• २९ चैत २०८२, आइतबार

बलात्कार कसुरमा १९ वर्ष कैद

blog

दैलेख समाचारदाता

दैलेख, चैत १५ गते । जिल्ला अदालत दैलेखले बालिका बलात्कारको कसुरमा काभ्रे जिल्ला पाँचखाल नगरपालिका–६, हाक्से घर भई दैलेख बस्ने २६ वर्षीय शिबु तामाङलाई १९ वर्ष कैद फैसला गरेको छ। तामाङबाट पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २२ रुपियाँ तिर्नुपर्ने फैसला समेत भएको छ।

जिल्ला अदालत दैलेखका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार १३ वर्षीया बालिका बलात्कार कसुरमा तामाङलाई १९ वर्ष कैद सजायको फैसला सुनाइएको हो। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले मङ्लबार सो फैसला भएको हो। 

मध्यपहाडी राजमार्गको निर्माणाधीन सडकमा मजदुरी गर्ने तामाङले बालिकालाई मोबाइलमा टिकटक देखाउने बहानामा २०७८ चैत १६ गते राति बलात्कार गरेको भनी पीडित पक्षले दिएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरी मुद्दा चलाइएको थियो।

घटना सम्बन्धमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय दैलेखले ०७९ वैशाख ६ गते दैलेख जिल्ला अदालतमा बलात्कारसम्बन्धी अभियोग पेस गरेको थियो।