• १३ साउन २०८१, आइतबार

‘निजी क्षेत्रको साथमा छु, समस्या समाधानमा लाग्नेछु’

blog

काठमाडौँ, चैत २१ गते । उद्योगमन्त्री रमेश रिजालले उद्योग व्यवसायमा देखिएका समस्या समाधान गर्न लाग्ने बताउनुुभएको छ । नेपाल उद्योग परिसङ्घसँगको भेटको क्रममा सोमबार उद्योगमन्त्री रिजालले मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रलाई प्रोत्साहन नगरी नहुने भएकाले उद्योग व्यवसायमा देखिएका समस्या समाधान गर्न प्रभावकारी रूपमा लाग्ने बताउनुभएको छ ।  

“निजी क्षेत्रको साथमा छु, निजी क्षेत्रको समस्या समाधान गर्न पूर्ण रूपमा लाग्ने छु, चिन्ता नगर्नू” मन्त्री रिजालले भन्नुभयो । सो अवसरमा नेपाल उद्योग परिसङ्घले मन्त्री रिजाललाई उद्योगी व्यवसायीहरूको मनोबल उकास्ने काम गर्न आग्रह गरेको छ । 

परिसङ्घका अध्यक्ष  विष्णु अग्रवालले मागमा आएको उच्च सङ्कुचन, उच्च ब्याजदर, लगानी योग्य पुँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएकाले अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीहरूको मनोबल बढाउन आवश्यक रहेको बताउनुभयो । मागमा आएको उच्च सङ्कुचनका कारण नयाँ लगानीका योजना ठप्प भएको, मनोबल निकै खस्किएकाले यसबाट निकास दिनुपर्ने उहाँले सुझाव दिनुभयो । 

कुल गार्हस्थ उत्पादन (जीडीपी)मा उत्पादनमूलक उद्योगहरूको योगदान निरन्तर घट्दो रहेको बताउँदै उहाँले अर्थतन्त्रमा उत्पादनमूलक उद्योगहरूको योगदान बढाउन वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।  

औद्योगिकीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सक्ने हुँदा नेपालको औद्योगिकीकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन उहाँले अनुरोध गर्नुभयो । 

परिसङ्घले औद्योगिकीकरणलाई बढावा दिन सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको ‘मेक इन नेपाल– स्वदेशी’ अभियानका बारेमा जानकारी गराउनुभयो । 

परिसङ्घले आयात प्रतिस्थापन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्न, चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउन पनि आग्रह गरेको छ ।