• १३ साउन २०८१, आइतबार

मनाइयो कथा दिवस

blog

काठमाडौँ,चैत २३ गते । साहित्यिक पत्रकार सङ्घले नियमित रूपमा मनाउँदै आएको कथा दिवस यस पटक पनि विविध कार्यक्रम गरेर मनाइएको छ । ४२औँ कथा दिवसका अवसरमा ‘मैनालीका कथामा पूर्वीय आदर्श चेतना’ विषयमा विद्यावारिधि गर्नुभएका डा. घनश्याम पुडासैनीलाई ‘मैनाली कथा सम्मान’ प्रदान गरियो । सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित कार्यक्रममा कथाकार हिरण्यकुमारी पाठकले डा. पुडासैनीलाई सम्मान गर्नुभयो । यसैगरी सङ्घका आजीवन सदस्य रेखा यादवलाई सांसदजस्तो गरिमामय जिम्मेवारीमा पुग्न सफल भएकोमा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा स्रष्टाहरूले लघुकथा वाचन गर्नुभएको थियो । कथाकार पाठक, श्रीओम श्रेष्ठ ‘रोदन’, तुलसीहरि कोइराला, विमल भौकाजी, हरि थापा, निर्मल पराजुली, ममता मृदुल, नरेन्द्रबहादुर श्रेष्ठलगायतले लघुकथा वाचन गर्नुभएको थियो । यसैगरी वरिष्ठ आख्यानकार पद्मावती सिंह, डा. दामोदर पुडासैनी, यादव भट्टराईलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सङ्घका अध्यक्ष लेकालीले कथाकार गुरुप्रसाद मैनालीसँग जोडेर साहित्यिक पत्रकार सङ्घले कथा दिवस मनाउने परम्परा बसालेको जानकारी दिनुभयो ।