• १३ साउन २०८१, आइतबार

साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि सरकारले पूर्णता पाउँछ : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ।

काठमाडौं, चैत १२ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारको साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि मात्रै सरकारले पूर्णता पाउने बताउनुभएको छ। 

आइतबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गठबन्धनका दलका बीचमा सरकारको साझा नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भइरहेको बताउनुभयो। उहाँले सरकारको साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएसँगै सोही मान्यताका आधारमा सरकारले पूर्णता पाउने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘आज बल्ल हामी अहिलेको सरकारको जुन नीतिगत प्रतिबद्धता हो, साझा नीति र कार्यक्रम अगाडि सार्नुपर्ने, त्यसको निम्ति छलफल भइराखेको छ। छलफल भएर टुङ्गो लाग्ला। त्यो कागजमा हस्ताक्षर होला। त्यही वैचारिक मान्यता, त्यही नीतिगत मान्यता, त्यही कार्यक्रमको मान्यताको आधारमा नै सरकारले पूर्ण आकार प्राप्त गर्नेछ।’’

अध्यक्ष नेपालले आफ्नो पार्टीले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी नगरेको बताउनुभयो। उहाँले देशको अर्थतन्त्रको समस्यालाई राम्ररी बुझेको र समस्याको समाधान दिनसक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउन आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो। त्यस्तै परराष्ट्र मन्त्रालयमा पनि काबिल व्यक्तिलाई जिम्मेवारी दिन आफ्नो सुझाव रहेको उहाँले बताउनु भयो। 

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई पूर्णता दिने विषयमा प्रत्येक पार्टीसँग छुट्टाछुट्टै छलफल गरिरहेको पनि बताउनुभयो।