• १३ साउन २०८१, आइतबार

यात्रा जिन्दगीको लोकार्पण

blog

काठमाडौँ, चैत १५ गते । सर्जक महेश्वर खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ लोकार्पण गरिएको छ । सभामुख देवराज घिमिरेलगायत विभिन्न स्रष्टाले सर्जक खरेलकी माता अयोध्या खरेलको ९० औँ जन्मोत्सवका अवसरमा संयुक्त रूपमा मङ्गलबार उपन्यास लोकार्पण गर्नुभयो । 

सभामुख घिमिरेले ‘यात्रा जिन्दगीको’ उपन्यासले पहाडी क्षेत्रको विगतको जीवनशैली, आर्थिक तथा सामाजिक परिवेशलाई स्मरण गराएको बताउनुभयो । उहाँले त्यस बेला परिवारको भरणपोषण, शिक्षा आर्जनसहित नुनतेलका लागि गरिने परिश्रम, आमाबुवालगायत घरमूलीले खेल्ने भूमिकाबारे उपन्यासले स्मरण गराएको बताउनुभयो । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष फणीन्द्रराज निरौलाले ‘शब्द संयोजन’ साहित्यिक मासिकद्वारा आयोजित कार्यक्रममा ‘यात्रा जिन्दगीको’ले उपन्यास लेखनको नवीनतम अभ्यास गरेको र यो प्रगतिवादी विचारले पूर्ण रहेको विचार व्यक्त गर्नुभयो । अध्यक्ष निरौलाले यसअघि ‘मनको किरण’ कवितासङ्ग्रह प्रकाशन गर्नुभएका सर्जक खरेलले कविता, मुक्तक र नियात्रा पनि लेख्दै आएको र उक्त उपन्यासले पहाडी, संयुक्त परिवारको संस्कारलाई छर्लङ्ग पारेको बताउनुभयो ।