• २७ वैशाख २०८२, शनिबार

सत्ता गठबन्धन दलबीच मन्त्रिपरिषद् विस्तारमा सैद्धान्तिक सहमति

blog

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लगायत उपस्थित विभिन्न दलका नेता । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं, चैत १५ गते। सत्ता गठबन्धन दलको बैठकमा  मन्त्रिपरिषद् विस्तारको विषयमा सैद्धान्तिक सहमति जुटेको छ। 

 सत्ता गठबन्धनको बुधबार दिउँसो बसेको बालुवाटार बैठकले मन्त्रिपरिषद् विस्तारको सन्दर्भमा सैद्धान्तिक सहमति गरेको जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्‍ठले जानकारी दिनुभयो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्‍ठले भन्नुभयो, “साझा न्यूनतम कार्यक्रममा सुझाव लिने काम भयो। आजको बैठकमा मन्त्रिपरिषद् विस्तारमा सैद्धान्तिक सहमति भएको छ।’’

दलबीच कांग्रेसलाई आठ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा (एस)लाई दुई-दुई र अन्य दललाई एक-एक मन्त्रालय दिने सहमति भएको उहाँकाे भनाइ छ। यो विषयमा ठोस निर्णय शीर्ष नेताले गर्ने नेता श्रेष्‍ठले बताउनुभयो। 

नेता श्रेष्ठले यसअघिको पाँच दलीय गठबन्धनको सहमतिको आधारमा १० दलको गठबन्धनलाई अगाडि बढाउने विषयमा छलफल भएको बताउनुभयो । 

उहाँले प्रधानमन्त्रीसँग छलफल गरेर अझै एक, दुई वटा कुरा मिलाउन बाँकी रहेको बताउनुभयो ।  “एउटा मन्त्रालय हुन्छ, त्यहाँ तीन, चार वटा दलको दाबी हुन्छ”, नेता श्रेष्ठले भन्नुभयो ।

उहाँले राष्ट्रिय जनमोर्चाबाहेक नौ वटा दल अबको सरकारमा सहभागी हुने जानकारी दिनुभयो । 

सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा “मेजर कुरा के के प्राथमिकतामा राख्ने, सुदृढीकरण गर्ने, आवश्यकता अनुसार त्यसको परिमार्जन गर्ने, संघीयतालाई कार्यान्वयन गर्ने कुरा राजनीतिक स्थायित्व दोस्रो, राष्ट्रिय हितको अनुकूल कसरी गर्ने भन्ने विषयमा छलफल भयो।”