चन्द्र पन्दाक
ताप्लेजुङ, चैत १७ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन शुक्रबारको परीक्षा ताप्लेजुङमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्लाभरका परीक्षा केन्द्रमा निर्धारित समयमा परीक्षा सुरु भएर शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका अनुसार एसइई परीक्षा सञ्चालनका लागि १६ वटा केन्द्र तोकिएका छन् । परीक्षा सञ्चालनका लागि निर्धारण भएका १६ वटै केन्द्रमा पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो ।
यसबाहेक पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको र ४९ जना परीक्षार्थी (विद्यार्थी) भने अनुपस्थित भएका भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्ला भरका परीक्षा केन्द्रमा दुई हजार १२१ जना परीक्षार्थी सहभागी हुनुपर्नेमा दुई हजार ७४ जनाले मात्र परीक्षामा सहभागिता जनाएका छन् ।
पहिलो दिन ग्रेटवृद्धिका मात्र नभई नियमिततर्फका परीक्षार्थीसमेत अनुपस्थित भएको पाइएको उहाँले बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाईका अनुसार ताप्लेजुङमा यस वर्षको एसइईमा नियमिततर्फका एक हजार ९५२ जना परीक्षार्थी छन् । त्यस्तै ग्रेडवृद्धितर्फ ६६ र प्राविधिक धारतर्फका १०३ जना परीक्षार्थी छन् ।
पहिलो दिन अनुपस्थित रहेकामध्ये नियमित, ग्रेडवृद्धि र अन्य तर्फका के–कति सङ्ख्या हो भन्ने खुलिनसकेको इकाई प्रमुख भट्टराईले जानकारी दिनुभयो ।