाचनको उम्मेदवार पनि भइसकेका छन् । नेपालीको सङ्ख्या अधिक रहेको ठाउँमा उनीहरूको मत तान्नका लागि पार्टीहरूले प्रयाससमेत गरिरहेका छन् । नेपालीको अधिक बसोबास रहेको केन्टको आसफोर्डमा दुई पटक काउन्सिलको उम्मेदवार भइसक्नु भएका र हालै मात्र त्यहाँको नेपाली समुदायको संस्था सगरमाथा गोरखा नेपाली कम्युनिटीको अध्यक्षबाट निवृत्त कप्रसाद छन्त्याल भन्नुहुन्छ, “राजनीतिक पार्टीका स्थानीय नेताले नेपाली समुदायबाट काउन्सिलरमा चुनाव लड्ने मानिस खोजिदिनु प-यो भनेर अनुरोध गर्नुहुन्छ ।”

बेलायतमा सबै नेपालीको प्रगति नै प्रगति मात्र छैन । खासगरी ठूलो सङ्ख्यामा गोरखा सैनिकबाट धेरै पहिले सेवा निवृत्त भएकाहरू र उनीहरूका श्रीमतीलाई अङ्ग्रेजी भाषाको अल्पज्ञान, बेलायती संस्कार र जनजीवनमा घुलमिल हुन असजिलो भएका कारण व्यावहारिक कठिनाइ पनि छ, जसका कारण स्थानीय सरकारी तथा गैरसरकारी संस्थाबाट पाउने सुविधाहरू पूर्ण रूपमा पाउन कठिनाइ भइरहेको छ । फरक सांस्कृतिक पृष्ठभूमिबाट आएको र नयाँ ठाउँको संस्कृतिसित भिज्न नसकेको हुनाले बेलाबेला जातीय दुव्र्यवहारका घटना पनि बाहिरिने गरेका छन् । बेलायत सरकारले सार्वजनिक सेवामा खर्च घटाउँदै लगेपछि विभिन्न निकायमा जाँदा पाउने अनुवादकको सेवा पनि अहिले हटेको छ । त्यसैले अङ्ग्रेजी भाषामा दख्खल सहयोगी छैनन् भने धेरै समस्या पर्न सक्छ ।

यस्तै, बेलायतमा २५ वर्षदेखि बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ पहिलेभन्दा बेलायती नेपाली समाज विभाजित भएको बताउनु हुन्छ । नेपालमा बरु फरक राजनीतिक आस्था भएका मानिसबीच पहिलेभन्दा अहिले धेरै हार्दिकता आएको तर यहाँ यस्तो पाउन सकिँदैन । 

यहाँ बसोबासरत नेपालीको साझा चासो र चिन्ता नयाँ पुस्तालाई कसरी नेपाली भाषा, कला, संस्कृति सिकाउने, नेपालसित उनीहरूलाई कसरी जोड्ने भन्ने रहेको छ किनभने बेलायतमा जन्मिएका, हुर्किएका नयाँ पुस्ताले नेपाली भाषा विरलै बोल्छन् । बोली हालेमा पनि नेपाली भाषाको औपचारिक पठनपाठन नहुने भएकाले लेख्न सक्ने सम्भावना छैन । नेपाली संस्कृतिको स–साना झलक देखाइने सामुदायिक कार्यक्रममा पनि बाबुआमा मात्र उपस्थिति हुन्छन्, छोराछोरी जान मान्दैनन् ।  

राजनीतिक उचाइ हासिल गर्न सकिन्छ  



प्रा.डा सूर्यप्रसाद सुवेदी 

लिड्स विश्वविद्यालय, बेलायत

समग्रमा बेलायतमा रहेका नेपाली समुदायको अवस्था राम्रो छ । अधिकांश रोजगारीकै क्रममा रहनुका साथै केहीको आफ्नै व्यवसाय पनि रहेको छ । विशेषगरी, दोस्रो पुस्ताका युवावर्गले अत्यन्त राम्रो गरिरहेको देख्न सकिन्छ । भविष्यमा यो वर्ग यहाँका उच्च र सम्मानित पद पाउने बाटोमा लागिसकेका छन् । 

यहाँ रहेका अन्य आप्रवासी समुदाय बङ्गलादेश, श्रीलङ्का र केही अफ्रिकन देशका भन्दा नेपालीले राम्रै गरेको जस्तो लाग्छ । यद्यपि भारत र पाकिस्तानी मूलकाले झैँ गर्न नसकेको साँचो हो । भारतीय र पाकिस्तानी मूलको जनसङ्ख्या यहाँ उल्लेख्य मात्रामा छन् । धेरैको परिवार तेस्रो र चौथो पुस्तासम्म यहीँ बसोबास गरिरहेको स्थिति छ । नेपालको चाहिँ अधिकांश पहिलो पुस्ताका छन् । उनीहरूले विशेषगरी क्याटरिङ व्यवसाय र प्राज्ञिक क्षेत्रमा राम्रो गरिरहेका छन् । नेपालीहरू मेहनती र इमानदार हुनुका साथै यहाँको राज्यबाट प्रदान गरिने सुविधाप्रति मोहित छैनन् । त्यही कारणले होला ब्रिटिस जनताले नेपालीलाई मन पराउँछन् ।

नेपालीहरू एकजुट भएर अगाडि बढेमा राजनीतिक उचाइ हासिल गर्न सक्छन् । त्यसैले बाँडिएर होइन, एकजुट भएर अगाडि बढ्न जरुरी छ । विगतमा दक्षिण एसियाली देशहरू जस्तो हामी बेलायतको कोलोनी भएनौँ । कोलोनी भएका देशहरूलाई कतिपय कुरामा सुविधा हुनु स्वाभाविक नै भयो । ती देशका मानिसले स्थापित हुन त्यति धेरै सङ्घर्ष गर्नु पनि परेन । उनीहरूले त्यो विरासतमा पाएजस्तै भयो । त्यसैले नेपालीलाई अन्यजस्तो उच्च तहमा पुग्न केही समय लाग्छ । नेपालीसँग भने कसैको अधीनमा नरहेको गौरव पनि रहेको छ ।  बेलायतमा आउँदा उच्च मनोबल र मनमा दृढ सङ्कल्प बोक्नुपर्छ । यहाँको समाज जति आपूm खुला भइयो, त्यति नै घुलमिल हुन सजिलो हुन्छ । आफ्नो व्यक्तिगत पेसा र व्यक्तिगत महìवाकाङ्क्षा कायम राख्नुपर्छ । त्यसबाहेक इमानदारीपूर्वक मेहनत गर्नैपर्छ । यो खुला र स्वतन्त्र समाज हो, जहाँ मेरिटको आधारमा प्रतिस्पर्धा हुन्छ र अब्बल हुनेले मात्र आफ्नो लक्ष्य पाउन सफल हुन्छन् । बेलायतमा नेपालीको भविष्य निकै उज्ज्वल छ । 

 ठूलो स्तरमा गर्न सकिएको छैन  


रवीन्द्रजङ्ग (रवि) लामिछाने 

सफल युवा व्यवसायी 

व्यावसायिक हिसाबले हेर्ने हो भने बेलायतका नेपाली समुदाय पहिलो पुस्ता हुन् । उनीहरूले गर्ने व्यवसाय भनेको मुख्यतया रेस्टुरेन्ट, ग्रोसरी–कर्नर सप, सेक्युरिटी, बार्बर सप हुँदै पछिल्लो समयमा अन्य व्यवसायहरू जस्तै– प्रपर्टी मोर्गेज, एकाउन्टेसी एवं कानुन व्यवसायतर्फ पनि आबद्ध भएको देख्न सकिन्छ । यी व्यवसाय भनेका करिब ४०–५० वर्षअघिदेखि नै भारतीय, पाकिस्तानी एवं बङ्गलादेशीहरूले सञ्चालन गरिसकेर छोड्दै गरेको व्यवसायलाई हामीले माथि लगेको जस्तो लाग्छ । नेपाली मूलका व्यवसायीले ठूलो स्तरमा व्यवसाय गर्न अझै सकेको छैन जस्तो लाग्छ ।

नेपालीहरू इमानदार छन्, मेहनती छन् । व्यवसायलाई बेलायतको राष्ट्रिय स्तर वा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउन नसके पनि आफूले गरेको व्यवसायलाई राम्रो परिणामसहित सकारात्मक ढङ्गले प्रभाव पार्दै लगेका छन् । आफ्नो मेहनतले सिर्जना गरेको व्यवसायले धेरैलाई रोजगारीको अवसर सिर्जना गर्नुका साथै सरकारलाई कर तिरेर बेलायतको आर्थिक श्रीवृद्धिका लागि सकेको जेजति भए पनि टेवा पु¥याएका छन् ।

सामान्यतया बेलायती नेपाली समुदायको व्यवसाय भनेको हस्पिटालिटी क्षेत्र नै हो । सरसर्ती हेर्ने हो भने, सुरुमा किचेनदेखि जागिर सुरु गरेर, सेफ हुँदै रेस्टुरेन्टका मालिक एवं सफल व्यवसायी बनेका धेरै उदाहरण छन् । त्यसो त पछिल्लो समयमा आईटीदेखि अन्य व्यवसायजस्तै नर्सिङको पनि उत्तिकै माग देखिन्छ । यहाँका नेपालीले हस्पिटालिटी वा अनुभव, पहुँचले भ्याउने व्यवसाय गर्दा प्रभावकारी हुन्छ ।