• १३ साउन २०८१, आइतबार

‘सरकार र निर्माण व्यवसायी मिलेर काम गर्नुपर्छ’

blog

काठमाडौँ, चैत २२ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताउनुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री ज्वालाले निर्माण व्यवसायीहरूसँग सहकार्य गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो । मुलुक विकासका लागि पूर्वाधार नै महत्वपूर्ण क्षेत्र रहेको बताउँदै मन्त्री ज्वालाले पूर्वाधार क्षेत्रमा योगदान दिने पात्र निर्माण व्यवसायीहरू भएको बताउनुभयो ।

“सरकार र निर्माण व्यवसायी पक्ष–प्रतिपक्षी होइनन्, मिलेर काम गर्नुपर्छ,” मन्त्री ज्वालाले भन्नुभयो । निर्माण व्यवसायीहरूको समस्याबारे सरकार जानकार रहेको स्पष्ट पार्दै मन्त्री ज्वालाले निर्माण व्यवसायी मैत्री ऐन कानुन निर्माणका लागि पहल गर्ने बताउनुभयो । राष्ट्र र जनताप्रतिको जिम्मेवारी बोध गर्दै काम गर्न उहाँले निर्माण व्यवसायीहरूको ध्यानाकर्षण गराउनुभयो । 

सो अवसरमा महासङ्घका अध्यक्ष रवि सिंहले भुक्तानी अभावका कारण निर्माण उद्योग अत्यन्त असहज अवस्थामा रहेको मन्त्रीलाई जानकारी गराउनुभयो । निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा त्यसको गम्भीर असर राज्यको ‘सप्लाई चेन’मै परेको भन्दै अध्यक्ष सिंहले व्यवसायीहरूले बीस प्रतिशत मोबिलाइजेसन पेस्की रकम पाउनुपर्ने तर्क राख्नुभयो ।

महासङ्घको २४औँ साधारण सभाबाट पारित घोषणापत्र मन्त्री ज्वाललाई हस्तान्तरण गर्दै अध्यक्ष सिंहले घोषणापत्र कार्यान्वयनका लागि ध्यानाकर्षण गराउनुभयो । निर्माण व्यवसायसँग सम्बन्धित ऐन, कानुन संशोधन गर्दा निर्माण व्यवसायीलगायतका सरोकारवाला सबैलाई अनिवार्य संलग्न गराउन अध्यक्ष सिंहले आग्रह गर्नुभयो ।