• १३ साउन २०८१, आइतबार

‘आन्तरिक विद्युत् खपत क्षमता वृद्धि प्राथमिकतामा’

blog

काठमाडौँ, चैत २१ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत् देशभित्रै खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ । 

नेपाल विद्युत् प्राधिकरणले सोमबार गरेको स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधार सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताउनुभयो । “विद्युत्को आन्तरिक खपत क्षमता वृद्धि गरी बढी भएको विद्युत् निर्यात गर्नुपर्छ,” मन्त्री बस्नेतले भन्नुभयो । पूर्वाधार विस्तारका लागि आवश्यक पर्ने लगानी जुटाउन अर्थ मन्त्रालयलगायतका निकायसँग आवश्यक समन्वय गरिने उहाँको भनाइ थियो । 

जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा वन क्षेत्रको प्रयोग तथा रुख कटानमा देखिएको समस्याका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै पूर्ववनमन्त्रीसमेत रहनुभएका मन्त्री बस्नेतले वन र सुरक्षाका कारण आयोजना निर्माणमा हुने ढिलासुस्ती रोक्न आफू सक्रियताका साथ लाग्ने बताउनुभयो । सार्वजनिक संस्थाहरूमध्ये प्राधिकरणले देशमा सकारात्मक मानक स्थापना गरेको बताउँदै प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री बस्नेतले स्थापित सकारात्मक मानक अभिवृद्धिका लागि थप भूमिका निर्वाह गर्न जवाफदेही बन्न र नयाँ सम्भावनालाई उपयोग गर्दै अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आन्तरिक रूपमा विद्युत् खपत बढाउन प्रसारण तथा वितरण प्रणालीका संरचनाको सुधार तथा विस्तार, रणनीतिक रूपका ठूला जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विद्युत् सेवा विस्तारमा जोड दिइनुपर्ने बताउनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाको विस्तृत विवरण प्रस्तुत गर्दै वर्षायामको विद्युत् व्यवस्थापन अहिलेको प्रमुख चुनौती रहेको बताउनुभयो । 

‘देशभित्र खपत बढाउन र बढी भएको विद्युत् निर्यातका लागि निर्माणाधीन विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनासहित आगामी पाँच वर्षका लागि तय गरिएका योजनाको कार्यान्वयन गर्न साढे आठ खर्ब रुपियाँभन्दा बढी लगानी आवश्यक पर्ने उहाँको भनाइ थियो । “तर यसका लागि सरकारका तर्फबाट ठूलो लगानी ग्याप छ, उक्त ग्याप सरकार, प्राधिकरण र दातृ निकायबाट पूर्ति गर्नुपर्ने अवस्था छ, यसका लागि सहजीकरण र समन्वय आवश्यक छ,” घिसिङले भन्नुभयो ।  उहाँले यस वर्षको वर्षायाममा आन्तरिक रूपमा खपत गरी बढी भएको एक हजारदेखि एक हजार दुई सय मेगावाटसम्म विद्युत् निर्यात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । ऊर्जा क्षेत्रले अनुभवी मन्त्री पाएको उल्लेख गर्दै घिसिङले वन क्षेत्रको समस्या समाधान, शान्तिसुरक्षा प्रबन्धलगायतमा सहजीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।