• १३ साउन २०८१, आइतबार

सहकार्यबिना आर्थिक विकास असम्भव : उपराष्ट्रपति

blog

काठमाडौँ, चैत १५ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्न द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । स्वदेशी अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै त्यसबाट लाभ लिन सकिने उहाँको भनाइ छ । 

विभिन्न १९ वटा द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा पदाधिकारीसँगको मङ्गलबारको भेटमा उहाँले विभिन्न मुलुकसँग सहकार्य गरेर आर्थिक विकासमा फड्को मार्नुपर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो ।  वैदेशिक व्यापार, लगानी, पर्यटन प्रवद्र्धन तथा आर्थिक कूटनीतिका क्षेत्रमा द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरूको क्षमता, अनुभव तथा सञ्जाललाई उपयोग गर्नुपर्ने उहाँको सुझाव थियो । 

आफू कार्यकारी भूमिकामा नरहे पनि मुलुकको आर्थिक विकासका लागि सरकारलाई सल्लाह र सुझाव दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । निजी क्षेत्रको सहभागिता र सहकार्यबिना आर्थिक विकासको लक्ष्य पूरा हुन नसक्ने उहाँले बताउनुभयो । संविधानले निजी क्षेत्रलाई आर्थिक विकासको बलियो खम्बाका रूपमा स्वीकार गरिसकेकाले राज्यका नीति नियम पनि निजी क्षेत्रमैत्री हुनुपर्ने उहाँको भनाइ थियो । 

भेटमा द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घका तर्फबाट नेपाल–चीन उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले उपराष्ट्रपतिबाट सरकारलाई निजी क्षेत्रमैत्री नीति नियम तर्जुमाका लागि सल्लाह सुझाव प्रदान हुने अपेक्षा राखिएको बताउनुभयो । “अर्थतन्त्र सङ्कटमा छ, विदेशी लगानी बढ्न सकेको छैन र व्यापार घाटा हाम्रो नियन्त्रणमा छैन,” उहाँले भन्नुभयो । 

त्यस्तै उहाँले द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरू वैदेशिक व्यापार, लगानी तथा पर्यटनमार्फत मुलुकको दिगो आर्थिक विकासमा प्रतिबद्ध रहेको जानकारी दिनुभयो । सरकारले निजी क्षेत्रका मागलाई सम्बोधन गरेमा अहिलेको समस्या समाधान गर्न सकिने उहाँको धारणा थियो ।