• २३ वैशाख २०८१, आइतबार

प्रेरक व्यक्तित्त्व म्याक्सिम गोर्की

blog

भाइबहिनी हो ! लेखक बन्ने तिमीहरूको पनि सपना होला । त्यसो भए विश्वविख्यात लेखक म्याक्सिम गोर्कीको जीवन सङ्घर्षबारे जानिराखौँ है त ! गोर्कीको जन्म तत्कालीन रुसको निझ्नी नोभ्गोरोदमा सन् १८६८ मार्च २८ मा गरिब परिवारमा भयो । त्यतिखेर रुसमा जमिनदारहरू दुःख नगरी खेतीको सारा आम्दानी थुपार्थे । किसान र मजदुरलाई कठोर श्रम गर्दा पनि खान पुग्दैनथ्यो । 

गोर्कीको खास नाम आलेक्सेई म्याक्सिमोभिच पेस्कोभ हो । लेखक भएपछि उहाँ म्याक्सिम गोर्की नामले प्रसिद्ध हुनुभयो । रुसी भाषामा गोर्कीको अर्थ हो, दुःखी । त्यो नाम उहाँले आफ्नै भोगाइबाट प्रेरित भएर राख्नुभएको थियो । गोर्की चार वर्ष हुँदा उहाँका सिकर्मी पिता म्याक्सिम सेबातेभिचको मृत्यु भयो । त्यसपछि उहाँ आमापट्टिकी हजुरआमा अकुलिना कासिरिनसँग बस्नुभयो । 

अकुलिना दयालु थिइन् । हजुर आमाले सुनाउने दन्त्य, परी कथा र कविता गोर्की रुचिपूर्वक सुन्नुहुन्थ्यो । तिनैले उहाँलाई दुःखसँग जुध्ने प्रेरणा दिए । गोर्की सात वर्ष हुँदा आमा भार्भाराले दोस्रो बिहे गरिन् । सौतेलो पिता निर्दयी थिए । भुइँमा पछारेर गर्भवती भार्भारालाई छातीमा बुटले लात्ती हिर्काउँथे । घर चलाउन उहाँले हाडका टुक्रा, थोत्रा कपडा, फलामका कबाडी बटुल्नुभयो । यसकै कारण स्कुलका साथीहरू उहाँलाई झुत्रे, मगन्ते भनेर हेप्थे । उहाँ १० वर्षको हुँदा आमा पनि सुकेनासले बितिन् । अनि हजुरबाले उहाँलाई घरबाट निकालिदिए ।  गरिबीले स्कुल छुटे पनि गोर्कीलाई लेखपढमा गहिरो रुचि थियो । 

उहाँलाई हाकिमले मन पराएको देख्दा सहकर्मीहरू ईस्र्या गर्थे ।  एक दिन तिनले गोर्कीलाई चोरीको झुटो आरोप पनि लगाए । उनलाई कामबाट निकालियो । छुट्टिँदा स्मुरीले भने, “यो खराब मानिसको ठाउँ हो । हरेक काम सिक्न कोसिस गर । आँखा खुला राख । केही नबोल । सिर्फ पढ । पुस्तकहरू मानिसका सबैभन्दा असल साथी हुन् ।” 

स्मुरीको यही वचन उहाँको प्रेरणाको सूत्र बन्यो । उहाँले मौका पाउँदा लेखपढ गर्न भने छाड्नुभएन । एउटी युवतीले उहाँलाई रुसी लेखकका किताब उपहार दिइन् । यी किताब पढेर उहाँले आफ्नै देशवासीको जीवनबारे बुझ्न पाउनुभयो । गोर्कीले कथा, कविता पनि लेख्न थाल्नुभयो । उहाँ आफ्ना कथा, कविता विभिन्न पत्रिकामा पठाउनु हुन्थ्यो । सम्पादकहरू उहाँका रचना नपढी मिल्काइदिन्थे । 

अलेक्जेन्डर कास्युनीले उहाँको कथा प्रसिद्ध पत्रिकामा छपाइदिए । त्यो कथा सबैले रुचाए । कथाको शीर्षक थियो, ‘मकार चुद्रा’ । रुसका ठूला लेखक भ्लादिमिर कोरोलेङ्कोसँग भेट भएपछि लेखन शैली सुधार्न गोर्कीलाई धेरै सहयोग गरे । उनैले गोर्कीका रचना रुसको प्रसिद्ध पत्रिकाहरूमा छपाइदिए । उहाँका रचना पहिला रुसभरि प्रसिद्ध भए । बिस्तारै ती विश्वप्रसिद्ध भए । पछि उहाँ पाँचपल्टसम्म नोबेल पुरस्कारका लागि मनोनीत हुनुभयो । 

गोर्की संसारकै उत्कृष्ट उपन्यासकार, कथाकार र नाटककार मानिनु हुन्छ । सन् १९०७ मा प्रकाशित ‘आमा’ उहाँको सबैभन्दा प्रसिद्ध उपन्यास हो । ‘निकृष्ट खाल्डो’ उहाँको विश्वप्रसिद्ध नाटक हो । मानवताका पक्षमा निरन्तर आवाज उठाउनुभयो । दुःखसँग हार नखाने र लेखपढ गर्ने उत्कट इच्छाले नै उहाँ विश्वप्रसिद्ध लेखक बन्नुभयो । सन् १९३६ जुन १८ मा उहाँको निधन भयो तर महान् लेखकका रूपमा उहाँ सधैँ जीवित रहनु हुनेछ ।