• १३ असोज २०८१, आइतबार

धनकुटा बजारमा विद्युतकाे नाङ्गो तार हटाइयो

blog

धनकुटा बजारमा विद्युत् नाङ्गो तार फेरिँदै । तस्बिर: कोकिला

कोकिला भण्डारी
धनकुटा, चैत २३ गते। धनकुटा नगरपालिका ७ वडा कार्यालय र विद्युत प्राधिकरणको समन्वयमा हुलाक टोल क्षेत्रमा तार फेर्ने काम भइरहेको छ।

धनकुटा बजार क्षेत्रमा विद्युत् नाङ्गो तार हटाउन थालिएको छ।विद्युत् लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउन थालिएको हो ।पहिलो चरणमा मङ्गलबार मदन चोकदेखि परिचय मोड सम्मको तार फेर्ने काम भइरहेको विद्युत् प्राधिकरण धनकुटाका प्रमुख प्रलाद पोखरेलले जानकारी दिनुभयो।

उहाँका अनुसार एबीसी केवलमा एउटै लट्ठा भित्र धेरै वटा तार राखिएको हुन्छ र बाहिरी कभर हुनाले छुँदा करेन्ट लाग्दैन।तर, तार पुरानो हुँदै जाँदा कुनै कारणले बाहिरी कभर उक्किएको अवस्थामा करेन्ट लाग्न सक्ने भएकाले जथाभाबी नछुन उहाँको सुझाव छ ।

सडक क्षेत्रमा नगर प्रहरी खटाएर विद्युत् प्राधिकरणका कर्मचारीले तार फेर्ने काम गरिरहेका छन्।विद्युत् प्राधिकरणसँगको समन्वयमा क्रमिक रूपमा बजार क्षेत्रका सबै नाङ्गो तार हटाइने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो ।

‘‘नाङ्गो तारमा करेन्ट लाग्ने जोखिम हुन्छ, बजार क्षेत्रमा हेर्दा पनि तार गज्याङगुजुङ नराम्रो देखिने हुनाले एउटै लट्ठा भएको एबीसी तार लगाउन थालिएको हो’’, नगर प्रमुख तामाङ भन्नुहुन्छ, ‘‘पहिलो चरणमा हुलाक टोल क्षेत्रमा तार फेरियो, अब विद्युत् प्राधिकरणसँग समन्वय गरेर क्रमिक रूपमा बजार क्षेत्रका सबै नाङ्गो तार हटाउँछौँ ।’’
यसअघि हिले बजार क्षेत्रमा पनि नाङ्गो तार हटाएर एबीसी केवल लगाइएको छ।