सुरेन्द्र नेपाल श्रेष्ठ
पिटरले पाँच महिनाअघि आफ्नो मामा नाता पर्ने कलिन स्मिथलाई भेटेर आएपछि नेपाल र नेपालीका बारे सबैसँग गर्नु भएको बखान सुन्दा ‘नेपाली हुँ’ भन्दा थप गर्व महसुस भयो । करिब पाँच वर्षअघि कामका सन्दर्भमा मेनेजरको रूपमा भेट हुनु भएका पिटरले शुरुमा नै ‘तिमी कुन देशबाट आएको’ भनेर प्रश्न गर्नु भयो । मैले नेपाल भनेँ । सामान्यतः यहाँका मानिसहरू गफिन थालेपछि मज्जाले नै कुरा गर्न थाल्छन् । उहाँले यही क्रममा आफ्नो नजिकको नाता पर्ने एकजना लामो समयदेखि नेपालमा नै रहेको तर सम्पर्क नभएको बताउनु भयो । थप कुरा हुँदै जाँदा संयोगले मैले नेपालमा रहेका केही विदेशीहरूबारे प्राप्त युट्युब भिडियोमा हेरेको पुतलीबाजे पो उहाँको आफन्त रहेछन् । उहाँहरू बिचको नाता पहिल्याउन मलाई धेरै मिहिनेत गर्नुपर्यो । शुरुमा त ‘कजन’ भनेकोले र उमेर पनि हाराहारी नै भएकोले काका, मामाका छोराहरू दाजुभाइ होलान् भन्ठानँे । मलाई यो खासै खोजिनीति गर्न पर्ने बिषय पनि लागेन । तर मेरा एकजना आफन्तसँग पिटरको पोखरामा भेट भयो । आफन्तले पटक पटक पिटर र कलिनको नाता के हो भन्ने जिज्ञासा राखेपछि उहाँलाई फेरि सोध्न बाध्य भएँ । पिटरले कापीकलम नै लिएर बुझाउन थाल्नु भयो । पिटरको आमा र कलिनको बाजेबज्यै एउटै, बाबुहरू दाजुभाइ रहेछन् । उहाँले ‘माई ओन स्टेप कजन’ भनिरहनु भयो । मेरो हिसाबमा कलिन उहाँको मामा पर्ने देखेँ । हामीबीच एउटा कुरामा सहमति भयो– दुवै जना एकै पुस्ताका होइनन् ।
नेपालमा पिटरले नेवारी रेस्टुरेन्टमा केही खाना चाख्नु भएको रहेछ । यहाँ आएपछि उहाँले मलाई आजसम्म किन मम नखुवाएको पो भन्न थाल्नु भयो । मैले मम मिठो लाग्छ त भनेको ‘मिठो मात्रै हैन सारै मिठो लाग्छ’ भन्नु भयो । अब दुई महिनापछि उहाँ कामबाट निवृत्त हुनु हुँदैछ । एक दिन सबैलाई मम पार्टी गर्दिन्छु भनेर चित्त बुझाएको छु ।
कलिन स्मिथ नेपालमा ‘पुतलीबाजे’ भनेर चिनिनु हुन्छ । जीवनका अधिकांश समय नेपालमा पाइने विभिन्न प्रकारका पुतलीबारे अध्ययन अध्यापन गरेर उहाँले बिताउनु भयो । उहाँ अन्तिम सास पोखरामा नै लिने र पार्थिव शरीर जलाएर बाँकी रहेको खरानी सेती नदीमा बगाउन पाऊँ भन्ने चाहना राख्नु हुन्छ । उहाँमा रहेको अर्को मुख्य इच्छा चाहिँ नेपाली भएर मर्न पाऊँ भन्ने रहेछ । यसका लागि लामो समयदेखि नै विभिन्न प्रकारका प्रयास पनि गर्नु भएको रहेछ ।
अङ्गीकृत नागरिकता लिनका लागि केही समय लाग्ने र अलि बढी प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ । फेरि पुतलीबाजेको स्वास्थ्य अवस्था पनि त्यति बलियो नभएको कारण उहाँ हिंडडुल गर्न पनि सक्नु हुन्न । त्यसैले देशका लागि यति धेरै योगदान पु¥याउनु भएको व्यक्तिलाई सम्मानस्वरूप सम्मानार्थ नागरिकता दिनु न्याय हुने र यो काम तुरुन्तै पनि हुने भएकोले उहाँलाई नेपालको सम्मानार्थ नागरिकता प्रदान गरियो । २ डिसेम्बर २०१९ मा उहाँले सम्मानार्थ नागरिकता प्राप्त गर्नु भयो । नेपालको सम्मानार्थ नागरिकता पाउनेमा उहाँ तेस्रो बिदेशी हुनु हुन्छ । यसपछि सन् २०२० मा दक्षिण कोरियाका उम् होंग गिलले यो नागरिकता पाउनु भएको छ । यसअघि सन् १९९५ मा नेपाललाई संसारसामु चिनाउने डा. टोनी हेगन र सन् २००३ मा पहिलो सगरमाथा आरोही एडमण्ड हिलारीलाई यो नागरिकता प्रदान गरिएको थियो ।
यस्तै पुतलीबाजेले नेपालको शैक्षिक इतिहासमा गण्डकी बोर्डिङ स्कुल, गोरखाको लुइँटेल स्कुल, पृथ्वी नारायण क्याम्पस, त्रिभुवन विश्वविद्यालय लगायत शैक्षिक संस्थामा अध्यापन गरेर बहुमूल्य योगदान पु¥याउनु भएको छ । नेपालको डाँडाकाँडा, भीरपखेरा पुगेर पाँच सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गरेर छुट्टै सङ्ग्रहालय पनि उहाँले खोल्नु भएको छ । पुतलीको माध्यमबाट नेपाललाई उहाँले विश्वसामु चिनाउनु भएको छ ।
यतिखेर पुतलीबाजे नयाँ गाउँ चर्चमा जीवनका बाँकी दिनहरू बिताइरहनु भएको छ । उमेर पनि धेरै भइसकेको तथा शारीरिक अस्वस्थताको कारण करिब चार महिना ग्रीन पाश्चर हस्पिटलमा उपचार गराउनु भएको थियो । उहाँ लामो समयदेखि आफ्नै सहयोगी मीन परियारको रेखदेखमा रहँदै आउनु भएको छ । मीनको नाममा जग्गा खरिद गरी सानो बासस्थान बनाउनु भएको छ । पाँच वर्षअघि म त्यहाँ पुग्दा पुतलीबाजे आफ्ना दुइटा बिरालोसँग सुतिरहनु भएको थियो । सकी नसकी उठेर टोपी लगाउनु भयो । त्यस बखत नेपाली झण्डासहित नेपाल लेखिएको टिशर्टमा हुनुहुन्थ्यो । पिटरको बारे कुरा उठाएँ । तर लामो समय भएकोले ठम्याउन सक्नु भएन । आफ्नै दाजु चाहिँ केही वर्षअघि छोरीसँग बसाइ सरेर न्युजिल्याण्ड पुग्नु भएको बताउनु भएको थियो । आफ्ना पुराना कामका प्रमाणस्वरूप केही साना पुस्तकहरू, पुतलीको फोटो भएको केही पोस्टकार्डहरू दिनु भयो । सम्पर्कका लागि प्रयोग गर्ने ल्यापटप निकै पुरानो भएकोले इमेल पठाउन पनि नसकिएको कुरा बताउनु भएको थियो । त्यहाँ केही समय बसेर भारी मनसहित फर्कनु परेको थियो । बेलायत फर्केपछि मैले पिटरलाई यो कुरो सबै बताएँ । यसपछि तुरुन्तै एउटा ल्यापटप पठाउने व्यवस्था भयो । उहाँहरू बिच बेलाबखत कुरा हुन थाल्यो । पिटर एक पटक पुतलीबाजे भेट्न नेपाल जाने योजना बनाउँदै हुनुहुन्थ्यो । तर कोभिडको कारण रोकियो । अन्ततः सन् २०२२ को अक्टोबर ७ देखि १६ सम्म पिटर नेपाल पुगेर आउनु भयो । पुतलीबाजे र पिटर भेटेको त्यो तस्बिर देख्दा मलाई एक प्रकारको स्वर्गीय आनन्द महसुुस भयो ।
आफू नेपाल पुगेर फर्केपछि पुतलीबाजेले किन नेपाल बस्ने निर्णय गर्नुभयो भन्ने कुरा सहज रूपमा महसुस गरेको पिटरको भनाइ रह्यो । प्राकृतिक रूपमा देश राम्रो हुनु एउटा बिषय हो तर त्यहाँका मानिसले विदेशीलाई देखाएको आतिथ्य र सद्भाव उहाँलाई अद्भूत लाग्यो रे । नेपालका जोकोही पनि बिना कारण यसरी सहयोग गर्न किन अगाडि सर्छन् भन्ने उहाँको प्रश्न थियो । जे होस् छोटो समयमा पिटरले पनि नेपालको मिठो स्वाद बोकेर आउनु भयो । उहाँको जीवनको एउटा थप रहर पुतलीबाजेले गर्नु भएका कामहरू सकेसम्म धेरै सामु पुस्तकमार्फत पु¥याउने रहेको छ । पुस्तकको बिमोचन गर्न फेरि एक पटक अलि लामो समय बस्ने गरी नेपाल जाने सुरमा पिटर रहनु भएको छ । सुरेन्द्र परियार, मीन परियार अहिले पनि पुतलीबाजेका सबैभन्दा नजिकका सहयोगी हुनुहुन्छ ।
पुतलीबाजेसँग लामो समय सहकार्य गर्नुहुनेमा महेन्द्रसिंह लिम्बु पनि एक रहनु भएको छ । पुतलीबाजेले गर्नुभएको कामको बारे पिटरले प्रकाशन गर्ने पुस्तकका लागि आवश्यक पुतलीका फोटो उपलब्ध गराउन महेन्द्र राजी हुनु भएको छ ।
सानैदेखि हिसाब र बिज्ञानमा अति तेज पुतलीबाजे आफ्नै मामाको पुतली सङ्कलन गर्ने शोखबाट यस कार्यमा लाग्नु भएको थियो । कार्ल माक्र्सको समाधिस्थल नजिकै हाइगेटमा सन् १९३६ मा उहाँको जन्म भएको थियो । सन् १९६६ मा युनाइटेड मिसनमार्फत् शिक्षण पेसाका लागि उहाँ नेपाल आउनु भएको थियो । त्यतिखेर उहाँ लिभरपुलबाट पानीजहाजमा चढेर भारत हँुदै नेपाल आउनु भएको थियो । मिसनमार्फत पोखरा, गोरखा र काठमाडौँमा उहाँले शिक्षण गरिरहनु हुँदा पुतलीबारे अध्ययन, अनुसन्धान एवं सङ्ग्रह गर्नुहुन्थ्यो । सन् १९७३ देखि त्रिभुवन विश्वविद्यालय काठमाडौँमा प्राकृतिक विज्ञान सङ्ग्रहालयका लागि पुतलीबाजेले एक दशकसम्म पुतली सङ्ग्रहको काम गर्नु भयो । राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराले सन् १९८६ देखि व्यवस्थापन गर्दै आइरहेको अन्नपूर्ण प्राकृतिक विज्ञान सङ्ग्रहालयमा हाल ५८७ प्रजातिका पुतली रहेका छन् । नेपालमा ८५० प्रजातिका पुतली पाइन्छन् भन्ने उहाँको अनुमान छ । आफ्नो शेषपछि सबै काम गर्ने गरी उहाँले सुरेन्द्र परियारलाई तयार पार्नु भएको छ । अहिले सुरेन्द्रले नै यो सङ्ग्रहालयको हेरचाह गर्दै आइरहनु भएको छ । पुतलीबाजे पछिल्लो पटक सन् २००६ मा बेलायत जानु भएको थियो । उहाँले आफ्नो आमा जीवित छउञ्जेल नियमित रूपमा पत्र लेखेर पठाउने गर्नु हुन्थ्यो । पत्रमा उहाँले नेपाल, नेपाली र पुतलीबारे विभिन्न ढङ्गले वर्णन गर्नु हुन्थ्यो । आमाको मृत्युपछि न्युजिल्यान्ड बसाइ सर्नु भएका उहाँका दाजुले ती सबै पत्र अहिले पिटरलाई जिम्मा लगाउनु भएको छ । पिटरले पुतलीबाजेबारे कसरी पुस्तक प्रकाशन गर्नु होला ? त्यो अवश्य पनि सबैको चासोको बिषय हुनेछ । आशा गरौँ हाल ८७ वर्षीय पुतलीबाजेले आपूmबारे लेखिएको पुस्तक देख्न पाउनु हुन्छ ।