• ३० चैत २०८२, सोमबार

मूल्यवृद्धिले निर्माण उद्योग प्रभावित

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत ३० गते । इन्धनको मूल्यवृद्धिसँगै सिमेन्ट र डन्डीको मूल्य बढेपछि निर्माण क्षेत्र प्रभावित भएको छ । अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका कारण देखाउँदै सिमेन्ट र डन्डीको मूल्यवृद्धि गरिएसँगै निर्माण पनि प्रभावित भएको हो । 

नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार पछिल्लो समयमा सिमेन्टमा प्रतिबोरा १५० रुपियाँ बढेको छ भने डन्डी प्रतिकेजी २० रुपियाँसम्म बढेको छ । सामान्यतया बजारमा ओपिसी सिमेन्ट प्रतिबोरा ६८० बाट बढेर ८३० रुपियाँ र पिपिसी सिमेन्ट प्रतिबोरा ६२० रुपियाँबाट बढेर ७६० रुपियाँमा कारोबार भएको छ । यस्तै डन्डी प्रतिकेजी ८५ रुपियाँबाट बढेर १०५ रुपियाँमा किनबेच भएको छ । 

महासङ्घका पूर्वअध्यक्ष रवि सिंहले सिमेन्ट र डन्डीको कम्पनीको ब्रान्ड र क्षेत्र अनुसार मूल्य फरक भएकाले सबैको एउटै भाउ नभएको तर अहिले बढेको मूल्य औसतमा हेर्दा सिमेन्टमा प्रतिबोरा १३० देखि १५० रुपियाँ र डन्डी प्रतिकेजी २० रुपियाँसम्म बढेको जानकारी दिनुभयो । 

पछिल्लो समयमा दिनदिनैको मूल्यवृद्धिले इन्धन र निर्माण सामग्री मूल्यवृद्धिले गर्दा निर्माणको ‘पिक टाइम’ मा पनि निर्माण क्षमताको १५÷२० प्रतिशत मात्रै सीमित भएको पनि उहाँले जानकारी दिनुुभयो । 

पश्चिम एसियामा युद्धको प्रारम्भै हुँदा नै बढ्न थालेको निर्माण सामग्रीको मूल्य अहिले झनै बढेको भन्दै उहाँले इन्धनको अभावसँगै श्रमिकको अभाव, निर्माण सामग्रीको महँगीले गर्दा अत्यावश्यकबाहेकका कार्य सबै ठप्प भएको बताउनुभयो । उहाँले सामग्रीको अभाव र मूल्यवृद्धिका कारण निर्माण उद्योग नै धराशायी हुने अवस्था पुगेको  बताउनुभयो । 

सिमेन्ट र डन्डी उद्योगी भने अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वको अवस्था हेर्दा तत्काल रोकिने अवस्था नरहेकाले निर्माण सामग्रीको मूल्य अझै बढ्ने बताउँछन् । उद्योगीले सिमेन्ट र डन्डीको उत्पादन नेपालमा भए पनि त्यसलाई चाहिने कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने र कच्चा पदार्थको मूल्य बढेकाले त्यसको असर मूल्यमा परेको बताएका छन् । उद्योगीले अहिलेको महँगीमा कच्चा पदार्थ ल्याएर निर्माण सामग्री उत्पादन गर्दा बजारको पनि समस्या हुने भएकाले उद्योग नै बन्द गर्ने अवस्थामा पुगेको गुनासो गर्दै आएका छन् ।