• १३ असोज २०८१, आइतबार

काठमाडौं महानगरको राजश्व सङ्कलनमा २७.१ प्रतिशतले वृद्धि

blog

काठमाडौं,चैत्र १४ गते । काठमाडौं महानगरको राजश्व सङ्कलनमा वृद्धि भएको छ । गत आर्थिक वर्षको फागुन मसान्तको तुलनामा यस आर्थिक वर्षको फागुन मसान्तमा महानगरपालिकाको २७.१ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ । 

महानगरको राजश्व महाशाखाका अनुसार गत आर्थिक वर्षको फागुन मसान्तमा चार अर्ब ७३ करोड ९५ लाख ९६ हजार राजश्व सङ्कलन भएको थियो । चालू आर्थिक वर्षको सोही समयमा ६ अर्ब २ करोड ७८ लाख ८४ हजार राजश्व सङ्कलन भएको छ । 

महानगरका राजश्व महाशाखाका लेखा अधिकृत सजना चालिसेका अनुसार पछिल्लो समय महानगरले राजश्व सङ्कलनमा कडाइ गरेपछि  वृद्धि भएको हो । उहाँले भन्नुभयो, “महानगरले पछिल्लो समय राजश्व सङ्कलनमा कडाइ गरेपछि  राजश्व वृद्धि भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा यसको परिणाम देखिएको छ ।” 

महानगरमा घर बहाल कर धेरैले ठगेको पाइएकाले मुख्यरुपमा घरबहाल कर सङ्कलनलाई कडाइ नै गर्दा राजश्व वृद्धि भएको उहाँको भनाइ छ । यस्तै सम्पत्ति करमा पनि महानगरले कडाइ गरेपछि  राजश्व सङ्कलन बढेको उहाँको भनाइ छ ।  अहिले स्थानीय तहलाई नक्साको अभिलेखीकरण गर्न दिएका कारण महानगरको राजश्व पनि वृद्धि भएको उहाँको भनाइ छ । 

महानगरले पछिल्लो समय मनोरञ्जन करमा समेत कडाइ गर्दै जाँदा मनोरञ्जन बापतको कर पनि बढ्दै गएको चालिसेले बताउनुभयो । तर, मनोरञ्जन कर बापतको रकम हाल राजश्वमा बाँडफाँड गर्न बाँकी रहेकाले यसलाई राजश्वको रूपमा समावेश नगरिएको उहाँले बताउनुभयो । 

चालिसेले भन्नुभयो, “महानगरले मनोरञ्जन करमा कडाइ गरेपछि अहिले मनोरञ्जन कर सङ्कलन बढेको छ । तर राजश्वमा बाँडफाँड नभइसकेकाले यसलाई राजश्वमा बाँधिएको छैन ।” 

फुटपाथबाट एक करोड बढी राजश्व सङ्कलन

काठमाडौं महानगरले अनधिकृत रूपमा फुटपाथ व्यापारमा राखिएका बस्तुहरू जफत बापत चालू आर्थिक वर्षको फागुन मसान्तसम्म एक करोड १५ लाख ५९ हजार ९०० रुपियाँ राजश्व सङ्कलन गरेको छ । 

महानगरका राजश्व महाशाखाका लेखा अधिकृत चालिसेका अनुसार फुटपाथमा अनधिकृत रूपमा राखिएका तरकारी, खाद्य सामग्री, ग्याँस चुल्हो सिलिण्डर र मोटरसाइकल तथा लत्ताकपडाबापत यही मात्रामा राजश्व सङ्कलन भएको हो । 

गत आर्थिक वर्ष २०७८/०७९ मा फुटपाथ बापत एक करोड ५४ लाख ७५ हजार ९०० रुपियाँ राजश्व उठेको थियो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।