हरेक दिन हजारौँ पैतलाले चुम्छ न्युरोड । हजारौँ मनको क्रीडास्थल हुन्छ न्युरोड । रङ्गिला सपनामा मुस्कुराउँछ–न्युरोड । इन्द्रेणी विपना बोकेका मानिसहरूको स्वर्णिम सौन्दर्य हो– न्युरोड । हृदयमा प्रेमिल यौवन बोकेर आउँछन् मानिसहरू ! मस्तिष्कमा गुलाफी रङ पोतेर आउँछन् अधवैंसेहरू ! प्रेमको काल्पनिक स्वर्ग कल्पिएर आउँछन्– तन्नेरीहरू ! सपनाको धरोहर हो न्युरोड । विपनाको प्रिय गन्तव्य हो न्युरोड ।
सौन्दर्यको नयाँ– नयाँ संस्करण हो न्युरोड । सपनाको सुकिलो आवरणमा सुसाउँदै हिँड्छ– न्युरोड । हरेक दिन नूतन सपना बेचिरहेछ– न्युरोड । हरेक क्षण नूतन विपना बाँचिरहेछ– न्युरोड । सभ्यताको गुड्डी हाँकेर जुद्धशमशेरको आँखामा आँखा जुधाइ रहेछन्– मानिसहरू । हरेक मानिसका आँखाले फरक–फरक देख्छ– यो सडक । जसरी हे-यो त्यसरी देखिन्छ । कुन कोणबाट हेर्ने हो ! कुन चेतनाबाट हेर्ने हो ! कुन सौन्दर्यबाट हेर्ने हो ! जसले जसरी हेर्छ, त्यस्तै देखिन्छ यो सडक । ओठमा खुसी टाँसेका मानिसहरू आउँछन् । रस निचोरिएको कागतीजस्तो अमिलो अनुहार लिएर आउँछन् मानिसहरू । ओठमा खुसी किन्न, आँखामा सपना भर्न, हृदयमा शान्ति छर्न, मस्तिष्कमा उमङ्ग जड्न न्युरोड धाउनुपर्छ ।
न्युरोड देशका सडकहरू भन्दा पृथक् छ । न्युरोड देशका बजारभन्दा पृथक् छ । यो आफ्नै सौन्दर्यले सुशोभित छ । कतै फुकेर फैलिएको छ । कतै सुकेर साँघुरो भएको छ । बाँसको तामाझैँ अग्लिएका घरहरू छन् । क्रङ्क्रिटको घनाजङ्गल पनि हो यो । यहाँ को कतिखेर हराउँछ । को कतिखेर अलमलिन्छ थाहा हुन्न । हराउँछ– भेटिन्छ । भेटिन्छ– हराउँछ । यो उपक्रम धेरैका हकमा चलिरहन्छ । चिन्नेलाई चिन्दैन, नचिन्नेलाई चिन्छ । चिन्दाचिन्दै पनि अपरिचितजस्तो । नचिन्दा नचिन्दै पनि परिचितजस्तो न्युरोडको विशेषता हो । न्युरोडको कोमल स्पर्शले नछोएको को होला ? न्युरोडको मादकताले नलठ्ठिएको को होला ? न्युरोडको सम्मोहनले सम्मोहित नबनेको को होला ? त्यहाँका हरेक आकृतिहरू छायाजस्ता लाग्छ । मानौँ हामी छाया हिँडिरहेछौँ– त्यहाँका सडकमा । कसले कसलाई चिनोस् ! कसले कसलाई नचिनोस् ! कसले पो चिन्न सक्छ छायाजस्ता अनुहारहरू ? न्युरोड अनुहारै अनुहार बोकेको अर्को अनुहार हो ।
इतिहासको आँखाबाट हेर्दा वर्तमान देखिन्छ । वर्तमानको आँखाबाट हेर्दा इतिहास देखिन्छ । जसरी हे¥यो त्यसरी देखिन्छ– न्युरोड । यो सडक गतिशील छ । चलायमान छ । परिवर्तनशील छ । हिजोभन्दा आज फरक हुनु नै न्युरोडको विशेषता हो । जसरी हे¥यो– त्यसरी देखिनु । जसरी सोच्यो– त्यसरी बुझिनु । जसरी पढ्यो– त्यसरी जानिनु । जसरी भोग्यो– त्यसरी अनुभूति हुनु, न्युरोडको सामथ्र्य हो । यो अमूर्त सहर हो । यसको आफ्नै पृथक् सत्ता छ । आफ्नै पृथक् स्वभाव छ । यो आफैँमा अप्रतिम छ / अप्राप्य छ / अकाट्य छ अबोध्य छ । न्युरोड– हरेक साँझ आफ्नै मादकताले लठ्ठ हुन्छ । प्रातः आफ्नै आलस्यले बियाँलो उठ्छ । दिवा आफ्नै सौन्दर्यले घनीभूत हुन्छ । यो सडकमा निर्वाध उडिरहेका छन् – मानिसका चाहना । निर्वाध घुमिरहेका छन् – मानिसका सपना । निर्वाध खेलिरहेछन् – मानिसका भावना । निर्वाध फैलिरहेका छन् – मानिसका कल्पना । जहाँका सडकमा हल्लाले पिङ खेलिरहेछ । जहाँका पेटीहरूमा देश भोकको बटुको थापिरहेछ । कतै गीत भएर गुञ्जिरहेछन् अभावहरू । कतै विकृत भएर लडिरहेछन् जवानीहरू । कतै कला भएर पोखिरहेका छन् – आँसुका बूँदहरू ।
न्युरोड सौन्दर्यको अन्तिम विकल्प हो । जहाँ हाम्रा विश्वसुन्दरी मिरेइया लालागुना, स्टेफनी डेलवाले, मानुषी छिल्लर, वेनेसा पोन्स डेलियमा, टोनी–एन सिंह, करोलिना वायलांस्काहरू सिँगारका सामान किनिरहेका हुन्छन् । स्वर्गका अप्सराहरूका क्याटवाकले तातिरहेको हुन्छ न्युरोड । भुनभुनाउँदै फूलका माहुरीहरूझैँ न्युरोडका हरेक सटरहरूमा लर्को लाग्छन्– सौन्दर्य पारखीहरू ! क्यापाचिनो र अमेरिकानो कफीका मन्द–मन्द नशामा तातिएर । बर्गर हाउस र आइसक्रिम दुकानका टेबलमा पग्लिएर पोखिरहेछन् मनहरू । नेवारी परिकार बारा, चतामरी, छोइला, कचिला र योमरी दुकानहरू छपक्क ढाकेर, आ–आफ्ना कथा फुकाइरहेका हुन्छन्– हाम्रा लैला–मज्नु, रोमियो– जुलियट, राधा– कृष्ण र मुना– मदनहरू !
न्युरोडमा धरहराको टुप्पोबाट घाम उदाउँछ र दिनभर सङ्कटा मन्दिरका परेवाका पखेटामा अल्झेर, बेलुकी वसन्तपुर दरबारको गजुरमा सुस्ताउँछ । पक्षघातले थलिएको रोगीझैँ, धरहराको वैशाखी टेकेर धीमा–धीमा पैताला घिसारिरहेको हुन्छ– खुर्पेजून । जुनकीरीजस्तै ल्यामपोस्टले फालिरहेको धिपधिपे उज्यालोमा, न्युरोडको रजनीकाल अप्रतिम लाग्छ । सडकमा एकोहोरो भुकिरहेका कुकुरको आवाज भुलेर मस्त निदाइहेको हुन्छ– दिनभर थाकेको सडक ।
नाम्लोमा बोकेर पृथ्वीजत्रै दुःख– उक्लिरहेछन्– मानिसहरू बाँसजस्ता घरका सिँडी । ठेलामा ठेलेर जीवन जस्तै दुःख– निस्पाप मुस्कुराइरहेका हुन्छन् भरियाहरू । भूगोल–पार्कभित्र भूगोलबाटै हराएका कलिला भविष्यहरू निर्वाध खेलिरहेका छन् । भोकाएकाहरू भोकको डाह मार्न, फैलाइरहेका छन् हस्तरेखा मेटिएका हातहरू ।
प्रत्येक पल घ्यार्र.. घ्यार्र..! टिँट..टिँट..! टयाँट.. टयाँट..! आवाजले बिथोलिरहन्छ– यो सडकको शून्यता । न्युरोड छिर्दा हरेक मानिस सेतो गेटबाट ठाडो शिर छिर्छ । फर्किंदा शिर झुकाएर फर्किन्छ । मानिसहरूको अहम् भत्काउँछ न्युरोड । जीवनको उत्साहमा खेल्छ न्युरोड । क्रङ्क्रिटको घना जङ्गल हो यो । मानिसहरूको हुलले नित्य ढाकिरहन्छ । आशा/अपेक्षा/तृष्णा/वितृष्णा/तितीक्षा/जुगुप्सा/मुमुक्षा सबै भाव बोक्नेहरू निर्वाध घुमिरहेका हुन्छन् यो सडक । सार्थक सपना किन नहुन, स्खलित सपनाहरू किन नहुन निर्वाध बोकेर हिँड्न अभिशप्त छन्– टाउकाहरू !
न्युरोड सभ्यता चियाउने आँखीझ्याल हो, जहाँबाट सौन्दर्यको गहिराइ अनुभूत गर्न सकिन्छ । सभ्यताको उचाइ नाप्न सकिन्छ । चेतनाको स्तर बुझ्न सकिन्छ र इतिहासको गति पहिल्याउन सकिन्छ । यो सडक सञ्चारको जननी हो । सूचनाको सुगन्ध हो, जहाँ नेपाली सञ्चारको धरोहर पहेँलो रङमा मुस्कुराइरहेको हुन्छ । हरेक दिन सूचनाको पैताला टेकेर विश्व घुमिरहेछन्– गोरखापत्रका शालीन अक्षरहरू । भूगोल–पार्कतिर फर्किएर– बूढो पीपलबोट, जुद्धशमशेरलाई क्रान्तिको कविता सुनाइरहेछ । सम्झाइरहेछ कविताको सामथ्र्य ! पढाइरहेछ लोकतन्त्रको सौन्दर्य । नजिकै बुटपालिस गर्नेहरू– गुनगुनाइरहेछन्– गोपालप्रसादको– आमाको सपना । परिवर्तनको सपना बोक्छ– पीपलबोट । साहित्यको खुला ऐकेडेमी हो– पीपलबोट । क्रान्तिको नायक हो पीपलबोट । गोश्वारा दर्शन हो यो । गोश्वारा विचार हो यो । गोश्वारा चेतना हो यो ।
पलपल व्यस्त छ– यो सडक ! हरपल अस्त– व्यस्त छ– यो सडक ! अस्त– व्यस्तमै मस्त छ– यो सडक । मानिस अलमलमा छन् । गाडीहरू अलमलमा छन् । गन्तव्य अलमलमा छ । गति अलमलमा छ ।
न्युरोड–
कविताको विम्ब हो ।
कथाको एउटा परिवेश हो ।
निबन्धको सघन विचार हो ।
सभ्यताको दर्शन हो ।
सडक–क्रान्तिको जननी हो ।
नलेखिएको इतिहास हो ।
नबुझिएको संस्कृति हो ।
संस्कार हो, र शैली हो ।
अविच्छिन्नतामा अजेय सौन्दर्य हो । यो हेराइमा पृथक् छ । यो बुझाइमा पृथक् छ । यो अनुभूतिमा पृथक् छ । यो मौलिकतामा पृथक् छ । यो विविधतामा पृथक् छ । बुझेर बुझ्न गाह्रो अमूर्त कलाजस्तो छ । क्लिष्ट कविताजस्तो छ । हरेक दिन हजारौँ पैतालालाई सम्मोहित गरेर आफू जुद्धशमशेरको शालिकझैँ चुपचाप छ । मनमग्न छ÷मौन छ– नयाँ सडक उर्फ न्युरोड ! प्राण भएर पनि निष्प्राण छ । विचार भए पनि विचारविहीन छ । आवाज भएर पनि आवाजविहीन जस्तो छ । दिनभर भूगोलपार्कको एकमुठी घाममा आफ्नो ढाड सेकाउँदै मानिसहरूको गतिशीलता हेरिरहेको हुन्छ । गोरखापत्रसँग उभिएर निरन्तर सुसाइरहेको हुन्छ पीपलबोट । आस्थाको केन्द्र हो पीपलबोट । भरोसाको धरोहर हो पीपलबोट । न्युरोडको शान÷मान र ज्ञान हो– पीपलबोट । वर्षौंदेखि ठिङ्ग उभिएको प्रकृति विम्ब हो । सौन्दर्यको प्रतीक हो । विचारको अविचलित आधार हो । भुइँ मानिसहरूको आधार र आश्रय हो । ताप र रापमा छहारी प्रदान गर्ने शीतलताको एक्लो आधार हो– पीपलबोट !
यहाँका बर्गर हाउस, मम कर्नर, कफी सप, पिजा सेन्टर र बेकरी सपको टेबलमा देश प्रतिविम्बित हुन्छ । यहाँ सडकमा मोटर कम मानिस बढी गुडड्छन् । जुद्धशमशेर बीच सडकमा ठिङ्ग उभिएर– पीपल बोटसँग सोधिरहेछन् प्रश्नमाथि प्रश्न ? भूगोलपार्क चुपचाप निदाइरहेको छ । काठमाडौँको केन्द्र हो यो । सहरको मुटु, युवक– युवतीहरूको सपना र परिवर्तनको चेतना हो यो । विशालबजारको सटरमा ब्रान्डेड कपडा किनिरहेका हुन्छन्– मानिसहरू । सस्तो खोज्ने ग्राहकको मुख्य केन्द्र हो यो । महँगो ब्रान्ड रोज्ने ग्राहकहरूको गन्तव्य हो यो । फुटपाथमा ‘आयो–आयो !’ भन्दै सस्तोमा सामान बेचिरहेको हुन्छ– न्युरोड । जुनसुकै हैसियतका ग्राहक पुगिरहेका हुन्छन्– न्युरोड । सौन्दर्य प्रसाधनका सामग्री रोजिरहेका हुन्छन् ग्राहक । हरेक मानिस खुसी किन्न पुग्छ न्युरोड । मनहरू हरदम आह्लादित हुन्छन् । आँखाहरू हरपल हेरेर थाक्दैनन् न्युरोडको दृश्य । कानहरू पलपल सुनेर गल्दैनन्– न्युरोडको सङ्गीत । कतै कामुक गन्धको सुगन्ध चल्छ । कतै स्ट्रबेरीको स्वादसँगै मायालु लवज फुसफुसाउँदै हिँडिरहेको हुन्छ न्युरोड । कतै लाज पनि लजाउँछ । पारदर्शी परिधानभित्र सधैँ रोमाञ्चित यो सडकको आफ्नै मौलिकता छ । आफ्नै विश्वदृष्टि र विशद चेतना छ ।
न्युरोड देशको गौरव हो । काठमाडौँको सौरभ हो । राजधानीको पौरख हो ।