• १३ साउन २०८१, आइतबार

सिक्किममा हिमपहिरो : तीन नेपालीसहित सातको मृत्यु

blog

काठमाडौं, चैत २२ गते । सिक्किममा मङ्गलबार गएको हिमपहिरोमा परेर तीन जना नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । हिमपहिरोमा परेर ज्यान गुमाएका सातमध्ये तीन जना नेपाली नागरिक रहेको खुलेको हो ।

त्यस्तै, घाइते भएका १३ जनामध्ये तीन जना नेपाली नागरिक रहेको जनाइएको छ । हिमपहिरोमा परी नेपालका तीन, भारत उत्तर प्रदेशका दुई र पश्चिम बङ्गालका दुई जनाको ज्यान गएको हो ।

गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचिअनुसार ज्यान गुमाउनेमा नेपालको चितवन जिल्लाका  शिवप्रसाद लामिछाने, २२ वर्षकी आशिका ढकाल र रुपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठ रहनुभएको छ ।

त्यसैगरी, उत्तर प्रदेशका ३२ वर्षका बल सिंह र ६ वर्षकी रेव्या सिंह, पश्चिम बङ्गालका २८ वर्षका सौरभ रोय चौधरी र ३८ वर्षका प्रितम मतिए छन्।

त्यसैगरी, हिमपहिरोमा परी घाइते भएका १३ जनामध्ये सात जनालाई गान्तोकको एसटीएनएम अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ६ जनाको उपचार चलिरहेको छ ।

घाइतेमध्ये नेपालका ४० वर्षीया गीता सापकोटा, ३८ वर्षकी ज्योति गुरुङ र ४३ वर्षका रमेश खनालसहित सिलिगुडीका पिपल सरकार र रञ्जिता दास र कोलकाताका शुभ्र ज्योतिको अस्पतालमा उपचार चलिरहेको छ ।

दिल्लीका पर्व गोयल र नेहाल गोयल, लखनउका निरज शर्मा, कोलकाताकी पुतुल सिंह र कोलकाताकै राकेश सिंह, सुमित दास, तथागत रोय चौधरी सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । गान्तोकका जिल्ला कलेक्टर तुषार जी निखारेले घटनामा तीन जना नेपाली नागरिकसहित सात जनाको ज्यान गएको बताउनु भयो ।

हिमपहिरोमा ज्यान गुमाएकाको शवलाई उनीहरूको घरसम्म राज्य सरकारले पुर्‍याउने निर्णय गरेको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले मङ्गलबार साँझ एसटीएनएम अस्पतालमा घाइतेहरूसँग भेट गरी उनीहरूको सबै उपचार खर्च राज्य सरकारले वहन गर्ने र मृतकहरूको शव पनि राज्य सरकारले उनीहरूको घरसम्म पुर्‍याउने बताउनुभयो ।

सिक्किमको नाथुला पास नजिकै छाङ्गुमा मङ्गलबार हिमपहिरो गएको घटनास्थलमा आज (बुधबार) पनि उद्धार कार्य सुरु गरिएको छ । हिजो गान्तोकबाट नाथुला पास जाने जवाहरलाल नेहरु राजमार्गको छाङ्गुमा मध्याह्न सवा १२ बजे हिमपहिरो गए लगत्तै सुरु गरिएको उद्धार कार्य खराब मौसमका कारण साँझ ६ बजेसम्म मात्रै गरिएको थियो भने आज बिहान ८ बजेदेखि पुनः उद्धार कार्य सुरु गरिएको छ ।