• २७ वैशाख २०८२, शनिबार

सरकारको न्यूनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक हुने

blog

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, चैत २३ गते। १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। 

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति गरेको जानकारी दिनुभयो। 

उहाँले साना केही सुझाव बिहीबार साँझ ५ बजेसम्ममा प्राप्त भएपछि  सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको बत्ताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘राजनीतिक दलबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो। मोटामोटी रूपमा सहमति भएको छ।सानातिना सुझाव केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ। लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको बारेमा, सुशासनका बारेमा मूलभूत रूपमा सहमति भएको छ।’’

महासचिव गुरुङले आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको उहाँले प्रष्ट पार्नुभएको छ।