• ८ मंसिर २०८१, शनिबार

असहाय (कथा)

blog

“डाक्टरले के भन्यो ?”

“बढीमा छ महिना ।”

पति निदाएजस्तो गरिरह्यो । यो प्रश्नले उसलाई त्रस्त पारिरहन्थ्यो । सबैले माया मारिसकेका थिए । उसकी पत्नीले मात्र आँसु झारिरहन्थी । भाइबुहारी पालैपालो कुरुवा बस्थे पहिले त पछि त्यो क्रममा पनि व्यवधान आयो । सबैले छ महिना पनि बढी भयो भनेजस्तो आआफ्ना व्यस्तता देखाउन थाले । मात्र पत्नीले सकीनसकी उसको स्याहार गरिरहेकी थिई । उसलाई लागिरहन्थ्यो, कुनै दिन पत्नी पनि ढल्ने हो । भाइहरू छुट्टिसकेका र छोराछारीहरू विदेश पलायन गरिसकेका थिए । उसको अन्तिम संस्कारमा करैकरले आउन सक्थे तर त्यसको पनि ठेगान थिएन । उसलाई पनि लाग्न थालिसकेको थियो, जानै पाए हुन्थ्यो । 

छिमेकीहरू टाढा नजिक सबैतिरबाट आउँथे । पहिलो प्रश्न यही हुन्थ्यो– “डाक्टरले के भन्यो ?” उसले आवेशमा आएर चिच्याएर भन्न चाहन्थ्यो, “छ महिनाभन्दा बाँच्दैन भनेको छ ।”  रोगले च्यापेर अन्तिम चरणतिर पुगिसकेकोले ऊ आवेशमा आउन सक्तैनथ्यो । उसमा कोल्टे फेर्ने शक्ति पनि गायब थियो । दिसापिसाब ओछ्यानमै । सोहोर्ने र स्याहार्ने, लुगा फेरिदिने पत्नी मात्र नै थिई । मलमूत्रप्रति सबैमा स्वाभाविक घृणा थियो । बेलाबेला रातिराति उठेर पतिको सास चले नचलेको उसैले कान थापेर सुन्थी । सास नचले ? यस्तो विचारलाई निर्मूल गर्न ऊ पतिलाई मसार्न लाग्थी । अनिष्ट आशङ्काबाट मुक्त, हुन मात्र होइन पति सेवाले प्रसन्न गराएर यमराजबाट फिर्ता माग्न सक्छु भन्ने एउटा विश्वास पनि पलाउँथ्यो । कहिले पति निस्लोट निदाएको बेला अनिष्टको आशङ्काले अत्तालिएर रुन थाल्थी । केमोले खुइलिएको टाउको हेरेर झन्झन् आश्रुधारा बगाउँथी । कहिले ऊ निदाएको भेट्थी त कहिले जागा भएर कहराइरहेको । पत्नीलाई लागिरहन्थ्यो– डाक्टरले भनेको छ महिना पनि काट्न पतिलाई गारो छ । मनमा एउटा दुष्ट विचार पनि आउँथ्यो– “गइदिए हुन्थ्यो यस्तो असह्यको दुःख सहनुभन्दा ।” उसका ससुरा पनि यसरी नै गएका थिए, अस्पतालको बेडमा । उति बेला बाबुको सेवामा सबै जुटेका थिए । भनियो– “बूढा भाग्यमानी रहेछन् । उस जन्ममा यिनले धर्म कमाएका हरेछन् । यस स्थापनाका आधारमा उसको पतिलाई अधर्मी भन्न सक्थे ? ससुराको सेवा गर्नुको अनुभव उसलाई थियो । यद्यपि ऊ स्वयम् यस रोगको फेला परेकी थिइनँ । उसको पति यस रोगले थलिएको थियो ।” 

पतिको प्र्राणान्त भएको संशय आएको समय अनिष्ट कुराको अधीन परेको भनेर पत्नी आफैँलाई धिक्कार्थी । भाग्यलाई धिक्कार्थी– यस्तो धरापमा पा¥यो भनेर । पतिको असामयिक मरणको अवस्थालाई ऊ धराप मान्थी । बिहे भएको अठार वर्षपछि पतिले ओछ्यान समातेको थियो । कता लगिनँ उसले । मुुम्बई–डिल्ली–लखनऊ । एक्ली महिला । सबै ठाउँका डाक्टरको एउटै राय थियो– “आयु अल्प छ, लाग्नेबित्तिकै ल्याएको भए ...।” “लाग्नेबित्तिकै उपचारका लागि ल्याएको भए पनि ठेगान हुँदैनथ्यो, ढाडस दिन डाक्टर त्यसोभन्दा हुन्,” पत्नीले सोची । सबैले एकै स्वरमा भने– “धेरै गए छ महिना ।” यो छ महिनाको भारीले पत्नीलाई थिचिराख्यो । छ महिना ! अगि फागुन थियो, अहिले चैतको चार भइसक्यो । पत्नीले खुइय सुस्ेकला हाली । दिनहरू बित्न कति बेर । उसलाई लागिरह्यो पतिसँग बिछोडिने दिन नजिकिँदै छ । उसको मन आर्त भयो, भावविह्वल । 

सबै ठाउँका डाक्टरले घर लगेर उहाँको सेवा गर्नोस्, अर्को उपाय छैन भनेपछि मन मारेर घर ल्याई । झारफुक, धामी–झाँक्री पनि गरी । मन्दिरमन्दिर गई । भाकल गरी । छरछिमेकले भने– जसलाई पर्छ उसैलाई थाहा हुन्छ । यति भनेपछि छरछिमेकले आफ्नो सहानुभूतिशीलता देखाएको मानेर अरू कामतिर लाग्थे । यो बिरामी नै त्यस्तो हो, मान्छेलाई पनि खान्छ, सम्पत्ति पनि लिएर जान्छ । बाँकी दुःख पत्नीले सहनु पर्छ । सुख थाहा हुनु थिएन, ऊ असीमित दुःख भोगिरहेकी थिई । घरमा कोही न कोही बिरामीको हालचाल सोध्न आइरहन्थे । अर्को पक्ष यो पनि थियो जति पैसा खन्याए पनि बिरामीलाई राहत दिन सकिँदैनथ्यो । पत्नीलाई रात्रिको निद्रा र दिउँसको भोक लाग्ने अवसर थिएन । 

घरमा बिरामी जो भेट्न आउँथे उनीहरूको प्रश्न एउटै हुन्थ्यो– डाक्टरले के भन्यो ? डाक्टरले अर्को कुरो भन्ने ठाउँ नै थिएन । छ महिना । महिना पनि बित्दै थिए । अन्तिम अन्तिमतिर पतिले भन्न थाल्यो– “अब जान पाए हुन्थ्यो, यस्तो असह्य दुखाइ भोगिरहनुभन्दा त ।” उसले भनी– “यस्तो भन्ने होइन, ईश्वरले हात थाप्न सक्छन् ।” पति अत्यन्त वेदनाग्रस्त पीडित स्वरमा बोलिरहेको थियो, त्यही स्वरमा बिस्तारै भन्यो– “ईश्वरले दण्ड दिएर त यस्तो भयो । कुन जन्ममा गरेको पापको फल यसरी भोगिरहेछु ।” यातना यो थियो, रोगले भित्रैदेखि दुखाउँथ्यो, असह्य तवरमा, पूरै शरीर जर्जर भइसक्केको थियो । अनि पतिले अलिकति आँसु बगाएर भन्यो– “मलाई तिम्रो चिन्ता लाग्छ । हिम्मत नहारे ।” अलिकति आँसु यस कारण कि ऊ रोइरहन्थ्यो सुतीसुती र आँसु सुकिसकेका थिए । पत्नीका लागि हिम्मत गर्नु पनि केही थिएन, पतिको अवसानपछि । त्यही बाटो लाग्न पाए हुन्थ्यो भन्ने सोचिरहन्थी  तर त्यस्तो हुन सक्दैनथ्यो, किन ? यसको सरल र सजिलो उत्तर पत्नीसित थिएन । यो एउटा उत्तर मात्र थियो– काल नआई मरिँदैन । पत्नी सरल स्वभावकी थिई । जटिल कुरा सोच्न उसको दिमागले भ्याउँदैनथ्यो । पतिलाई देखेपछि उत्फुल्ल हुन्थी– केटाकेटीलाई बाबाले इच्छित मिठाई ल्याइदिएझैँ । पतिको इच्छाअनुसार आचरण गर्थी, ती पूरा गर्नतिर तन्मय भएर लाग्थी । 

पत्नीले सोची– “महिनाहरू कटे । त्यो भयङ्कर दिन वा क्षण कुनै बेला पनि आउन सक्छ । उसले आपूmलाई मानसिक रूपमा तयार गर्नु पनि थियो । मानौँ कुनै पहिरोले पुरिएपछि त्यस पहिरोका ढुङ्गा माटो पन्छाएर बाहिर निस्कनु छ । कष्टपूर्ण जीवन उसले भोग्नु छ । छोराछोरी भनेका त्यस्तै हुन् । छोराछोरीलाई दोष दिनु छैन । समयको स्वार्थी चरित्र र गुण तिनमा पनि आएको छ । 

पछि कुनै एक दिन कसैले ढोकाबाट चियाएर सोध्यो– “बिरामीलाई कस्तो छ ? डाक्टरले के भन्यो ?” 

उत्तर दिनेले अनपेक्षित वा अपेक्षित मान्न सकिने जवाफ दियो– “उहाँ त जानुभो ।”

सोध्नेले आश्चर्य मिसाएर पुनः सोध्यो– “कहिले ?” 

“आज दुई दिन भयो ।” 

पत्नी एक कुनामा थिई– कोरामा बेरिएकी, अशौच बारेर, मुन्टो निहुराएकी । अश्रुधारा बग्दै थिए ।